उद्योग, मालपोत, यातायातजस्ता कार्यालय बन्द गर्दै सरकार «

उद्योग, मालपोत, यातायातजस्ता कार्यालय बन्द गर्दै सरकार

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा बढ्न थालेपछि सरकारले भौतिक उपस्थितिबाट गरिने सेवा प्रदान दुई साताका लागि रोक लगाएको छ । अनलाइनबाट हुने काम, आन्तरिक कार्यालयका काम तथा नीतिगत कामलार्ई निरन्तरता दिए पनि सेवाग्राही स्वयम् उपस्थित भएर गर्नुपर्ने कामहरू रोक लगाएको हो । उद्योग विभाग, मालपोत कार्यालय तथा यातायत विभाग लगायतमा सेवाग्राहीको चाप बढी हुन्छ ।
स्वदेशी होस् या विदेशी दुवै लगानीका लागि पहिलो ढोका मानिएको उद्योग विभागले विहिबारबाट सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सर्कुलरपछि विभागले सम्पूर्ण सेवा १५ दिनका लागि बन्द गर्न लागेको छ । विभागका प्रवक्ता विनोद खड्काले कोरोना संक्रमण समुदायस्तरमा प्रवेश गरेकोले त्रास बढेको बताए ।
उनले उद्योग विभागमा यतिबेला उद्योगसँग सम्बन्धित विभिन्न कामले सेवाग्राहीको अत्यधिक भीड बढेकाले भौतिक उपस्थिति कम गर्न केही समय बन्द गर्नुपरेको बताए । कोरोना संक्रमणको दर उच्च हुन थालेपछि विभागले नयाँ उद्योग दर्ता, उद्योगले गर्नुपर्ने नियमित रिपोर्टिङ, विदेशी लगानीसम्बन्धी उद्योग दर्ता पनि अनलाइनबाट गर्न सकिने व्यवस्था विभागले मिलाएको छ । अनलाइनबाट हुने कामका लागि विभागमा सेवाग्राहीलाई नआउन पनि उनले आग्रह गरेका छन् । यसबिचमा आन्तरिक कामहरू हुनेछन्, अनलाइनबाट हुने काम रोकिने छैनन तर कतिपय भौतिक उपस्थितिबाट हुने कामहरू मात्रै प्रभावित हुनेछ । उनका अनुसार विभाग सेमिअटोमेसनमा गइसकेकाले धेरैजसो काम अनलाइनबाटै हुन्छन् ।
पूर्ण अनलाइनमा प्रणालीमा विभागका काम कारवाहीलाई लैजान काम अगाडि बढेको छ । उद्योगीले दैनिक रुपमा बुझाउनुपर्ने रिपोर्ट, उद्योग दर्ता, विदेशी लगानीका उद्योग दर्ता भने अनलाइनबाटै गर्न सकिन्छ । सरकारले अत्यधिक भीड हुने मालपोतको सेवा पनि १५ दिनका लागि बन्द गरिसकेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बुधबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । भूमिसुधार तथा मालपोत कार्यालय-मालपोत कार्यालयहरूबाट हुने अत्यावश्यक र आकस्मिक बाहेकका सेवा प्रवाह साउन २८ गतेदखि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ । विभागले उक्त अवधिमा कार्यालयको आन्तरिक-प्रशासनिक कार्य भने सुचारु एवम् व्यवस्थित गर्ने तथा उपत्यका बाहिरका कार्यालयको सेवा प्रवाह प्रदेश सरकार-स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड समेतको अबलम्बन गर्ने गरी प्रबन्ध मिलाउने व्यवस्था गर्ने मन्त्रिस्तरीय निर्णय भएको उल्लेख गरेको छ । यता यातायात विभाग अन्तर्गतका लाइसेन्स वितरणका लकडाउन खुलेपछि केहि समय खुलेपछि अहिले बन्छ छन् ।
प्रदेश कार्यालय मातहत रहेका सवारी साधानको राजश्व संकलन केन्द्रहरू भने खुला छन । यातायात सवारीको राजस्व बुझाउने, कर कार्यालयमा अझै पनि भीड छ । अनलाइन प्रणालीमा जान नसक्दा भौतिक उपस्थितिबाट हुने कामले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्