आईतबारदेखि पर्सा बारामा इन्धन बिक्री बन्द गर्ने «

आईतबारदेखि पर्सा बारामा इन्धन बिक्री बन्द गर्ने

वीरगन्ज-आउँदो आईतबारदेखि पर्सा, बाराका पेट्रोल पम्पहरुले इन्धन विक्री बन्द गर्ने जनाएका छन् । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले लामो समयको लकडाउनमा समेत विभिन्न अवरोधहरु सहेर इन्धन विक्री वितरण गर्दै आएको व्यवसायीहरुले बैकिङ सेवामा पुगेको असुविधाका कारणले इन्धन ढुवानी गर्न नपाउँदा विक्री वितरण बन्द गर्नुपर्ने बाध्यता आईपरेको बताएका छन् । साउन यता वीरगन्जमा कोरोना संक्रमण द्रूतगतिमा बढेपछि १० गतेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा जारी गरेको निषेधाज्ञाले बैंकहरु बन्द रहेकोले वीरगन्जको बैंकबाट भौचर भर्न व्यवसायीहरुले नपाएको पेट्रोलियम डिलर्स एशोसिएसन पर्साका अध्यक्ष विनोद चौरसियाले बताए । उनका अनुसार यस बीचमा जितपुर, सिमरा, निजगढ, अमलेखगञ्ज, चितवन, काठमाडौं, बर्दिवास, हरिऔन लगायतका स्थानमा रहेका बैंकहरुबाट भौचर भरेर तेल लिईरहेका थिए ।
तर, अहिले सरकारले सबै ठाउँमा बन्द गरेकाले झन समस्या भएको छ । नेपाल आयल निमगको अमलेखगञ्ज डियोमा रहेको बैंक मात्रै खुला रहेपनि अमलेखगञ्जमा वीरगन्जबाट जानेहरुलाई कोरोना लिएर आएको भन्दै गेटबाट छिर्न नदिने गरेकाले बाध्य भएर पेट्रोल पम्पहरु बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष चौरसियाले बताए । उनले भने, “साउन १० गतेदेखि निषेधाज्ञा गरेको छ । वीरगन्जका कुनैपनि बैंक खुलेका छैनन् । अहिलेसम्म बाहिरबाट भएपनि भौचरहरु भरेर इन्धन आयात गरेर विक्री वितरण गर्दै आएका थियौं । अब सबै ठाउँमा बन्द भयो । अमलेखगञ्जमा वीरगन्जबाट जानेहरुलाई कोरोना लिएर आएको भन्दै गेटबाटै छिनै दिईदैन । त्यसैले हामीले बाध्य भएर अब आईतबारदेखि बारा, पर्साका सबै पेट्रोल पम्प बन्द गर्छौ ।” पेट्रोलियम पदार्थ अति आवश्यकीय वस्तुमा पर्दछ ।
तर, बैंकहरु बन्द हुँदा यसको आयात, ढुवानी र विक्री वितरणमा प्रभाव परेको छ । नेपाल आयल निगमको ७ वटा बैंकहरुमा भौचर जम्मा गरेर इन्धनको कारोबार गर्ने गरेका छन् । ती ७ वटा बैंक मध्य हरेक दिन एउटा बैंक भएपनि खुला गरेर पेट्रोलियम पदार्थको कारोबारलाई सहज बनाउन स्थानीय प्रशासनसँग उनीहरुले माग समेत गरेका छन् । तर, पर्सामा भने मुख्य प्रशासनिक निकायका प्रमुखको कमजोरीका कारणले समस्या भएको उनीहरुको बुझाई छ । एशोसिएसनका अध्यक्ष चौरसिया भन्छन्, “वीरगन्जमा सातवटा बैंक छन् एउटा बैंक भएपनि दिनमा खोलेर कारोबारका लागि सहज वातावरण बनाउनुपर्नेमा हाम्रो जिल्लाका प्रमुख जिल्ला अधिकारी के गर्दै हुनुहुन्छ ? यो समस्या चाडै समाधान होस ।” स्थानीय प्रशासनले बैंकमा गएर भौचर भर्ने वातावरण नबनाए आईतबारदेखि पर्सा बाराका सबै पम्पहरु बन्द गर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्