मार्सी रोपेका खेत बगरमा परिणत «

मार्सी रोपेका खेत बगरमा परिणत

तिला नदीको बाढीले

जुम्लाको तिला नदीमा आएको बाढीले यहाँका तीन स्थानीयतहका हजार भन्दा बढी मार्सी रोपेका खेतहरु बगरमा परिणत भएका छन् । चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि पश्चिमको तिला गाउँपालिका त्रिवेणी ज्ुयलाका हजार भन्दा बढी खेतहरु बाढीले डुवानमा परेका हुन् । गोडमेल गरी तीन महिनापछि मार्सीधान घर भित्राउने तयारीमा जुम्ली किसान बाढीले मार्सी रोपेका खेत बगरमा परिणत भएपछि धान उत्पादन घट्ने भन्दै किसान चिन्तीत भएका छन् ।
सोमबार तिला नदीको पानीको बहाफ बढेर जुम्लाका डेढ दर्जनबढी ज्यूलोका एक हजार बढी मार्सी रोपेका खेतहरु डुबानमा परेका हुन् । डुवान पर्नेमा तिला गाउँपालिकाको त्रिबेणाी ज्यूलोका ५० खेत, लुम्सेरा ज्यूलोका ५० खेत, तातोपानी गाउँपालिका १ नंं वडाभित्र पर्ने चारवटा ज्यूलोका २ सय ५० खेत, साथै पहिलो मार्सीधान खेती गरिएको लाछु ज्युलोका ३ सय खेत जती डुवानमा परेका छन् । तातोपानी ३ को ताँ ज्युलोका ६० खेत पनि डुवानमा परे ।
त्यस्तै, तातोपानी गाउँपालिका २ कै टापु ज्युलोका ३० खेत,बाबिराका २० खेत, हाँकु तलि ज्यूलोका २० खेत डुबावनमा परेको अनुमान गरिएको स्थानीय धन बुढाले बताए । यता चन्दननाथ नगरपालिकाको उम्मगाड ज्यूलोका ४० खेत, श्रीढुस्का ज्यूलोका ५० खेत र रानी ज्युलोका करिब ७० खेतहरु डुबानमा परी मार्सीधान उत्पादननै नहुने अबस्थामा पुगेका छन् ।
तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलले वर्षेनि तटबन्द निर्माण गरेपनि खेतीयोग्य जमिन कटान तथा डुबानलाई रोकथाम गर्न चुनौती रहेको बताए । जिल्लाभरीनै आकलन गर्दा एक हजार भन्दा बढी मार्सीधान रोपेका खेत डुबानमा परेका छन् । तातोपानीका स्थानीय धन बुढा भन्छन,“मेरो ३ मुरी खेत, डुबावनमा परेका छन् । मार्सीधानका बाला झुल्ने अबस्थामा खेतभरी बालुवा ढुंगा भरिएका छन् । रवि बुढाका ५ मुरी, झरसिंह बुढाका ५ मुरी, नरेन्द्र बुढाका ३ मुरी, पशु खड्कका ३ मुरी गरी जर्मीगाउँका ४० जनाको करिब ७० मुरी धान उत्पादन हुने खेत बगर बनेको छन् । राहतका लागि स्थानीय सरकारलाई माग गरिएको छ । ”
किसान लोक बहादुर दमाई भन्छन, “२-३ भारी खेत थिए सबै डुबानमा परिसके अब मार्सी धानको नौली खान पनि नपाईने भयो । न बालुवा निकालेर अन्य बाली लगाउने नपाई न धान उत्पादन हुने, यस वर्ष बाझै खेत हेरेर बस्नु पर्ने अवस्था आयो ।”
यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले किसानलाई नआत्तिन आग्रह गरेका छन् । डुबानमा परेका सबै खेतमा मार्सी उत्पादन नहुने भन्ने पनि हुदैन् । के कति क्षति भएको, धान उत्पादन हुने अबस्था छ कि छैन्, सबै अबस्था बुझेर किसानलाई जानकारी गराईने उनको भनाई छ ।
बुधबार कृषि विज्ञ सहितको टोली लिएर डुबानमा परेका खेतहरु अनुगमन गर्न जाने तयारी भईरहेको छ । अनुगमन पश्चात धान उत्पादनमा गिरावट आउने वा नआउने भन्ने बारे एकिन हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्