स्वरोजगार बन्दै युवा

सिन्धुलीका युवाहरू पछिल्लो समय आफ्नै ठाउँमा व्यवसाय गर्दै रोजगार बनेका छन् । उनीहरूले कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।
अन्य व्यवसायका तुलनामा गाउँमै व्यवसाय गर्दा राम्रो आम्दानी हुने भएपछि यहाँका युवा कृषक व्यावसायिक कृषि फर्म र सामूहिक लगानी गरी गाउँमै स्वरोजगार बनेका हुन् ।
दुधौली नगरपालिका–७ शंखटारका युवा विश्वास शाही ठकुरी कृषि फार्म खोली बंगुर, हाँस, कुखुरा र माछा पालन गरी राम्रो आम्दानी गरिरहेका छन् । ठकुरीले ७ कठ्ठा जग्गामा उन्नत जातका २ सय वटा बंगुर पालेका छन् ।
फार्ममा ड्युरोक, हेमसायर, पाख्रीबासे कालो र लान्डरेस ४ प्रजातिका बंगुर पालेका छन् । ड्युरोक र पाख्रीबासे बच्चा उत्पादनको लागि पालिएको कृषक ठकुरीले बताए ।
उनले बंगुरको पाठा बिक्रीबाट नै वार्षिक २ लाख रुपैयाँ आम्दानी हुने सुनाए । वि.सं.२०७१ सालबाट विभिन्न व्यवसाय सुरु गरेका ठकुरीले हाँसबाट समेत वार्षिक १ लाख २० हजार आम्दानी गर्दै आएका छन् । त्यस्तै लोकल र ब्रोइलर कुखुराबाट १ लाख २० हजार र माछा उत्पादनबाट २ लाख आम्दानी गरिरहेका छन् । ठकुरीले कृषि फार्ममार्फत वार्षिक झन्डै ७ लाख आम्दानी गर्दै आएका छन् ।
उनले स्थानिय ४ जनालाई समेत रोजगारी दिएका छन् । पशुसेवा कार्यालयबाट बंगुर, हाँस, कुखुरा र माछालाई रोग लागेको समयमा पशु चिकित्सकहरूले सेवा दिँदै आइरहेको उनले बताए । साथै, स्थानीय २० जना बेरोजगार युवाहरूलाई कृषि सम्बन्धी आय आर्जनमूलक खालका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको समेत उनले बताए ।
व्यवसायबाट राम्रो आम्दानी भएपछि घरपरिवार चलाउन सजिलो भएको ठकुरी सुनाउँछन् । ठकुरी अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । आफ्नै ठाउँमा व्यवसाय गरी मनग्य आम्दानी गर्न सफल भएको भन्दै सबै ठकुरीको प्रशंसा गर्छन् । त्यति मात्र हैन, त्यस क्षेत्रका युवाहरू ठकुरीको सिको गर्दै विभिन्न पेसा अपनाई आत्मनिर्भर बनिरहेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–५ संगमचोकका युवाहरू गाउँमै पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेका छन् । अन्य व्यवसायका तुलनामा गाउँमै व्यवसाय गर्दा राम्रो आम्दानी हुने भएपछि यहाँका युवा व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका हुन् ।
यहाँका युवा सामूहिक पशुपालनमा लागेका छन् । स्थानीय केदारप्रसाद सत्यालले एक्लैको लगानीमा १० वटा राँगा र चारवटा भैंसी पालेर व्यवसाय गरिरहेका छन् भने सोही ठाउँका समीर श्रेष्ठ र नवीन श्रेष्ठले फर्म नै स्थापना गरेर भैंसी पालन थालेका छन् ।
श्री गणेश पशुपालन फर्म दर्ता गरेर पशुपालन व्यवसाय थालेका सत्यालले ७ लाख रुपैयाँ लगानी गरेका छन् । पहिलो चरणमा भैंसीबाट दैनिक दुध बिक्री गर्दै आम्दानी लिन थालेको व्यवसायी समीर श्रेष्ठले बताए । अब फर्ममा एक सयभन्द्या बढी भैंसी पाल्ने योजना रहेको उनले बताए ।
उनीहरू जस्तै अहिले सिन्धुलीका युवाहरू आफ्नै गाउँमा कुखुरा, गाई, भैंसी पालनका साथै तरकारी र फलफूल खेतीलाई व्यावसायिक बनाउँदै आम्दानी गर्न थालेका छन् ।