विवादित एफएम–टिभि विधेयक प्रदेश सभाबाट पारित «

विवादित एफएम–टिभि विधेयक प्रदेश सभाबाट पारित

धनगढी-सुदूरपश्चिम प्रदेश सभाले एफएम, रेडियो र टेलिभिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले विधेयकको दफवार छलफल गरी विधायन समितिले तयार गरेको प्रतिवेदन र विधेयकमाथि सामान्य छलफल गरी पास गरेको हो ।
विधायन समितिले समेत सो विधेयकमा रहेको बोर्ड गठनको प्रावधान बाहेक एफएम, रेडियो र टेलिभिजनमाथि अंकुश लगाउने प्रावधान जस्ताको त्यस्तै राखेर प्रतिवेदन सभामा पेश गरेको थियो ।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले सामान्य छलफलमा समेत कारबाही तथा दण्ड सजायको व्यवस्था मन्त्रालयलाई नदिएर न्यायालयलाई दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए पनि संसद्ले मन्त्रालयलाई नै सो अधिकार दिने गरी विधेयक पारित गरेको हो ।
बैठकमा प्रदेश सभा सदस्यहरुले विभिन्न प्रावधानहरु सच्याउनुपर्ने सुझाव दिएका थिए । तर सो सुझावमा छलफल समेत नगरेर प्रदेश सभाबाट विधेयक पारित भएको छ । प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ सरकारको तर्फबाट सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दिएका थिए ।
मन्त्री सुवेदीले जवाफपछि सदस्यहरुको सुझावहरुमा छलफल गर्नुपर्ने भए पनि सभामुख अर्जुनबहादुर थापाले सोझै विधेयक पास गर्ने चरणमा लगे । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) की सांसद दुर्गा विक र प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले आफै अभियोग लाउने, आफै अनुसनधान गर्ने र आफै सजाय तोक्ने निकायका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहन नहुने, प्रशारण पूर्व कुनै पनि बिषयको विवरण मन्त्रालयमा पेश गर्ने बिषय संविधान विपरित हुने बताएका थिए ।

प्रदेश सभाको अधिवेशन ३१ गते सकिने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले साउन ३१ गतेदेखि प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले साउन ३१ गतेदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्