सुरक्षित औद्योगिक क्षेत्र «

सुरक्षित औद्योगिक क्षेत्र

कतिपय उद्योग व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेर नै सञ्चालनमा आएकाले सकारात्मक मान्नुपर्ने अवस्था छ ।

कोरोना संक्रमणको सन्त्रास मुलुकभर फैलिरहँदा औद्योगिक क्षेत्र पनि यसबाट अछुतो छैन । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै उद्योग खोल्न सुरु भए पनि पछिल्लो समय कोरोना महामारी समुदाय स्तरमै फैलिन थालेपछि शिथिल बनेका छ । यसले एकातर्फ औद्योगिक उत्पादन ठप्प हुने र अर्कोतर्फ ठूलो संख्यामा मजदुर बेरोजगार बन्ने जोखिम बढेको छ । अर्थतन्त्रले चार महिने लकडाउनमै ठूलो क्षति बेहोरिसकेको अवस्थामा पछिल्लो परिदृश्यले थप क्षति बेहोर्ने अवस्था सिर्जना भएको छ । कोभिड १९ को संक्रमण थप फैलिँदै जाँदा त्रास र भय बढ्दो छ । संक्रमितको संख्या बढ्दै जाँदा सरकारले औपचारिक रुपमा लकडाउन नभने पनि लकडाउनको जस्तै स्थिति देखिएको छ । प्रदेश २ का कतिपय जिल्लामा लकडाउन नै घोषणा गरिएको छ भने प्रदेश १ को विराटनगरलगातयत ठाउँमा पनि लकडाउन घोषणा गरिएको छ । वाग्मती प्रदेशको नुवाकोटको केही क्षेत्रमा लकडाउन घोषणा गरेर सेना नै परिचालन गरिएको अवस्था देखिन्छ ।
यसरी मुलुकभर कोरोना संक्रमण बढ्दै जाँदा उत्पादन गरिरहेका उद्योगीसहित कर्मचारी त्रसित हुनु स्वाभाविक हो । मानव जीवन नै पहिलो प्राथमिकतामा रहने भएकाले यसमा जोड दिनु आवश्यक देखिन्छ । कतिपय उद्योगमा कार्यरत कर्मचारी एवं श्रमिकमा कोरोना संक्रमण पुष्टि भएकाले पनि भय र त्रास बढेको अवस्था छ । भय र त्रासको वातावरणमा काम गर्न पनि एकदमै गाह्रो अवस्था देखिन्छ । त्रासकै कारण सहरी क्षेत्रका धेरैजसो कार्यालयमा ५० प्रतिशतभन्दा कम कर्मचारी आउने गरेका छन् भने कतिपय उद्योगमा भारतबाट कामदार आउनुपर्नेमा डरकै कारण आउन सकेका छैनन् । यसले पनि समग्र औद्योगिक क्षेत्र प्रभावित देखिन्छ । यद्यपि, कतिपय उद्योग व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेर नै सञ्चालनमा आएकाले सकारात्मक मान्नुपर्ने अवस्था छ ।
अहिलेको अवस्थामा एउटा कुनै उद्योगमा कोरोना देखियो भने अन्य उद्योगमा झन् त्रास बढ्ने भएकाले सबै उद्योग सचेत रहनु आवश्यक छ । सुरक्षित तरिकाले उद्योग व्यवसाय चलाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता नेपाली व्यवसायीले पनि अनुशरण गर्नु आवश्यक छ किनकी कोरोना तत्कालै अन्त्य नहुने भएकाले जतिसुकै डर र त्रास भए पनि उद्योग बन्द गर्न मिल्दैन । एउटा उद्योग बन्द हुँदा सप्लाई चेनदेखि मजदुरको चुलो र उपभोक्ताको घरसम्म प्रभाव पर्नेछ । आम उद्योगीले बारम्बार भन्दै आएजस्तै लकडाउन समस्याको समाधान होइन । बरु, लागत सहभागितका आधारमा पीसीआर परीक्षणको क्षेत्र बढाउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ प्रविधिका माध्यमले ट्रेसिङलाई फराकिलो र विश्वसनीय बनाउनु उत्तिकै जरुरी छ ।
सरकारले पनि बजारलाई सहज बनाउनु आवश्यक छ । उद्योगीले उत्पादन मात्रै गरेर उद्योग वा गोदाममा सामान राख्न सक्दैन । त्यसैले उत्पादन भएको सामान बिक्नुपर्छ र बिक्नका लागि बजार खुल्नैपर्छ । उत्पादन गर्ने तर बजार नखुल्ने स्थितिका कारणतर्फ सरकार गम्भीर हुनैपर्छ । यसरी हेर्दा सरकारको मध्यस्थतामा बजार खुल्ने परिस्थिति सिर्जना गर्ने र कामदार तथा मजदुरको स्वास्थ्यप्रति पूर्ण सचेत र सजग रही मापदण्ड कडाइका साथ पालना गर्नुको अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्