कति छन् सरकारी सेवाबाट निवृत्त सांसद-जनप्रतिनिधि ? «

कति छन् सरकारी सेवाबाट निवृत्त सांसद-जनप्रतिनिधि ?

संघ, प्रदेश र स्थानीय तह कतै पनि सरकारी सेवाबाट निवृत्त हुने जनप्रतिनिधि कति छन् भन्ने तथ्यांकै छैन । संघ र प्रदेशमा कति जना सांसद र स्थानीय तहमा कति जना जनप्रतिनिधि सरकारी सेवाबाट निवृत्त भएका छन् भन्ने तथ्यांक संघ र प्रदेश सरकार तथा स्थानीय तहसँग छैन ।
संघीय संसदको प्रतिनिधिसभाको सचिवालय, प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कतै पनि त्यो तथ्यांक छैन । निर्वाचन आयोग नेपालसँग पनि त्यस्तो तथ्यांक छैन । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “हामीले त्यसरी एकेक केलाएर हेरेका छैनौं ।”
संघीय संसदको प्रतिनिधि सभाका कति सदस्य सरकारी कोषबाट निवृत्तीभरण सुविधा लिने छन् भन्ने कुनै तथ्यांक राखेको छैन । तथ्यांक नै नराखेपछि ती सदस्यहरुले दोहोरो सुविधा लिए नलिएको तथ्यांक पनि प्रतिनिधि सभा संसद सचिवालयसँग छैन । सचिवालयका सहायक प्रवक्ता दशरथ धमला को र कति जना माननीय सरकारी कोषबाट सुविधा पाउने गरी निवृत्त छन् भन्ने तयारी अवस्थाको तथ्यांक नरहेको उल्लेख गर्छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी पनि स्थानीय तहमा सरकारी सेवाबाट निवृत्त भएका कति जनप्रतिनिधि छन् भन्ने तथ्यांक नरहेको बताउँछन् । “७६१ सरकार छन्, एउटा सरकारले अर्को सरकारलाई निर्देशन दिन मिल्दैन,” उनले भने, “संघीयतामा अन्तर रहेको पक्ष नै यही हो, अब हामी एकीकृत प्रतिवेदन प्रणाली बनाउँदै छौं ।”
बाग्मती प्रदेश सभाका सचिव कृष्णहरि खड्का सरकारी सेवाबाट कोही सांसद निवृत्त भए-नभएको कुनै तथ्यांक नराखिएको बताउँछन् । “हामीसँग स्थानीय तहको हुने त कुनै भएन,” उनले भने, “त्यस्तो कुनै सोच नै राखिएन र अनौपचारिक रुपमा मेरो जानकारी सेरकारी सेवाबाट निवृत्त माननीयहरु हुनुहुन्न ।”
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौत पनि कति जना सांसद सरकारी निवृत्तिभरण सुविधा लिएको छन् भन्ने तथ्यांकै नरहेको बताउँछन् । “माननीयहरुले नै त्यस्तो जानकारी पेश गर्नु भएको भए हामीले अभिलेख राख्ने हो,” उनले भने, “उहाँहरुले नभनेको अवस्थामा हामीसँग त्यस्तो अभिलेख छैन ।”
यस्तै कर्णाली प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङ पनि माननीय सदस्यहरुले प्रदेश सभा सचिवालयमा बुझाएको व्यक्तिगत विवरणमा कसैले पनि सरकारी निवृत्तीभरण लिएको तथ्यांक पेश नगरेको बताए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेल पनि महासंघले पनि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु गरेर कति जना सरकारी निवृत्तीभरण बुझ्छन् भन्ने तथ्यांक नराखेको बताउँछन् । “त्यो तथ्यांक लिन सकिएन,” प्याकुरेलले भने ।

प्रतिक्रिया दिनुहोस्