जिम्मेवार अधिकारीहरुको सरुवापछि जिल्लाको अवस्था लथालिंग «

जिम्मेवार अधिकारीहरुको सरुवापछि जिल्लाको अवस्था लथालिंग

वीरगन्ज-कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना महामारीको भयावह अवस्था रहेको पर्सामा संकट व्यवस्थापन केन्द्रको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निषेधाज्ञा पनि फितलो हुँदै गएको छ ।
पर्साबाट गृह मन्त्रलायमा सरुवा भएका विष्णुकुमार कार्की बुधबार काठमाडौं रवाना भएका छन् । उनीसँगै ललितपुर जिल्लामा सरुवा भएका ललित कुमार बस्नेत पनि जाने तयारीमा रहेका थिए । तर, धादिङबाट पर्सामा सरुवा भएका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ नआईपुगेकोले निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा बस्नेतले काम गरेका छन् ।
पर्साबाट सरुवा भएका कार्कीलाई बुधबार विदाई गरिएको र आपूm पनि जाने तयारी भएपनि अहिले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैजना नआईपुगेकोले आपूm रोकिएको निमित्त प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । स्रोतका अनुसार धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका प्रमुख जिल्ला अधिकारीको समेत पीसीआर परीक्षण गर्नुपर्ने भएकोले पीसीआर रिपोर्ट आएपछि मात्रै पर्सामा आउने सम्भावना देखिएको छ ।
उनको पीसीआर परीक्षणमा पोजिटिभ देखिए फेरि पर्सा आउने–नआउने भन्नेमा अन्योल देखिन्छ । जिल्लाका दुवैजना अधिकारीको सरुवा भएपछि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा संकट व्यवस्थापन केन्द्रले गर्नुपर्ने व्यावस्थापनमा समेत चुनौती देखिएको छ । मंगलबारदेखि नै पर्साको निषेधाज्ञा खुकुलो देखिएको छ । सडकमा मोटरसाईकल र हिँडडुल गर्नेहरुको चहलपहल बढेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाई हुनेदेखि लिएर समुदायस्तरमा गरिने परीक्षण समेत सुस्ताएको छ । सर्वसाधारणको भीड फेरी बजारमा बढ्न थालेको छ । जिल्लामा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरु समेत संक्रमित भएर आईशोलेशनमा बसेपछि अहिले सुरक्षा व्यावस्थापनमा समेत चुनौती थपिएको छ ।
थोरै जनशक्तिमा कोरोना संक्रमितलाई आईशोलेसनमा ल्याउनेमा, परीक्षणका लागि सुरक्षा व्यावस्था मिलाउनेदेखि निषेधाज्ञाको पालना गराउने समेत सुरक्षाकर्मीहरुको जिम्मेवारी भएकोले जनशक्ति पनि अभाव भएको छ । संकटको बेलामा जिम्मेवार अधिकारीहरुको सरुवाले कार्यसम्पादनमा प्रभाव परेको छ । कोरोना महामारीको संकटमा समेत व्यावस्थापनमा केन्द्र सरकारले नहेरेको पर्सा जिल्लावासीले गुनासो र आलोचना गरिरहेको अवस्थामा दुईजना मुख्य जिम्मेवार अधिकारीहरुको यहिबेला सरुवा गरेपछि झन् ठूलो समस्या भएको छ ।
जिल्लामा संचालित निजी अस्पतालहरुले कोरोना संक्रमण नभएका बिरामीहरुको समेत भर्ना नलिएर उपचार नपाउँदा ज्यान गुमाउनु परेको पीडा पर्सावासीमा छ । तर, सरकार भने सरकारी अधिकारीहरुको सरुवा गरेर नागरिकको काममा समस्या उत्पन्न गरिरहेको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको प्रशासकीय भूमिका कमजोर देखिएकोले उनको सरुवामा नागरिक समाजले भने खुशी पनि व्यक्त गरेका छन् । संकट व्यावस्थापन केन्द्रको जिम्मेवार पदमा रहेर पनि कोरोना महामारी रोकथाम, व्यावस्थापन र संक्रमितको उपचारमा केही काम नगरेको उनीमाथि आरोप लागेको छ । त्यसैले पनि उनको सरुवामा भने पर्सावासीले सही मानेका छन् । अब नयाँ आउने प्रमुख जिल्ला अधिकारीले पर्सेली जनताको जीवन रक्षाका लागि सकारात्मक भूमिका रहने आशा पनि व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्