खाद्य कम्पनीलाई सेवासँगै व्यापार गर्न मन्त्रीको निर्देशन «

खाद्य कम्पनीलाई सेवासँगै व्यापार गर्न मन्त्रीको निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सेवासँगै व्यवसायिक रुपमा अगाडि बढ्न निर्देशन दिएका छन् । कम्पनीको बुधबार आयोजित प्रथम वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले कम्पनीलाई सेवासँगै मुनाफा हासिल गर भनेर सरकारले निर्देशन दिएकाले सोही अनुरुप अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
“बजारलाई हस्तक्षेप गर्ने, मूल्य बढ्न नदिने र बजारमा हुने कालोबजारी नियन्त्रण गर्नका लागि कम्पनीको महत्वपूर्ण भूमिका रहेको छ” मन्त्री भट्टले भने, “बजारमा राज्यको उपस्थिति छ भनेर लकडाउनको बेला कम्पनीमार्फत् देखिएकाले यसलाई व्यापारिक ढंगले विस्तार गर्न अति आवश्यक छ ।” आफ्नो व्यापारलाई विविधिकरण गरी जुम्लामा उत्पादन हुने सिमीमात्र नभएर आलु, स्याउसँग अन्य उत्पादन बिक्री गर्नुपर्ने उनको भनाई छ ।
व्यापार गरेर अन्य सरकारी कम्पनी मुनाफामा गएकाले सोहीअनुसार खाद्य कम्पनी पनि व्यावसायिक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाई छ । कर्मचारीले जग्गा बेचेर तलब खाने कुरा नभई व्यापार गरेर कर्मचारीलाई तलब खाने व्यवस्था गरिनुपर्ने उनको भनाई छ । साल्ट्र टे«डिङ कर्पाेरेशन लिमिटेड नाफामा जाने तर, खाद्य कम्पनी घाटामा जाने भन्ने हुँदैन उनले भने, “कम्पनीको जग्गा भाडामा दिए, व्यापार बढाएर र कम्पनीको सम्पतिलाई बैंकमा धितो राखेर पनि नाफा कमाउन सकिन्छ ।”
यस्तै कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले व्यापारमा निजी क्षेत्रसँगै सरकारी संस्थान पनि नाफामा जाने बताए । व्यापार गर्दा जुनमा अवसर बढी छ, त्यसमा व्यापार गर्नुपर्ने बताउँदै कम्पनीले अर्गानिक सामानको ब्राण्ड बनाएर व्यापार गर्न सकिने बताए । कम्पनीका मुलुकभरको भएको सम्पतिलाई परिचालन गरेर पनि मुनाफा आर्जन गर्न सकिने उनको भनाई छ ।
वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले कम्पनीको सेवा गर्नुपर्ने दयित्वसँगै आफनो व्यापारलाई विविधिकरण गराउँदै लैजानुपर्ने अवसर रहेको बताए । लकडाउनको अवधिमा सुरु गरिएको अनलाइन व्यापारबाट राम्रो प्रतिक्रिया आएकाले कम्पनीले व्यापक रुपमा विस्तार गदै लैजानुपर्ने बताए । “बजार मूल्य स्थिरिकरण गर्नका लागि पनि सरकारले खाद्यान्न वितरण गर्नुपर्ने रहेछ,” उनले भने, “लकडाउनको अवधिमा १० हजार मेट्रिक टन खाद्यान्न स्थानीय निकायलाई उपलब्ध गराएका छौं ।” कम्पनीले व्यापारलाई विविधिकरण गरी लजिस्टिक व्यापार गर्ने, वेयर हाउ बनाउनेतर्फ जोड दिनुपर्ने उनको भनाई छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनी सफल बनाउनका लागि उच्च नेतृत्वको प्रतिवद्धता र साथ आवश्यक रहेको बताए । विपतको बेला खाद्यान्न आपूर्ति गर्न कम्पनी सक्रिय रुपमा लाग्नुपर्ने भन्दै उनले सम्पतिको एकिन गरी कम्पनीको नाममा ल्याउन धेरै नै चुनौती रहेको बताए । गत वर्ष बन्द भएको नेशनल टे«डिङ्ग लिमिटेड र नेपाल खाद्य संस्थान मर्ज भएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भएको थियो । कम्पनीले आफ्नो व्यापारलाई विविधिकरण गरेको छ । चामल मात्र वितरण गर्दै आएकोमा अहिले इन्डक्सन चुल्हो, स्यानिटाइजर, दाल, गेडागुडी, तेल बिक्री गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्