पानी अभावले चुरे क्षेत्रका वन्यजन्तु संकटमा «

पानी अभावले चुरे क्षेत्रका वन्यजन्तु संकटमा

चुरे जंगल क्षेत्रका वन्यजन्तु संकटमा पर्दै गएका छन् । वन विनाससँगै सुख्खायाममा पानीको स्रोत नहुँदा र बासस्थान मासिँदै गएपछि वन्यजन्तु संकटमा परेका हुन् ।
उदयपुर, सिराहा र सप्तरीको सिमानामा पर्ने चुरे जंगलमा बर्सेनि पानीको स्रोत सुक्दै गएको छ । झण्डै १० वर्षयता संरक्षणको नाममा सामुदायिक वनले जथाभावी कटान गरेर काठ बिक्री गर्दा चुरे क्षेत्रका हरियो रुख मासिएका छन् । हरियो रुखको कटानले पानीको स्रोतमा असर पारिरहेको छ ।
पछिल्लो समय चुरे संरक्षण गरिए पनि पानीको स्रोत बचाउन सकिएको छैन । त्यसैले चुरे जंगल क्षेत्रमा पाइने दुुर्लभ वन्यजन्तु सालक, निलगाई, हरिण, जरायो, घोरल, बँदेललगायतका जन्तु संकटमा परेका छन् । सुख्खायाममा पिउने पानी नहुँदा वन्यजन्तु पानीका लागि चुरे तलका मानवबस्तीमा आउने गरेका छन् । मानवबस्ती नजिकै आएपछि सिकारीले सिकार गर्ने, वन्यजन्तुलाई अनावश्यक दुख दिने, कुटने, खेद्नेलगायतका काम हुँदा आफै मर्ने गरेको वन अधिकारी बताउँछन् । “पानीकै कारणले पनि बर्सेनि वन्यजन्तुको विनास हँुदैछ,” चुरे तलको त्रियुगा नगरपालिका–९ दमौतीका विनोद मोतेले भने, “स्थानीयले दुर्लभ र संकटमा परेको वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने कुरा नबुभ्mदा वन्यजन्तु मासिँदैछन् ।” बँदेलको सिकार गरिने र अन्य जगंली जनावर छाला र हड्डीको लागि मारिने गरेकोले मासिँदै गएको उनले वताए ।
सरकारले वन्यजन्तु आरक्षण क्षेत्रमा मात्रै संरक्षणको ठोस नीति लिएको छ । अन्य क्षेत्रको जंगलमा पाइने वन्यजन्तुको संरक्षणको जिम्मा वन संरक्षणसँगै गर्ने गरिएकाले पनि संकट पर्दै गएको हो । चुरे क्षेत्रमा पाइने वन्यजन्तुको महत्व र आवश्यकताको विषयमा त्यस आसपास बसोबास गर्ने सर्वसाधारणले नबुझ्दा समस्या भएको सुन्दरपुरका देवी बस्नेतले वताए । “संरक्षण गर्नुपर्छ, दुर्लभ वन्यजन्तुको सिकार गर्नु हँुदैन भन्ने सर्वसाधारणलाई ज्ञानै छैन,” बस्नेतले भने, “आरक्षण क्षेत्रभन्दा बाहिरका वन्यजन्तुको संरक्षणका लागि सरकारले संरक्षणको नीति नै ल्याउन सकेको छैन ।” त्यसैले पनि चुरे क्षेत्रका वन्यजन्तु संकटमा पर्दै गएको उनले बताए ।
चुरेको उत्तर उदयपुर, दक्षिणतर्फ सिरहा र सप्तरी जिल्ला छन् । कमलादेखि सप्तकोसीसम्म फैलिएको चुरे जंगलको तल्लो तटीय क्षेत्रमा दुवैतर्फ ठूलाठूला मानवबस्ती छन् । चुरेमा पानीको स्रोत सुक्दै गएपछि मानवलाई नै समस्या पर्दै गएको छ । “मानव नै पानीको समस्या भोगिरहेको अवस्थामा वन्यजन्तुका विषयमा कस्ले सोच्ने,” सिरहाका वातावरण पत्रकार राजकुमार राउतले भने, “चुरे तलका मानवबस्तीका सर्वसाधारण आफै संकटमा परेर वन्यजन्तुका विषयमा खासै सोच्दैनन् ।” त्यसैले वर्षात्मा भन्दा हिउ“दका समयमा वन्यजन्तुलाई जिउनै समस्या हँुदै गएको उनले बताए ।
“वन्यजन्तु संरक्षणको लागि तोकिएको निश्चित कार्यक्रम छैन,” सहायक जिल्ला वन अधिकृत जागेश्वर साहले भने, “वन संरक्षणको कार्यक्रमसँगै वन्यजन्तुको पनि संरक्षण गरिरहेका छौं ।” चुरे क्षेत्रमा पानीको स्रोत संरक्षण गरेमात्रै वन्यजन्तुसँगै जैविक विविधताको संरक्षण हुने उनले बताए ।
पानीको स्रोत संरक्षण गर्न नसक्दा चुरे वन क्षेत्रमा जैविक विविधता संरक्षणमा समस्या पर्दै गएको छ । स्रोत नहुँदा मानवसँगै वन्यजन्तु पनि संकटमा परेकाले बेलैमा सोच्नु पर्ने समय आएको चुरे आसपासका सर्वसाधारण बताउँछन् । तर त्यसका लागि कसले सोच्ने ? भन्ने अन्योल नै छ ।
गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्