पूर्वाधार विकासको ९१ करोड फिर्ता «

पूर्वाधार विकासको ९१ करोड फिर्ता

लमजुङ-सहित तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय लमजुङबाट गत आर्थिक वर्षमा ९१ करोडभन्दा बढी रकम फिर्ता भएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आव ०७६-७७ मा काम हुन नसकी ९१ करोड २४ लाख, चार हजार आठ सय ७० रुपैयाँ फिर्ता भएको हो ।लमजुङसहित तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय लमजुङबाट गत आर्थिक वर्षमा ९१ करोडभन्दा बढी रकम फिर्ता भएको छ ।
संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आव ०७६-७७ मा काम हुन नसकी ९१ करोड २४ लाख, चार हजार आठ सय ७० रुपैयाँ फिर्ता भएको हो । लमजुङ, मनाङ र गोरखाका लागि गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक अर्ब ९६ करोड, ८१ लाख २७ हजार रुपैयाँमध्ये एक अर्ब पाँच करोड ५७ लाख २२ हजार एक सय २७ रुपैया मात्रै खर्च भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । संघ र प्रदेशमा गरी कुल बजेटको ५३ दशमलव ६४ प्रतिशतमात्रै खर्च भएको पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत बलबहादुर अछामीले बताए ।कार्यालयका अनुसार संघ सरकारमार्फत आएको कुल बजेट ३७ करोड ३७ लाख १२ हजारमध्ये १६ करोड ४२ लाख २९ हजार एक सय ७८ रुपैयाँ ३९ पैसामात्रै खर्च भएको छ ।
संघ सरकारको कुल बजेटमध्ये ४३ दशमलव ९४ प्रतिशत खर्च भएको र बाँकी २० करोड ९४ लाख ८२ हजार आठ सय २१ रुपैयाँ फिर्ता भएको छ । यस्तै प्रदेश सरकारमार्फत आएको कुल बजेट एक अर्ब ५९ करोड ४४ लाख १५ हजारमध्ये ८९ करोड १४ लाख ९२ हजार नौ सय ५० रुपैया खर्च भएको छ । प्रदेश सरकारमार्फत आएको कुल बजेट मध्ये ९९ दशमलव ९१ प्रतिशत रकम खर्च भएको र बाँकी ७० करोड २९ लाख २२ हजार ४९ रुपैया फिर्ता भएको कार्यालयले जनाएको छ ।तीन जिल्लाको पूर्वाधार विकासका लागि आएको बजेटमध्ये शतप्रतिशत खर्च गर्ने लक्ष्य लिए पनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार बजेट खर्च नभएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर राम पराजुलीले बताए । करोडौंका योजनामा घटिघटाउमा टेण्डर हाल्नु, कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुनु र कोरोना भाइरसको त्रासले काम नहुनुले बजेट खर्च लक्ष्यअनुसार नभएको कार्यालय प्रमुख इन्जिनियर पराजुलीको भनाइ छ ।लमजुङमा मुख्य कार्यालय रहेको पूर्वाधार विकास कार्यालयले लमजुङसहित गोर्खा र मनाङका विकास निर्माणका कामहरु पनि हेर्दै आएको छ ।
गत आर्थिक वर्षमा तिन जिल्लाका एकसय ५९ आयोजना मध्ये करिब  १५ वटा मात्रै आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ । लकडाउनका कारण विशेष गरी सडक, मोटरेबल पुल, झोलुंगे पुललगायतका भौतिक संरचना निर्माणका काम प्रभावित भएका छन् । विकास निर्माणका कामहरू द्रुत गतिमा हुने समयमै लकडाउन भएपछि ९८ प्रतिशत विकास निर्माणका काम प्रभावित भएका हुन् । आर्थिक हिसाबले झण्डै ५५ प्रतिशत प्रगति देखिए पनि भौतिक प्रगतिमा दुई प्रतिशत मात्रै रहेको कार्यालय प्रमूख इन्जिनियर पराजुलीको भनाइ छ । गत आर्थिक वर्षमा एक सय २१ आयोजना निर्माणको सम्झौता भइसकेको भए पनि निर्माण सामग्री ढुवानीमा समस्या र मजदुर अभावका कारण निर्माणकार्य प्रभावित भएको थियो । कार्यालयका अनुसार तीन जिल्लाका आयोजनामध्ये ५९ वटा आयोजना लमजुङका थिए भने गोरखामा ७० र मनाङमा १८ वटा रहेका थिए । निर्माणाधीन आयोजनामा ५९ आयोजना बाहेक सबै गत आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने आयोजना हुन् ।  पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठवटा आयोजना रहेका थिए । यस्तै प्रादेशिक सडक क वर्गका चार वटा, ख वर्गका १७ वटा, ग वर्गका ४९ वटा, अन्य सडक ११ वटा रहेका थिए ।
यसैगरी सडक पुलअन्तर्गत २३ र झोलुंगे पुलअन्तर्गत ३२ वटा आयोजनासँगै स्थानीय तह केन्द्र जोड्ने अन्य पाँच सडक रहेका थिए । कार्यालयका अनुसार गत आर्थिक वर्ष लमजुङमा मात्रै ३८ वटा सडक निर्माणसम्बन्धी आयोजना रहेका थिए भने आठ वटा मोटरेबल पुल र १३ वटा झोलुंगे पुलसम्बन्धी आयोजना थिए । यस्तै गोरखामा ४६ वटा सडक, मोटरेवल पुल सम्वन्धी नौवटा र झोलुंगे पुल सम्वन्धी १७ आयोजनाहरु रहेका थिए । मनाङमा भने १० वटा सडक सम्वन्धी आयोजना,  मोटरेवल पुल सम्वन्धी ६ वटा र झोलुंगे पुल सम्वन्धी जम्मा दुुईवटा आयोजना निर्माणाधिन थिए ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्