फेरि बन्द हुन थाले उद्योग «

फेरि बन्द हुन थाले उद्योग

समुदायमा कोरोना बढ्यो

 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) समुदायस्तरमा फैलिन सुरु भएसँगै उद्योग तथा कलकारखना बन्द हुने क्रम बढेको छ । साउन ६ गतेदेखि लकडाउन केही खुकुलो भएपछि उद्योग व्यवसायमा रातोबाट पहेँलो बत्तीको संकेत देखिए पनि पुनः समुदायस्तरमा कोरोना संक्रमित बढ्न थालेपछि उद्योगहरू बन्द हुन थालेका हुन् ।
समुदायस्तरमा कोरोना बढेसँगै वीरगन्ज, विराटनगर, मकवानपुर तथा भैरहवामा सञ्चालित उद्योगहरू बन्द हुँदै गएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताका अनुसार साना मझौला गरी करिब १२ सय उद्योगमध्ये बारा पर्सामा मुस्किलले २५ प्रतिशत मात्रै त्यो पनि न्यूनतम क्षमतामा सञ्चालनमा छन् । यी उद्योग पनि बन्द हुने अवस्थामा छन् । दैनिक अत्यावश्यक सामग्री, औषधिका उद्योग खुले पनि समुदायस्तरमा कोेरोना फैलिएकाले सुरक्षा प्रवन्ध मिलाउन निकै मुस्किल भएको उनको भनाइ छ । “समुदाय सुरक्षित हुन नसक्दा उद्योग कसरी सुरक्षित हुन सक्छ ?’ उनले प्रश्न गरे । सरकारले उद्योगलाई बचाउन चाहान्छ र अर्थतन्त्रमा योगदान खोज्छ भने हरेक उद्योगमा ५ जनाको पीसीआर गर्ने ती श्रमिकको पोजेटिभ देखिएमा सबैको परीक्षण गर्ने यदि नदेखिएमा उद्योगलाई ग्रिन जोनमा राख्नुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पनि सदुदायस्तरमा कोरोना फैलिएपछि उद्योग चलाउन निकै त्रास भएको बताए । स्वाथ्य प्रोटोकल पूर्ण रूपमा पालना गरेर, उद्योगमै श्रमिकलाई राखेर पनि अत्यावश्यक उद्योग चलेका छन् । तर त्रासले गर्दा श्रमिक काममा जान चाहेका छैनन भने व्यवस्थापन पनि जोखिम लिन चाहेको छैन । कोरोना बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर उद्योगमा देखिएको छ । “उद्योग बन्द गर्नु मात्रै विकल्प होइन त्यसैले स्वाथ्य प्रोटोकल अपनाएर काम गर्ने र जुन उद्योगमा संक्रमण देखा पर्छ त्यसलाई मात्रै सिल गर्ने गरी जानुपर्छ सबैलाइ एउटै बास्केटमा राख्न हुन्न,” उनी भन्छन् ।
अत्यावश्यक उद्योगमा पनि केही औषधि र फलामजन्य निर्माण सामाग्री उत्पादन गर्ने उद्योगका मजदुरमा कोरोना देखिएपछि उद्योग व्यवस्थापन पक्षमा डर बढेको छ । उद्योग बन्द हुँदा मजदूर सबैभन्दा बढी प्रभावित भएका छन् । लकडाउनका कारण प्रभावित १७.७ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायलाई पुनः निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएको राष्ट्र बैंकको प्रतिवेदनले उल्लेख गरेको छ । बैंकले गरेको अध्ययन अनुसार ८२.३ प्रतिशत व्यवसायीले मात्रै आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने देखिएका छन् । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावकोे अध्ययन गरेको राष्ट्र बैंकले ८२.३ प्रतिशत व्यवसायीले बन्दाबन्दीपछि पनि आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिन सक्ने र केहीले बन्द गर्न चाहेको उल्लेख गरेको छ । समुदायस्तरमा उद्योगि व्यवसायीहरूले राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख भएभन्दा अवस्था खतरातर्फ मोडिएको बताएका छन् ।
राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीको सहभागितामा उक्त अध्ययन गरेको थियो । अध्ययन गर्दा थोक तथा खुद्रा व्यापारबाट २८.२ प्रतिशत, उतपादनमूलक व्यवसायबाट १८.२ प्रतिशत र होटेल तथा रेष्टुरेन्टबाट १६.५ प्रतिशत नमूना लिएर अध्ययन गरेको थियो । त्यस्तै ३ वर्षभन्दा कम अवधिमा सञ्चालनमा रहेका नवप्रवर्तक उद्यमी–व्यवसायहरूको सहभागिता २३.७ प्रतिशत, ठूलो उद्योगतर्फका ४.३ प्रतिशत र लघु घरेलु तथा साना उद्यमका ४२.७ प्रतिशत सहभागिता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले सर्वेक्षण विधिबाट गरेको उक्त अध्ययनमा बन्दाबन्दीको समयमा ४ प्रतिशत व्यवसाय मात्रै पूर्ण रूपमा सञ्चालन रहेको पाइएको छ । त्यस्तै ६१ प्रतिशत पूर्णरूपमा बन्द र २५ प्रतिशत उद्योग–व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेको पाइएको प्रतिवेदनमा छ ।
विदेशबाट कामदार ल्याउन खुला
स्वदेशी उद्योगहरूले आवश्यकताका आधारमा प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने भएका छन् । सोमबार सूचना जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकताका आधारमा उद्योगहरूले प्राविधिक जनशक्ति विदेशबाट पनि ल्याउन पाउने गरिदिएको हो । उद्योगहरूको मेशिनरी मर्मत संभार, स्तरोन्नति र प्रविधि जडान सम्बन्ध कार्य गर्न नेपाली प्राविधिक उपलब्ध नहुने भएमा त्यस्ता अत्यावश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने गरि मन्त्रालयले सहजीकरण गर्ने जनाएको छ । उद्योगीहरूको मागकै आधारमा स्वदेशी उद्योगहरूमा आवश्यक प्राविधिकको अभाव रहेको र त्यसको परिपूर्ति हुन नसकेको अवस्थामा मात्र प्रक्रिया पु-याएर विदेशबाट प्राविधिक जनशक्ति ल्याउन पाइने गरी व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्