महामारीमा पनि नेकपा सत्ताको खिचातानीमा रमाइरहेको छ : कांग्रेस «

महामारीमा पनि नेकपा सत्ताको खिचातानीमा रमाइरहेको छ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको भरोसा नरहेको भन्दै आफ्नो स्वास्थ्यको सुरक्षा आफैँ गर्न आग्रह गरेको छ । कोरोना भाइरस महामारीको समयमा नेकपा नेतृत्वको सरकार सत्ताको खिचातानीमा रमाइरहेको भन्दै कांग्रेसले यस्तो समयमा कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने आशंकासमेत व्यक्त गरेको छ ।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सोमबार प्रेस नोट जारी गर्दै भनेको छ, ‘लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता कहिले देखिएको थिएन । भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ ।’
साथै कांग्रेसले पछिल्लो पटक लगानी बोर्डमा गरिएको नियुक्तिलाई संवेदनहिनताको नाङ्गो उदाहरणका रुपमा लिएको बताएको छ । प्रेस नोटमा भनिएको छ, ‘यसरी आफ्ना निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ ।’
कांग्रेसले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरेको छ । त्यस्तै अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिँडडुल गर्न कांग्रेसको आग्रह छ । साथै कांग्रेसले आफ्नो पार्टीका नेता कार्यकर्तालाई समस्यामा परेका नागरिकहरुकालाई सक्दो सहयोग गर्न आह्वान गरेको छ ।
कांग्रेसले कोरोना भाइरसको महामारीका कारण आर्थिक तथा सामाजिक क्षेत्रपूर्ण रुपमा सुचारु हुने अवस्था नरहेकाले जोखिम न्यूनिकरणका लागि ध्यान दिन सरकारसँग माग गरेको छ । यसका साथै सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गर्न, संक्रमण समुदायमा गइसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बताउन तथा परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न माग गरेको छ ।
कांग्रेसले माग गरेको छ, ‘खाडी देशहरुमा रोजगार गुमाई भिसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कूटनीतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।’
तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन, आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न तथा कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्