हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा «

हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा

हेटौंडा-सरकारी स्वामित्वमा रहेका उद्योगहरु धरासायी भइरहेका बेला हेटौंडा सिमेन्ट उद्योगले पनि त्यसको नियति भोग्न थालेको छ । सरकारी लगानीको यो उद्योग विगत दुई वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । केही वर्ष नाफामा गएको उद्योगले आर्थिक वर्ष २०७५-७६ र ०७६-७७ मा निरन्तर घाटा बेहोरेको हो । आव २०७२-७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग आव २०७५-०७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको थियो । त्यस वर्ष उद्योगले करिब १ करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको उद्योगको लेखा परीक्षणबाट देखिएको छ । यद्यपि सञ्चालक समितिको अध्यक्ष पद खाली हुँदा आन्तरिक लेखा परीक्षण स्वीकृत गरी महालेखा कार्यालयमा बुझाउन सकिएको छैन ।
आर्थिक वर्ष २०७६-७७ मा उद्योगले झण्डै ५ करोड रुपैयाँ घाटा बेहोर्ने अनुमान गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएका कारण उद्योग बितेको वर्ष पनि घाटामा गएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । “एकीन तथ्यांक त लेखा परीक्षण सकिएपछि आउला तर, उत्पादन र बिक्रीको अवस्था हेर्दा उद्योग बितेको आर्थिक वर्षमा पनि घाटामै रहेको देखिन्छ,” सिंहले भने, “कोरोनाको प्रभावका कारण सिमेन्ट बिक्रीमा निकै गिरावट आएका कारण नै हामीले उद्योगलाई घाटाबाट बचाउन सकेनौं ।”
उद्योगले बितेको आर्थिक वर्ष २०७६-०७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरेकोमा १४ लाख ५५ हजार ९ सय ६ बोरा मात्रै सिमेन्ट बिक्री गरेको उद्योगको बिक्री महाशाखाको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण मुख्य सिजन चैत, वैशाख, जेठ र असारमा सिमेन्ट बिक्री हुन नसक्दा आर्थिक वर्षको अन्त्यसम्ममा उद्योगमा झण्डै ४ लाख बोरा सिमेन्ट स्टक रहेको थियो । उक्त सिमेन्ट हाल बिक्री भइरहेको बिक्री महाशाखाका प्रमुख सर्जु अर्यालले जानकारी दिए । सिमेन्ट स्टक धेरै भएका कारण उद्योगको क्लिङ्कर उत्पादन दुईहप्तादेखि रोकिएको छ । कोरोना भाइरसको प्रभावका कारण कोइला आयातमा समेत समस्या भइरहेको भन्दै उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले सिमेन्टको स्टक घटेसँगै भदौ १ गतेबाट पुनः क्लिङ्कर उत्पादन सुरु गर्ने बताए ।
उद्योगले अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा झण्डै २३ लाख बोरा सिमेन्ट उत्पादन गरेकोमा २० लाख ८६ हजार ६ सय ८ बोरा बिक्री गर्न सफल भएको थियो । त्यसवर्ष उद्योगले १ करोडको हाराहारीमा मात्र घाटा बेहोरेकोमा बितेको वर्ष ०७६-७७ मा उत्पादन र बिक्रीमा झनै कमी भएपछि घाटाको आँकलन ५ करोड पुगेको उद्योग प्रशासनले जनाएको छ । कोरोनाका प्रभाव हटेपछि पनि उद्योगको क्षमता विस्तारबिना नाफामा लैजान कठिन हुने महाप्रबन्धक सिंहको भनाइ छ । आर्थिक वर्ष २०७२-७३ मा ३० करोड रुपैयाँ नाफा गर्न सफल भएको उद्योगले आब २०७३-०७४ मा २२ करोड रुपैयाँ, २०७४-०७५ मा २३ करोड रुपैयाँ नाफा गरेको थियो । २०७६ साल वैशाखदेखि असारसम्म उद्योगका मेसिनमा खराबीको कारण मात्र तीनपटक उद्योग बन्द भएको थियो । जसको कारण त्यसवर्ष उद्योगले घाटा बेहोरेको थियो ।
२०७२ सालमा उद्योगको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका रघुरमण न्यौपानेको कार्यकालभर उद्योगले निरन्तर नाफा गरेको थियो । उनको २०७६ कात्तिक २८ गतेबाट ३ वर्षे कार्यकाल सकिएको थियो । “उद्योगमा धेरै लुप होलहरु रहेछन्, जसले ती होलहरुलाई टाल्दै उद्योगको हितमा प्रतिवद्ध भएर नेतृत्व मेरो कार्यकालभर उद्योगलाई नाफामा लैजान सफल भएँ,” न्यौपानेले भने, “म अध्यक्ष हुँदा धेरै प्रलोभनहरु नआएका होइनन्, यी सबैलाई पन्छाएर मैले निस्वार्थ भावले काम गरेको थिएँ ।” उद्योगभित्र धेरै किसिमका अनियमिताहरु हुने गरेको आफूले पाएको र त्यसलाई निरुत्साहन गर्दै अघि बढेको न्यौपानेको भनाइ छ । “उद्योगमा कोइलामा कमिशनको लोभमा बढी मूल्यमा कोइला खरिद गर्ने, सस्तो सामानलाई महङ्गोमा खरिद गरी कमिशन लिने, ब्रान्डेड ढुङ्गा हो भनेर कमजोर सामान ल्याउने जस्ता धेरै चलखेलहरु हुने रहेछ भन्ने मैले थाहा पाएपछि त्यसलाई नियन्त्रण गरेको थिएँ । जसका कारण सिमेन्ट उद्योग निरन्तर नाफामा गएको थियो,” न्यौपानेले भने ।
उद्योगमा रहेका मेसिनहरु पुराना भएका कारण कार्य क्षमतामा ह्रास आएको कारण उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टको उत्पादन लागत कम हुने र अन्य सिमेन्टसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने उद्योगको निष्कर्ष छ । उद्योगले दैनिक तीन हजार टन क्षमता विस्तार गर्नको लागि उद्योगले यसअघि नै प्रस्तावपत्रसमेत पेश गरिसकेको छ । मातृका यादव उद्योगमन्त्री हुँदा प्रस्ताव माग गरिए पनि लेखराज भट्ट नयाँ उद्योग मन्त्री भएर आएयता उद्योगको क्षमता वृद्धि गर्नेबारे छलफल भएको छैन । नयाँ उद्योगमन्त्रीले चासो नदिँदा उद्योगले बनाएको प्रस्तावपत्र पनि उद्योगमै थन्किएको छ । २०४३ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका धेरै मेसिनहरु पुराना भएका कारण उत्पादनमा ह्रास आउँदा उत्पादन लागत बढी हुने गरेको छ । जसका कारण निजी सिमेन्ट उद्योगसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्