सुनको मूल्य १ लाख १५ हजारसम्म पुग्ने अनुमान छ «

सुनको मूल्य १ लाख १५ हजारसम्म पुग्ने अनुमान छ

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सुनचाँदी व्यवसायलाई प्रत्यक्ष असर पारेको छ । कोभिड–१९ को कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा सुनको मूल्य बढेर १ लाख रुपैयाँ नाघेको छ । कोभिड–१९ को प्रभावले अन्य व्यापार–व्यवसाय बन्द हुँदा सुरक्षित क्षेत्र सुन मानेर लगानीकर्तामा सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको व्यवसायीहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको छ । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा समेत पर्न गएको छ । लकडाउनअघि बजार बन्द हुँदा प्रतितोला ७५ हजार रुपैयाँ रहेको सुनको मूल्य बढेर अहिले १ लाख नाघिसकेको छ । चार महिनाको अवधिमा तोलामा २७ हजार मूल्य बढ्न गएको छ । सुनको मूल्य निरन्तर उकालो लागेपछि बजारमा कारोबार शून्य अवस्थामा रहेको छ ।
सधैंजसो ग्राहकको भीडभाड हुने न्युरोडका सुन पसल यतिबेला सुनसान अवस्थामा छन् । सुनको मूल्य अत्यधिक बढेपछि सुन किन्ने ग्राहक घट्दै गएकाले कारोबार अत्यन्त कम भएको व्यवसायीको भनाइ छ । सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहकको भीडभाड धेरै हुने गर्छ । कारोबार नहुँदा व्यवसाय कसरी सञ्चालन गर्ने भनेर व्यवसायीहरू चिन्तित छन् ।
सुनको मूल्य अझै बढ्ने विज्ञहरूले अनुमान गरेका छन् । लगातार बढेको मूल्यले सुनचाँदी व्यवसायमा कस्तो असर पारेको छ, आगामी दिनमा थप बढ्न सम्भावना के छ । अहिले सुनचाँदी व्यवसायीले के–कस्तो समस्या भोग्नुपरेको छ लगायतका अन्य समग्र सुनचाँदी व्यवसायका बारेमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग कारोबारकर्मी लक्ष्मी सापकोटाले गरेको कुराकानीको सार:

कोरोना अवधिमा सुनचाँदी व्यवसायको अवस्था कस्तो छ ?
अहिले सुनचाँदी व्यवसायको अवस्था एकदम सुनसान छ । सुनको मूल्य लगातार बढेपछि कारोबार नहुँदा व्यवसाय सुनसान बनेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको बढ्यै हुँदा बजार सुनसान रही कारोबार शून्य अवस्थामा रहेको छ ।

सुनको मूल्य बढेर १ लाख नाघिसकेको छ, मूल्य बढ्नुका मुख्य कारण के–के हुन् ?
अहिले सुनको मूल्य बढ्नुको मुख्य कारण भनेको कोभिड–१९ हो । कोरोना भाइरस विश्वभर फैलिएको कारणले गर्दाखेरि सबै आर्थिक क्षेत्रहरू प्रभावित भएका छन् । आर्थिक क्षेत्र प्रभावित भएका कारणले गर्दा सबैले सुनलाई नै लगानीको प्राथमिकता दिएका कारण मूल्य बढ्न गएको देखिन्छ । मूल्य बढ्नुको अर्काे कारण भनेको अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएर ०.२५ बनाएको छ । त्यसले गर्दा अन्य क्षेत्रमा लगानी गर्दा प्रतिफल आउने हुँदा त्यताको लगानी पनि सुनमा गइरहेको छ, जसका कारणले गर्दा पनि मूल्य बढ्न गएको हो । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भइरहेको छ भने सेयर बजार पनि तलमाथि भइरहेकाले सुनलाई नै प्राथमिकता दिएका कारण पनि मूल्य बढ्न गएको छ । यस्तै अर्काे कारण भनेको कोभिडले गर्दा सुनको कारखाना चल्न सकेको छैन । उत्पादन कम हुने र माग बढ्न गयो भने स्वतः मूल्य बढ्न जान्छ । सन् २०१८-१९ मा ४५ सय टन सुन उत्पादन भएको थियो भने अहिले आएर ३५ सय टनमात्र उत्पादन भएको छ । १ हजार टन सुन उत्पादन कम हुँदा बजारमा सुन अभाव छ ।
एकातिर बजारमा सुनको माग बढ्ने र अर्कातिर उत्पादन घट्नाले स्वतः मूल्य बढ्न गएको देखिन्छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत भन्सार दर प्रति १० ग्राममा २ हजार मूल्य बढाएपछि यसले पनि मूल्य बढाउन सघाउ पु-याएको छ । यस्तै मूल्य बढ्नुको अर्काे कारण भनेको चीन र अमेरिकाबीचको युद्धका कारण मूल्य बढ्न गएको छ । लकडाउनअघिसम्म सुनको मूल्य प्रतिऔंस १ हजार ५ सय डलरको हाराहारीमा रहेको थियो । विज्ञहरूले सन् २०२० को अन्त्यसम्ममा १८ सय डलर पुग्ने अनुमान गरेका थिए । गत जुलाई आउनासाथ १८ सय डलर पनि पार ग-यो । त्यसपछि मूल्य बढ्दै गएको छ । नेपाली बजारमा चैत १० गते प्रतितोला ७७ हजार सुनको मूल्य थियो भने जेठ २५ गते बजार खुल्दाखेरि ८७ हजार ४ सय मूल्य निर्धारण गरियो । १८ सय डलर पुगेपछि सुनको मूल्य तोलामा ९२-९३ हजारसम्म पुग्ने अनुमान गरिएको थियो । तर, सुनको मूल्य त्यतिमा सीमित नभई किन २ हजार डलर नाघ्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस २ हजार डलर पुगेपछि १ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । अहिले लाखबाट नाघेर सुनको मूल्य गत शुक्रबार १ लाख ३ हजार ५ सय पुगेको थियो । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस २ हजार ५३ डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा उद्योग–व्यवसाय चल्न नसक्दा ठूला–ठूला लगानीकर्ता पनि सुनमा लगानी गर्न आएका छन्, जसले गर्दा पनि सुनको मूल्य लगातार बढेर नयाँ कीर्तिमान कायम गरेको छ ।

आगामी दिनमा सुनको मूल्य अझै कतिसम्म बढ्ने अनुमान गरिएको छ ?
यस सन्दर्भमा चीन, अमेरिका र हङकङको विषय लिएर अहिले पनि द्वन्द्व बढिरहेको छ । उनीहरूका बीचमा महावाणिज्य दूतावाससमेत एक–अर्काको बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । यसले गर्दा पनि सुनको मूल्य अझै बढाउन मद्दत पुगेको देखिन्छ । कोभिड–१९ को सुरुवात नै चीनको वुहानबाट भएका कारणले गर्दा विश्वभर आर्थिक क्षेत्र अस्तव्यवस्त भएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१ सयदेखि २३ सय डलरसम्म पुग्ने अनुमान गरेका छन् । सुनको मूल्य २३ सय डलर पुग्यो भने अझै सुनको मूल्य १० देखि १२ हजार बढ्ने देखिन्छ । अर्थशास्त्रीहरूको भनाइ के आइरहेको छ भने सुनको मूल्य धेरै अस्वाभाविक रूपमा बढेको छ । त्यसले गर्दा बीचमा सुनको मूल्य एकचोटी घट्छ भन्ने कुरा पनि आइरहेको छ । पुल ब्याक भयो भने सुनको मूल्य घटेर ९० हजारसम्म आउन सक्छ पनि भनिएको छ । पहिला डलरको मूल्य २-४ डलर फरक हुने गरेकोमा अहिले दिनमा ५० डलरसम्म फरक भइरहेको छ । सुनको मूल्य घट्ने संकेत कम छ भने बढ्ने संकेत बढेको छ । त्यसले गर्दा पनि सुनको मूल्य अझै बढ्ने देखिन्छ । २३ सय डलर पुग्यो भने स्थानीय बजारमा सुनको मूल्य १ लाख १२ देखि १५ हजार रुपैयाँसम्म पुग्ने देखिन्छ । तर, यसमा के छ भने कोभिड–१९ को सुधार आयो भने सुनको मूल्य घट्न सक्छ । सुधार आएन भने अझै मूल्य बढ्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।

सुनको मूल्य अकासिएपछि बजारमा कारोबारको अवस्था कस्तो छ ?
कारोबारको अवस्था शून्य छ । गत वर्ष पनि यति बेला ६०-६५ बाट बढेर ७५ हजारको हाराहारीमा मूल्य पुगेको थियो । गत वर्ष साउनदेखि नै मूल्य बढ्न थालेकाले बजारमा माग एकदम घटेर गएको छ । त्यसभन्दा अघिल्लो वर्ष हेर्ने हो भने तीजका बेला दैनिक ५० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । त्यतिबेला आपूर्ति नै नपुगेर ३ हजार बढी तिरेर सुन किन्ने अवस्था आएको थियो । गत वर्षदेखि मूल्य बढेर सुनको मूल्य कारोबार कम भएको थियो । त्यतिबेला दैनिक १० देखि १५ केजीमा झरेको थियो । तर, अहिले भने सुनको मूल्य बढेर कारोबार नै शून्य भएको छ । अहिले कारोबार नभए पनि बैंकमा सुन होल्ड रहेको छ । बैंकमा अहिले ३ सय किलो सुन थन्किएको छ । आयात पनि ठप्प भएको छ । बजारमा भएको सुन चैत १० गतेअघि नै आयात गरेको हो । त्यसपछि सुनको आयात पूर्ण रूपमा ठप्प भएको छ ।

कोभिड–१९ ले असर पारेको सुनचाँदी व्यवसायलाई माथि उठाउनका लागि मौद्रिक नीतिले सम्बोधन गरेको छ कि छैन ?
लकडाउन भएदेखि कारोबार शून्य अवस्थामा रहेको छ । बजार खुल्दाखेरि तोलामा सुनको मूल्य ८७ हजार पुगेको थियो । अझै मूल्य बढ्यो भने ग्राहकले पुराना गहना बिक्री गर्न ल्याउँदा के गर्ने ? सीमित पुँजीले काम गर्नुपर्ने भएकाले बढी मूल्य भयो भने कसरी खरिद गर्ने भन्ने चिन्ता थियो । मूल्य बढ्यो भने डेडलक आउन सक्छ भनेर हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघमार्फत बजेटमा सुझाव दिएका थियांै । बेजटमार्फत पुनर्कर्जाको व्यवस्था हुनुपर्छ भनेका थियौं । सहुलियत दरमा ऋण दिएर पुनर्कर्जाको व्यवस्था भयो भने आवश्यकतालाई परिपूर्ति गर्न सकिन्छ भनेर सुझाव दिएका थियौं । तर, बजेटमार्फत कुनै पनि कुरा सम्बोधन भएन । नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिमा सम्बोधन गर्नका लागि हामीले सुझाव दिएका थियौं । सुनचाँदी व्यवसाय पनि वित्त व्यवसाय नै भएकाले यसलाई पनि केही सम्बोधन गरिनुपर्छ भनेका थियौं, तर मौद्रिक नीतिमा पनि केही सम्बोधन भएन । नेपाल सरकारले २ खर्बको पुनर्कर्जाको व्यवस्था गरेको छ । लघुवित्त, साना–साना उद्योग–व्यवसायहरूलाई मात्र ३ देखि ७ प्रतिशतसम्म सहुलित ब्याजदरमा ऋण दिने व्यवस्था गरेको छ, तर सुनचाँदी व्यवसायलाई सहुलियतको व्यवस्था गरिएको छैन । हामीलाई आर्थिक बजेट र मौद्रिक नीतिले सम्बोधन नगरेकाले व्यवसाय सञ्चालन गर्न धेरै नै कठिन अवस्था आएको छ । भाग्यवश भनौं, हामीले जति पुराना गहना बिक्री गर्न आउँछन् भन्ने अनुमान गरेको थियौं, त्योअनुसार आएका छैनन् । छिटफुट बिक्री गर्न आए पनि हामीले अनुमान गरेअनुसार आएका छैनन् । तर, समस्या के भयो भने बजारमा मूल्य बढेकाले कारोबार हुन नसक्दा व्यवसायीलाई प्रत्यक्ष असर पारेको छ । तीन महिना लकडाउनपछि बजार खुल्दा पनि मूल्य बढेका कारण कारोबार नहुँदा सबै व्यवसायीलाई कसरी व्यवसाय सञ्चालन गर्ने भन्ने चिन्ता छाएको छ । पसलको घरभाडा, कर्मचारीलाई तलब कसरी दिने भन्ने चिन्ता छ ।

सुनचाँदी व्यवसाय पुनरुत्थानका लागि के गर्दै हुनुहुन्छ ?
राहतको कुरा गरेर सरकारले सबैलाई दिन पनि सक्दैन । हामीले कालिगढलाई महासंघमार्फत १ करोडभन्दा बढीको राहत वितरण ग-यौं । तर, कति दिनसम्म गर्ने भन्ने हो । कोरोना भाइरसको प्रभाव हामीलाई मात्र नभएर विश्वभर भएकाले यति बेला बाँच्ने र बचाउने काममात्र गर्नुपर्छ । अझै पनि ६ महिना, १ वर्षसम्म सामान्य हुने अवस्था देखिएको छैन । त्यति बेलासम्म धैर्यधारण गर्न महासंघले निर्देशन दिएको छ । कतिपय कालिगढ त आफ्ना घर गइसकेका छन् । बाँकी रहेका कालिगढलाई पनि बाँच्न प-यो । सुनचाँदी व्यवसाय कसरी अगाडि बढाउने, व्यवसायबाट पलायन हुनुपर्ने हो कि भन्ने डर भएको छ । २ लाख जना कालिगढ छन् भने १० हजार कर्मचारी छन् । तिनीहरूको रोजीरोटी पनि गुमेको छ । डेढ लाखजति विदेशी कालिगढ छन् । काम नभएपछि तिनीहरू त घरमा गइसकेका छन् । काम गराउनुप-यो भने पनि कालिगढ छैनन् ।

वार्षिक कत्तिको कारोबार हुने गर्छ ?
सामान्य अवस्थामा वार्षिक रूपमा ६० अर्बको सुनचाँदीको कारोबार हुने गरेको छ । तर, चैतदेखि यता कारोबार नै हुन सकेको छैन । भन्सार राजस्व गरेर १५ देखि २० अर्ब सरकारलाई बुझाउने गरेका छौं । कारोबार भएको भए सरकारलाई १५ अर्ब रुपैयाँ भन्सार संकलन हुने थियो । कोभिडका कारणले गर्दा १५ चैतदेखि सुनको आयात २० किलोबाट घटाएर १० केजीमा झारिएको छ । सुनको आयात १० किलोमा झरे पनि कोरोनाका कारण एक किजो पनि आयात हुन सकेको छैन । सुनको मूल्य बढ्नुमा भन्सारदरले पनि भूमिका लेखेको छ । अहिले प्रति १० ग्राम सुनको भन्सारदर ८ हजार ५ सय रुपैयाँ रहेको छ । भन्सार दरका कारणले गर्दा तोलामा २ हजार ३ सय रुपैयाँ बढ्न गएको छ । सुनचाँदी व्यवसायको कारोबार नहुँदा सरकार, व्यवसायी दुवैलाई मार परेको छ । उपभोक्ताको आम्दानी बढेको छैन, तर एक वर्षको अवधिमा सुनको मूल्य झन्डै ५० प्रतिशत बढेको छ । यसले गर्दा उपभोक्ताले थेग्नै नसक्ने अवस्था आएको छ । मूल्य बढिरहने र कोभिड–१९ लामो समयसम्म कायम रहने हो भने व्यवसाय नै छोडेर जाने अवस्थामा व्यवसायी पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्