देवल विमानस्थल निमार्ण अन्तिम चरणमा «

देवल विमानस्थल निमार्ण अन्तिम चरणमा

बझाङ-लामो समयदेखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । एक दशकदेखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रेसहित वरिपरी घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको छ । टर्मिनल भवनबाहेकका अन्य भौतिक संरचनाको काम सम्पन्न भएसँगै विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थल सुचारु गर्न पटक–पटक दवाव दिएपछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेण्डर आह्वान गरेको थियो ।
करिव ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थलको स्तरोन्ती गर्ने जिम्मा पाएको थियो । वैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोरोना भाइरस अर्थात कोभिड १९ का कारण भएको लकडाउनका कारण विमानस्थल निमार्णको काम प्रभावित भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डंगोलले बताए । उनले भने करिब ६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरीको नालीको काम सकिएको छ । अब विमानस्थलको साइड फिलिङको काम मात्र बाँकी छ । यो काम पनि भदौभित्रै सकिने र भदौको पहिलो साता परिक्षण उडानको तयारी समेत भैरहेको उनको भनाई छ ।
एक दशकदेखि बन्द अवस्थामा रहेको विमानस्थल सुचारु हुने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । लामो समयपछि विमान चढने बझाङवासीको सपना पूरा हुने भएको छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय प्रविन्द्र धामीले बताए । उनले भने, “हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको बेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन् । विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकको संख्यामा कमि आएको पर्यटन व्यवसायी किशोर खडकाको भनाई छ ।
उनले भने, “बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ, विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सूर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोवरलगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत वृद्धि हुनेछ ।”
विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अब सरोकारवालाहरुले नियमित जहाज उडाका लागि पहल गर्नु पर्ने बझाङवासीको भनाई छ । २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नती हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् । केही समय निगमबाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए ।
अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुई वटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् । तत्कालिन समयमा शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान सुरु गरेको भएपनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म सडकको सजह पहँुच भएसँगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्