नर्ड स्ट्रिम–२ मा प्रतिबन्ध नलगाउन अमेरिकालाई जर्मनीको चेतावनी «

नर्ड स्ट्रिम–२ मा प्रतिबन्ध नलगाउन अमेरिकालाई जर्मनीको चेतावनी

बर्लिन-रुसी नेतृत्वको नर्ड स्ट्रिम–२ ग्यास पाइपलाइन आयोजनाको पूर्णतामा हस्तक्षेप नगर्न जर्मन विदेश मन्त्री हिको मासले अमेरिकालाई चेतावनी दिएका छन् । युरोपलाई आफ्नो उर्जा स्रोत छान्ने अधिकार विषयमा जोड दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
“साझेदारबीचको प्रतिबन्ध निश्चित रुपमा पनि गलत हो,” रुसी समकक्षी सर्गेई लाभरोभसँग मस्कोमा भएको संयुक्त पत्रकार सम्मेलनको समयमा उनले यस्तो बताएका हुन् । पाइपलाईनको पूर्णतामा गरिने कुनैपनि अवरोधको प्रयास आफ्नो मुलुकको संप्रभुताको उल्लंघन भएको उनले थपे ।
अमेरिकी सांसदहरुले उर्जा इनिसियटिभमा संलग्न जर्मन फर्म बिरुद्ध कानुनी र आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएपछि अमेकिरी विदेश मन्त्री माइक पोम्पियोप्रति उनले दुखेसो व्यक्त गरेका हुन् ।
जर्मन मिडियाहरुले गत महिना अमेरिका राज्य विभाग, ट्रेजरी विभाग र उर्जा विभागले युरोपेली ठेकेदारहरुलाई पाइपलाइनको निर्माणमा सहभागी भएमा सम्भावित नतिजा भोग्नु पर्ने चेतावनी दिएको समाचार प्रकाशित गरेका थिए ।
अमेरिकाले आयोजनामा संलग्न जहाजहरुलाई प्रतिबन्ध लगाउने चेतावनी दिएपछि नर्डस्ट्रिम–२ गत वर्ष अस्थायी रुपमा रोकिएको थियो ।
जर्मनीले रुससँग उर्जा सम्झौता गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीप्रति गुनासो गरेका थिए ।
“जर्मनीले प्रत्येक वर्ष उर्जाका लागि रुसलाई अर्बौ डलर तिरिरहेको छ । यस्तो अवस्थामा के हामी उसलाई रुसबाट सुरक्षा प्रदान गरिरहने ? उनले ट्वीट गरे ।
रुसी गाजप्रोमको स्वामित्वमा रहेको ११ अर्ब डलरको पाइपलाइनले जर्मनीमा रुसी ग्यासको निर्यातलाई दोब्बर बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्