भैरहवा क्षेत्र उच्च जोखिममा «

भैरहवा क्षेत्र उच्च जोखिममा

भैरहवा-कोरोना भाइरस संक्रमणको उच्च जोखिम भैरहवा क्षेत्रमा देखिएको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यहाँ बढी जोखिम देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोरोना भाइरस न्यूनीकरणका फोकल पर्सन केदार नाथ शाहका अनुसार पहिले भन्दा अहिले भैरहवा क्षेत्र मात्रै नभई पूरै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको बताए ।
शाहका अनुसार रुपन्देही जिल्लामा संक्रमितको संख्या ३४७ पुगेको छ । तीमध्ये ३१४ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अझै पनि ३२ जना उपचारका क्रममा छन् । अहिलेसम्म रुपन्देहीमा १ जनाको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ ।
लकडाउन हटेसँगै रुपन्देहीमा अहिले पहिलाभन्दा बढी चहल पहल बढेको छ । भीडभाड बढेको छ । बैंक वित्तीय संस्था, हाटबजार, सडक जताततै भीड छ, तर कसैले पनि स्वास्थ्य सचेतना अपनाएको, सामाजिक तथा भौतिक दूरी कायम गरेको देखिँदैन, यसले गर्दा अझ जोखिम बढेको छ ।
चैत्र, वैशाख महिनामा सर्वसाधारण बढी त्रसित भए तर त्यतिबेला संक्रमणको जोखिम कम थियो । अहिले संक्रमणको जोखिम बढी छ तर सर्वसाधारणमा डर त्रास भने देखिएको छैन, सतर्क रहेको पाइएको छैन, हामीहरूले बारम्बार स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिरहेका छौं, भेक्टर कन्ट्रोलर निरीक्षक शाहले भने । बजारमा निर्वाध टेम्पु, ई रिक्सा चलेका छन्, यात्रीहरू टाँसिएर बसेका छन, मास्क लगाउँदैनन्, सार्वजनिक बसभित्र पनि दूरी कायम छैन, २ सिट एक यात्री नियम लागू भएको छैन, त्यसैले जोखिम बढेको छ ।
अन्य क्षेत्रभन्दा भैरहवा क्षेत्र अझ बढी जोखिममा रहेको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारी बताउँछन् । अहिले जोखिम धेरै बढेको छ, नगरभित्र कोरोना संक्रमण थप पुष्टि भएको छ, नगरवासीमा मेरो आग्रह छ, कृपया सचेतना अपनाऔ, सामाजिक दुरी कायम गरौ, भीडभाड नगरांै । भैरहवा क्षेत्रमा अहिले समुदायमा फैलिसकेको अवस्था छैन तर यस्तै हो भने हामी समस्यामा पर्न सक्छौं, अधिकारीले भने । अन्तिम विकल्पका रुपमा केही दिनका लागि भैरहवा क्षेत्रलाई लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ, प्रमुख अधिकारीले भने ।
भैरहवा क्षेत्र अहिले जोखिममा रहनुको मुख्य कारण सिमावर्ती भारतीय बजार नजिकै हुनु, खुल्ला नाकाबाट अहिले धमाधम भारतिय नागरीक काम गर्न भन्दै नेपाल प्रवेश गर्नु, बेलहिया नाका हुँदै अन्यत्र जाने नेपालीहरू यहीबाट आउनु, नाकामा खुकुलोपना, नक्कली परिचयपत्र बनाई सिमाबाट ओहोरदोहोर गर्नु, मालबाहक सवारी साधन तिनमा आउने चालक, सहचालकको परीक्षण नै नगरी नेपाल प्रवेश आदि हुन् ।

 

प्रतिक्रिया दिनुहोस्