लोडसेडिङ गरेका छैनौं : प्राधिकरण «

लोडसेडिङ गरेका छैनौं : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले अहिले उपत्ययकालगायत मुलुकभर घोषित÷अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्थासमेत नरहेको प्रष्ट पारेको छ ।
औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरूपमा विद्युत् आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणले लोडसेडिङ नभएको स्पष्ट पारेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत् जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ ग¥यो भनी बुझ्नु नहुने बताए ।
सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नपाउने गरेकोले अहिले समस्या देखिएको र यसका लागि प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ । “सडक तथा खानेपानी पाइप विस्तारका कारण हाम्रा भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले त्यस आसपसमा क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्छ ।” उनले भने, “यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति नियमित गर्न मन्त्रीज्यूबाट पनि निर्देशन भइसकेको छ, सोहीअनुसार काम गरिरहेका छौ ।”
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको बताए । “ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत् आपूर्ति कटौती गर्नु भएको हुनसक्छ,” उनले भने, “मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील छ ।”

प्रतिक्रिया दिनुहोस्