दुई दिनमा आठ जना कोरोना संक्रमितको मृत्यु «

दुई दिनमा आठ जना कोरोना संक्रमितको मृत्यु

मंगलबार र बुधबार दुई दिनमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको हिजो मंगलबार किस्ट अस्पतालमा मृत्यु भएको छ ।
धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षीय पुरुषको मंगलबार नै काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी जनकपुरका ७१ वर्षीय पुरुषको बुधबार काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।
जनकपुरकै ३८ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई सप्तरीको राजविराज बस्ने ७२ वर्षीय पुरुषको मंगलबार राति काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै मोरङको बूढीगंगा नगरपालिकाका ५५ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको छ ।
कपिलवस्तुको तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबार बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ ।
त्यसैगरी बाराको कलैयाका ७५ वर्षीय पुरुषको बुधबार किस्ट अस्पतालमा मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

४८४ जना संक्रमित थपिए
बुधबार देशभर ४८४ जनामा कोरोना पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ ।
बुधबार देशका विभिन्न प्रयोगशालामा १० हजार ४८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । योसहित हालसम्म नेपाल ४ लाख ७३ हजार १७८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।
नेपालमा हाल विभिन्न क्वारेन्टिनमा १४ हजार ८४६ जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ छ ।
काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका साथै रौतहट, महोत्तरी र पर्सामा ५०० जना बढी संक्रमित छन् ।
बुधबार ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ । मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सोलुखुम्बु र संखुवासभा संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान, मास्कको प्रयोग गर्न र व्यक्तिगत दूरी कम्तिमा दुई मिटर राख्न आह्वान गरेको छ ।
काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका १३८ जना संक्रमित थपिएका छन् । काठमाडौंका १०९ जना, भक्तपुरका ८ जना र ललितपुरका २१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ४५१ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार १६८, भक्तपुरका १०४ र ललितपुरका १७९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्