१ अर्ब लगानीमा कागज उद्योग «

१ अर्ब लगानीमा कागज उद्योग

भरतपुर--क्वालिटी पेपर इण्डष्ट्रिज प्रालिले स्वदेशमै गुणस्तरीय कागज उत्पादन सुरु गर्ने भएको छ । २ वर्ष पहिले स्थापना भएको उद्योगले केही दिनमै कागज उत्पादन थाल्ने जनाएको छ । उद्योगका प्रवन्धक निर्देशक राजन पियाले उद्योगमा १ अर्ब लगानी भएको जानकारी दिए । “नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन प्रविधिका उपकरण जडान गरेका छौं, परीक्षण उत्पादन सफल भएको छ,” उनले भने, “केही दिनमै माग अनुसारको उत्पादन सुरु हुनेछ ।” पहिलो चरणमा प्याकेजिङ (काटुन) कागज उत्पादन हुने बताए ।
“विगतमा चीन र भारतसहितका मुलुकबाट प्याकेजिङ कागज आयात गर्नुपर्ने अवस्था थियो,” उनी भन्छन्, “अब परनिर्भरता केही भएपनि घट्नेछ ।” ४ जना युवा र प्रभु बैंक लिमिटेडको सहकार्यमा उद्योगमा लगानी भएको छ । पुराना कागज र कागजजन्य फोहरलाई प्रशोधन गरी नयाँ कागज बनाइने छ । “दैनिक १ सय ५० टन कागजजन्य फोहर संकलन हुनेछ, दैनिक १ सय २० टन नयाँ कागज उत्पादन गर्ने लक्ष्य छ”, उनले भने, “वातावरण प्रदूषण पनि रोकिनेछ, बजारको माग स्वदेशी उत्पादनबाटै पूरा गर्ने सोचमा छौँ ।”
पियाका अनुसार ३ महिना पछि लेख्ने र प्रिन्टिङ गर्ने कागज पनि उत्पादन हुनेछ । भरतपुर–३ बेलचोकमा मुख्य कार्यालय रहेको उद्योगको कारखाना मध्यविन्दु नगरपालिका–१० अरुणखोलामा रहेको छ । उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले स्वदेशी कच्चा पदार्थनै प्रयोग गरी गुणस्तरीय कागज बनाइने बताए । “२ वर्षसम्म उद्योग संरचना बनाउन लाग्यो, त्यो बेला बजारको अवस्था पनि बुझ्यौँ”, उनले भने, “कागजमा आत्मनिर्भर बनाउन लगानी गरेका हौँ ।” उनले देशभरी नै क्वालिटी ब्राण्डको कागजको बजारीकरण गरिने बताए ।
उद्योग १५ बिघा क्षेत्रफलमा फैलिएको छ । सरकारी स्वामित्वको भृकुटी कागज कारखाना नीजि क्षेत्रलाई हस्तान्तरण भएको केही वर्ष यता सो उद्योग बन्द छ । नेपालमा करिब ३ वटा कागज उद्योग छन् । चितवनमा मात्रै कपि उद्योग एक दर्जन बढी छ । नेपाल कागजमा अझै आत्मनिर्भर हुन सकेको छैन । “पत्रपत्रिका, कपि उद्योग, काटुर्न उद्योग सबै आयातित कागजको भर पर्नुपर्ने अवस्था छ,” गुप्ताले भने, “स्वदेशी कागजलेनै बजार माग थेग्ने गरी उद्योगलाई विस्तार गरिनेछ ।” उद्योगले १ सय ५० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्