आधा दर्जन जलविद्युत् आयोजनामा क्षति «

आधा दर्जन जलविद्युत् आयोजनामा क्षति

दोलखा-अविरल वर्षापछि आएको बाढी र पहिरोले दोलखाको उत्तरी भेगमा निर्माणाधीन र सञ्चालनमा रहेका आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पु-याएको छ । गौरीशंंकर गाउँपालिकाको सिप्रिङ, खोला, खारे खोला र सुरी खोलामा पानीको बहाब बढ्दा आयोजनामा क्षति भएको हो ।
एक सातायता दोलखाको उत्तरी क्षेत्रमा पहिरो र बाढीले बढी क्षति पु-याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलका अनुसार गौरीशंकर गाउँपालिका–८ टुनिटारमा खोलासँगै आएको पहिरोले राती ९ बजेतिर ६ घर पुरेको छ भने एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कालिञ्चोक गाउँपालिका–८ का २८ वर्षीय सुरेश शिवाकोटी रहेका छन् । उनी सिंगटीबाट ग्रिलको काम गर्न त्यहाँ पुगेका थिए । उनीसँगै गएका लोकेशको हात भाँच्चिको छ ।
गौरीशंकर गाउँपालिका–६ गुरुम्फीमा सुरी खोला फर्किंदा ९ घरमा क्षति भएको छ । बाढीले स्थानीयको घरसँगै इलाका प्रहरी कार्यालय र स्वास्थ्य चौकीमा समेत क्षति पु-याको छ । विगू गाउँपालिका–४ सिंगटीको ४ वटा छाप्रोमा क्षति भएको छ । बाढीका कारण चालू अवस्थामा रहेका १० मेगावाटको सिप्रिङ जलविद्युत् आयोजनाको हेडवक्र्समा क्षति हुँदा ३ दिन उत्पादन बन्द भएको थियो । आयोजनाको हेडवक्र्समा क्षति पुगेपछि उत्पादन नै बन्द भएको थियो । सामान्य मर्मतपछि आइतबारबाट विद्युत् उत्पादन सुरु भएको छ ।
सबैभन्दा बढी क्षेत्र युनिभर्सल पावर लिमिटेडले निर्माण गरेको ११ मेगावाटको तल्लो खारे खोलामा भएको छ । आयोजनाको सुरीदोभानमा रहेको विद्युत्गृहमै खोला पुगेपछि जडान भएका मेसिनमा असर पुगेको छ । युनिभर्सलले तामाकोसी र खारे खोलाको दोभानमै पावर हाउस निर्माण गरेकाले स्थानीयले समेत सुरुदेखि नै आयोजना जोखिमपूर्ण हुने सुझाव दिंदै आएका थिए । निर्माणाधीन अवस्थामा गत वर्ष पनि पावर हाउसमा खोला पसेको थियो ।
विद्युत् उत्पादन गर्न ठिक्क पारेको आयोजनाको खोला नै विद्युत्गृहमा पसेपछि कम्तिमा एक वर्ष पछि धकेलिने अवस्था रहेको जानकार बताउँछन् । आयोजनाको हेडवक्र्समा पनि सामान्य क्षति भएको छ । यसबारे जानकारीका लागि लिन खोज्दा कम्पनीका प्रबन्ध निर्देशक विनय भण्डारी सम्पर्कमा आउनै चाहेनन् । तल्लो खारेले सिंगटी सबस्टेसनसम्म विद्युत् ल्याउनका लागि टावर निर्माणको काम जारी राखेको थियो । १३२ केभीको १५ वटा मध्ये ५ वटा टावर गाडेको थियो ।
त्यसैगरी गौरीशंकर गाउँपालिका–७ मार्बुमा निर्माण भएको ५ मेगावाटको घट्टे खोलाको सोमबारदेखि परीक्षण उत्पादन गर्ने लक्ष्य नपुग्ने भएको छ । पहिरोले पेनस्टक पाइप नै बगाएको कारण आयोजनाले कम्तिमा ३ महिना पछि धकेलिएको आयोजनाका प्रबन्ध निर्देशक टेकप्रसाद चौलागार्इंले जानकारी दिए । आयोजनाको क्षतिको विस्तृत विवरण केही दिनमै आउने उनलेको भनाइ छ ।
मार्बूमै निर्माणाधीन ४० मेगावाटको उपल्लो खानी खोला र ३० मेगावाटको खानी खोलामा समेत बाढीले असर गरेको छ । सासा हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ३० मेगावाटको खानी खोलाको हेडवक्र्समा खोलाको बाढी पस्दा एक महिनाअघि नै क्षति भएको थियो । केही दिन अघिको बाढीले थप क्षति पु-याएको आयोजना निर्देशक छिरिङ शेर्पाले जानकारी दिए । त्यसैगरी सुरी खोलामा निर्माणाधीन ७ मेगावाटको सुरी खोला हेदड्रोपावरमा समेत क्षति पुगेको छ । आयोजनाको पावर हाउस अगाडिको सडक नै बगाएको छ ।

बाढीले सडकै अवरुद्ध
बाढीका कारण गौरीशंकर गाउँपालिकाको वडा नं. ५ देखि ८ सम्म जाने सडक अवरुद्ध भएको छ । जामुनेदेखि गोंगरसम्मको सडक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भोलिपल्टै सफा गरेर सुचारु गरे तापनि गुरुम्फी, मार्बूतिर जाने सडक सुचारु गराउने सुरसारै भएको छैन ।
सुरीको भोर्लेनजिकै सडक पूरै तामाकोसी नदीले तानेपछि हिँड्नसमेत कठिन छ । उक्त ठाउँको सडक बगाउँदा त्यसभन्दा माथि ओहोरदोहार गर्न कठिन भएको छ । एक सय मिटर जति सडक नयाँ ट्रयाक खोल्नका लागि भीर काट्नु पर्ने अवस्था रहेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए ।
त्यसभन्दा माथि गुरुम्फी खोलादेखि खानी खोलासम्मको २५ किलोमिटर सडक मध्ये ५ किलोमिटर जति सडक पूरै सफा गर्नुपर्ने अवस्था रहेको जलविद्युत् आयोजना प्रवद्र्धकहरूको भनाइ छ । सडक अवरुद्ध भएपछि जलविद्युत् आयोजनाका लागि उपकरण र निर्माण सामग्री बोकेर आएका ट्रकहरू दोलखा बजारमै रोकिएका छन् । सडक नखुली आयोजनास्थलमा सामान पु-याउन समस्या छ । सडक चाँडै सुचारु गराएर आयोजनाको काम गर्ने वातावरण बनाउन सरकारले चासो राख्नु पर्ने खानी खोला जलविद्युत् आयोजनाका निर्देशक शेर्पाले बताए ।
अविरल वर्षापछि आएको पहिरो र बाढीले बस्ती नै जोखिम हुने गरी क्षति पु-याएपछि स्थानीय समेत रहेको महिला बालबालिका मन्त्री पार्वत गुरुङ, बागमति प्रदेश सांसद विशाल खड्का र सरस्वती बस्नेतसहितले स्थलगत निरीक्षण गरी विस्थापितको पुनर्बास र राहत वितरणमा जोड दिएका छन् । सोमबार नै बागमति प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको बैठकले पहिरोले बढी क्षति भएको दोलखाको गौरीशंकर गाउँपालिकामा ३० लाख, विगू र कालिञ्चोक गाउँपालिकालाई १५-१५ लाख तत्कालै निकासा गर्ने निर्णय भएको प्रदेश सभा सांसद खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्