इसुवा खोला हाइड्रोले पीडितलाई थप ९ करोड दिने «

इसुवा खोला हाइड्रोले पीडितलाई थप ९ करोड दिने

संखुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावर कम्पनीले स्थानीयलाई ९ करोड थप रकम उपलब्ध गराउने भएको छ ।
केभीएनआर विराटनगर र बिगवल्र्ड हाइड्रोपावर कम्पनीले निर्माणको जिम्मा लिएको आयोजना सञ्चालनका लागि २०७५ फागुन १ मा कम्पनीको नाममा खरिद गर्दा स्थानीयलाई बारीको प्रतिरोपनी २ लाख र पाखोबारीको प्रतिरोपनी १ लाख ५० हजारका दरले मुआब्जा उपलब्ध गराएको थियो । जग्गा बिक्री गरेको करिब १ वर्षपछि आयोजनाले स्थानीयलाई सस्तो मूल्यमा जग्गा खरिद गरी मार पारेको भन्दै स्थानीयले आयोजना सञ्चालनमा अवरोध गर्दै विरोध जनाएका थिए । स्थानीय समुदायको हितविपरीत काम भएको भन्दै इसुवा खोला विद्युत् परियोजना पीडित संघर्ष समिति, शेर्पा किदुक संखुवासभा, याम्फु किराँत समाज, आदिवासी अधिकार मञ्च, अरुण सरोकार मञ्च र मकालु युवा समाजले विभिन्न समयमा विरोध जनाउँदै आएका थिए ।
निर्माणाधीन इसुवाखोला हाइड्रोले स्थानीयको अवरोध हटाउन प्रतिरोपनी ३ लाखका दरले रकम थप गर्ने सहमति गरेको वडाध्यक्ष वाङ्दी शेर्पाले जानकारी दिए । उनले इसुवा हाइड्रोपावर कम्पनीका प्रतिनिधि, स्थानीय बासिन्दा र आफूसमेत सहभागी रहेको बैठकले प्रतिरोपनी ३ लाख थप गर्ने सहमति गरेको बताए ।
प्रतिरोपनी ३ लाखबाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा हुने अन्य जग्गावापत प्रतिरोपनी १ लाख थप गर्ने र यसअघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको ५ प्रतिशत रकमसमेत फिर्ता गर्ने सहमति गरिएको पीडित कुसाङ्दोर्ची शेर्पाले जनाए ।
९७.२ मेगावाट क्षमताको इसुवा हाइड्रोपावर सञ्चालनका लागि आयोजनाले करिब २ सय ५२ रोपनी जग्गा खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्