सवारी कारबाहीबाट ३६ लाख राजस्व «

सवारी कारबाहीबाट ३६ लाख राजस्व

प्यूठानमा गत आर्थिक वर्ष ०७६-०७७ मा ६ हजार ४ सय ७१ सवारी साधन कारबाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनहरू कारबाहीमा परेका हुन् । कारबाहीवाट ३६ लाख ४८ हजार ५ सय जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
“क्षमताभन्दा बढी संख्यामा यात्रु राख्ने, कागजात नवीकरण नभएको, मादप पदार्थ सेवन जस्ता समस्या बढी छन्” कार्कीले भने, “एक वर्षमा मात्रै १ हजार १ सय ३५ पटक विभिन्न स्थानमा चेकिङ्ग भएको छ ।” सवारी कारबाहीको त्रिवर्षीय तथ्यांकअनुसार सोही बराबर राजस्व संकलन गर्न प्रहरी सफल हँुदै आएको छ । आर्थिक वर्ष ०७४-०७५ मा ३६ लाख २७ हजार, आर्थिक वर्ष ०७५-०७६ मा ३५ लाख ७ हजार सवारी साधन कारबाहीबाट प्रहरीले राजश्व संकलन गरेको थियो ।
प्रहरीका अनुसार जिल्लामा गत आर्थिक वर्षमा २२ सवारी साधन दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका छन् । अन्य १५ जना गम्भीर घाइते र १२ जना सामान्य घाइते परेका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सडक सचेतनासम्बन्धी कार्यक्रमलाई समेत जोड दिँदै आएको छ । गत आर्थिक वर्षभित्र ३२ वटा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रम, ३२ वटा सडक सुरक्षा कार्यक्रम र ८ वटा सडक सभ्यता कार्यक्रम सम्पन्न भएको प्यूठान प्रहरी प्रमुख कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्