जापानमा कोरोना संक्रमित ५० हजार नाघ्यो, मृतकको संख्या १०६५ «

जापानमा कोरोना संक्रमित ५० हजार नाघ्यो, मृतकको संख्या १०६५

जापान-नयाँ कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या जापानमा ५० हजार नाघेको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकअनुसार अगष्ट १० तारिख सम्मको तथ्यांकअनुसार घरेलु कोरोना संक्रमितको संख्या ५० हजार पार भएको हो ।
जापानमा कोरोना संक्रमण फेला परेको ६ महिनासम्म संक्रमित नपाइएको इवाते प्रिफेक्चर पनि दोस्रो लहरमा फैलिएको संक्रमणको चपेटाबाट अलग रहन सकेन । दुई सातायता औसतमा दैनिक १ हजारभन्दा धेरै संक्रमित थपिँदै आएको जापानको ४७ वटै प्रिफेक्चरमा कोरोना संक्रमित पुष्टि भएका छन् ।
राजधानी टोकियो कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको छ । कुल संक्रमित र मृतकमध्ये एक तिहाइभन्दा धेरै टोकियोमा पुष्टि भएका छन् । यसैगरी ओसाका, खानागावा, आईची, फुकुओका, साइतामा, चिबा, ह्योगो, होक्काइदो र ओकिनावा प्रिफेक्चर क्रमशः धेरै कोरोनाका बिरामी पुष्टि भएका प्रिफेक्चरमा पर्छन् ।
जापानभर संक्रमित पुष्टि भएका मध्ये दुईतिहाइ संक्रमित १० वटा प्रिफेक्चरमा मात्र छन् ।
पछिल्लो एक महिनायता संक्रमण क्रमशः देशका अन्य प्रिफेक्चरमा फैलँदो र बढ्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । संक्रमितको संख्या वृद्धिहुँदै जाँदा कोरोनाका बिरामीका लागि छुट्याइएका अस्पतालका बेडहरु भरिन थालेका छन् । जसका कारण कोरोना संक्रमणको साधारण लक्षण मात्र देखिएकाहरुलाई होटलमा राख्न थालिएको छ ।
संक्रमणको चपेटामा बालबालिका र वृद्धवृद्धाहरु पर्न थालेका छन् । विद्यालयहरु सुचारु भएका कारण शिक्षक, विद्यार्थी वा कर्मचारीमा संक्रमण पाइएकै कारण करिब चार दर्जन विद्यालय बन्द भएको जापानी समाचार संस्थाहरुले खवर प्रकाशित गरेका छन् ।
वृद्धवृद्धा हेरचाह केन्द्रहरुमा संक्रमण फैलँदा दर्जनौं त्यस्ता केन्द्रहरु कोरोनाको क्लस्टर क्षेत्र बन्न पुगेका छन् ।
अस्पतालहरुमा दैनिक कोरोनाका गम्भीर बिरामीहरुको संख्या वृद्धि हुँदा भेन्टिलेटरमा राखिएकाहरुको संख्या बढेर १ सय ५६ पुगेको छ । वृद्धवृद्धामा कोरोना संक्रमण र जोखिम उच्च हुने हुँदा उनीहरुलाई जोगाउन सरकारले विशेष पहल र कदम चाल्ने प्रधानमन्त्री आबे शिन्जोले जोड दिँदै आएका छन् ।
देशभर कोरोना भाइरस संक्रमित वृद्धि भइरहे पनि प्रधानमन्त्री आबेले तत्काल पुनः आपतकाल घोषणा भने नहुने स्पष्ट पारेका छन् । तर, संक्रमणको चपेटामा परेर अवस्था भयावह हुन लागेको भन्दै केही प्रिफेक्चरले आफ्नै आपतकालीन अवस्था घोषणा गरेका छन् ।
राजधानी टोकियो, ओसाका, खानागावा, फुकुओका लगायत प्रिफेक्चरहरुले आपतकालिन अवस्था लागू गर्नुपर्ने संघारमा आफुहरु पुगेको बताइरहेका छन् ।
टोकियोसहित कयौं प्रिफेक्चरमा रात्रिकालिन रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक स्थल बन्द गर्न विशेष आग्रह जारी गरिएको छ ।
तर यहि समयमा पर्यटन क्षेत्रलाई सहयोग गर्न भन्दै सरकारले घोषणा गरेको गो टु ट्राभल प्याकेज अभियानलाई निरन्तरता दिइराखिएको छ । संक्रमण फैलँदै जाँदा सबै प्रिफेक्चरहरुले नियन्त्रण प्रयास स्वरुप कोरोना परीक्षणको दायरा र संख्यालाई बढाएका छन् । हालका दिनमा दैनिक २५ हजारको संख्यामा पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
क्वारेन्टिनमा राखिएको योकोहामा स्थित डाइमण्ड प्रिन्सेस क्रुजका ७ सय १२ जनासहित जापानमा कुल कोरोनाका बिरामीको संख्या ५१ हजार पुग्न लागेको छ ।
यद्यपि यसमा जापानमा रहेका अमेरिकी सैन्य अखडामा संक्रमित पाइएका सयौं अमेरिकी सेनालाई जोडिएको छैन ।
हालसम्म संक्रमित पुष्टि भएकामध्ये उपचारपछि निको भएर ३३ हजार व्यक्ति डिस्चार्ज भइसकेको यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

गोकर्ण अधिकारी

प्रतिक्रिया दिनुहोस्