विदुर र ककनीमा निशेधाज्ञा जारी «

विदुर र ककनीमा निशेधाज्ञा जारी

नुवाकोट-जिल्ला प्रशासन कार्यालय नुवाकोटले विदुर नगरपालिका र ककनी गाउँपालिकामा निशेधाज्ञा जारी गरेको छ ।
विदुर नगरपालिका र ककनी गाउँपालिकामा १-१ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै विदुर र ककनीमा निशेधाज्ञा जारी गरिएको हो । विदुर नगरपालिका–९ मा १ जना महिला र ककनी गाउँपालिका–५ मा १ जना पुरुषलाई मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार विदुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णय सिफारिसको आधारमा नगर क्षेत्रमा निशेधाज्ञा जारी गरिएको हो ।
कोरोना भाइरसको संक्रमण समुदायमा फैलनबाट रोक्न जिल्ला अस्पतालको सेवाबाहेक इन्टेक डिल, हात्तीगौंडा चोक, सामरी दोभान, सुनचापाको चौतारादेखि १२ नं. खोला चौतारो किम्ताङ र हेभी गाडी चल्ने बाहेकका सडकहरू पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत सुदेवकुमार पोख्रेलले बताए । संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्नका लागि नगरका वडा नम्बर ८ र ९ का क्षेत्रहरूमा सिल गरेको छ ।
यस्तै ककनी गाउँपालिकाको पूर्वमा ककनी घमैलो, पश्चिममा पासाङ ल्हामु राजमार्ग, उत्तरमा ककनी हाइट र नेपाल स्काउटको तालिम केन्द्र र दक्षिणमा सशस्त्र प्रहरी बल तालिम केन्द्र अन्तर्गतको क्षेत्रलाई निशेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस फैलन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम उक्त स्थानमा जारी गरिएको हो ।
क्वारेन्टाइन तोकिएका होटल तथा लज बाहेकका सबै प्रकारका चियापसल, होटल तथा लजहरू अर्को निर्णय नभएसम्म पूर्णरुपमा बन्द गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । यस्तै, जिल्ला भित्रने तरकारी तथा फलफुल पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको उनले बताए ।
जिल्लामा हालसम्म ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

गमला लामा

प्रतिक्रिया दिनुहोस्