कर्णाली प्रदेशका मन्त्रालयमा फेसबुक बन्द

कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने भएको छ । कर्मचारीहरू जनताको काममा भन्दा फेसबुकमा व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन । “सरकारी कार्यालय हाताभित्र सरकारी समयमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको हो,” मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, “विस्तारै प्रदेशभरि यसलाई कार्यान्वयन गछौं ।” उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए । “फेसबुक चलाउने समय कर्मचारीहरूले जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरून भन्ने हो,” उनले भने, “यो आवश्यक पनि छ ।” आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरेका थिए । सुर्खेतमा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्डलिंक, सुविसु, टेक माइण्ड र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । “कार्यालय समयभित्र फेसबुक बन्द गर्ने विषयमा मुख्यमन्त्रीज्यूले हामीहरूसँग छलफल गर्नुभयो,” वल्र्डलिंकका सुर्खेत प्रमुख नवराज पंज्ञानीले भने, “हामीले सहयोग गर्छौं भनेका छौं ।” उनका अनुसार मंगलबारदेखि प्रदेश मन्त्रालयमा बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने छ ।