अप्रशोधित दूध बेच्ने ‘टुप्पी डेरी’ नियमन गरः उपभोक्ता मञ्च «

अप्रशोधित दूध बेच्ने ‘टुप्पी डेरी’ नियमन गरः उपभोक्ता मञ्च

बजारमा बिक्री हुने अप्रसोधित दूध बिक्री वितरणलाई नियमन गर्न राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गरेको छ । मञ्चले माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै ध्यानाकर्षण गराएको हो ।
गैरकानूनी रुपमा दूधको बिक्री वितरणलाई रोक्न माग गरिएको हो । “प्लाष्टिकको पौचमा आधा लिटरको प्याकेट बनाइ रबरले मुख बाँधी बेच्ने गरेको पाइएकोछ, जसलाई व्यवहारिक चलन चल्तीमा टुप्पी दूध भनेर चिनिन्छ,” पत्रमा भनिएको छ, “यो कार्य पूर्णत गैरकानूनी तथा अवैध भएपनि बजारमा छ्यापछ्याप्ति यस्ता दूध बिक्री वितरणमा रहेको पाइन्छ ।”
शुद्ध गाई भैंसीको दूधको नाममा उपभोक्ताको स्वादलाई भजाएर बजारमा खुला भाँडोमा अप्रशोधित दूध बिक्री वितरण कानून विपरित भएको भन्दै नियमन गर्न माग गरेको हो । “शुद्ध गाई वा भैंसीको दूध भन्दै पानी मिसाएर बेच्ने, दूध नफटाउनका लागि विभिन्न रसायन मिसाएर बेच्ने गरेको व्यापक जन गुनासो रहेको छ,” मञ्चले बुझाएको पत्रमा भनिएको छ, “यसरी अप्रशोधित एवं खुला दूध प्रशोधित एवं प्याकेट दूध भन्दा बढी मूल्य लिने गरेको र प्रतिलिटर १०० रुपैयाँसम्म लिने गरेको पाइएको छ ।”
कानून बमोजिमका मापदण्ड पूरा नगरेर बजारमा बिक्री वितरणमा रहेको दूध तथा दुग्धजन्य पदाथहरुको बिक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा सम्पतिमा समेत खेलवाड गरी शोषण गरी रहेको भन्दै मञ्चले कडा कारवाहीको माग गरेको छ ।
आम उपभोक्ताले उपभोग गर्ने दूध तथा दुग्धजन्य पदार्थहरुमा मिसावट गर्ने, कम गुणस्तरको दूध बनाउने र नापतौलमा ठग्ने कार्य व्यापक हुँदै गएको व्यहोरा पाइएकाले आवश्यक छानविन गर्न समेत माग गरिएको हो ।
पहिलो खाद्य ऐन, २०२३ खाद्य गुणस्तर नियम ०१.०५ अनुसार आंशिक रुपमा दूधको चिल्लो झिकी वा नझिकी वा दूधको चिल्लोरहित दुग्ध पदार्थ घोली वा नघोली दूधको चिल्लो ३.० प्रतिशत र दूधको चिल्लोबाहेक दुग्ध ठोस पदार्थ ८.० प्रतिशतमा घटी नभएको दूध मात्र बिक्री गर्न पाउनु पर्नेमा सो मापदण्डसमेत कतिपय प्रशोधित तथा अप्रसोधित दूध बिक्री गर्ने डेरीले गर्ने गरेको पाइएकोसममेत मञ्चको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्