पीडित व्यवसायीलाई राहत «

पीडित व्यवसायीलाई राहत

रुकुम उद्योग वाणिज्य संघ रुकुम पश्चिमले केही व्यवसायीलाई राहत वितरण गरेको छ । केही समयअघि सदरमुकाम खलंगास्थित पसलमा भएको आगलागीमा क्षति भएकादेखि मृतक व्यवसायीलाई राहत प्रदान गरेको हो ।
संघले ५ जना व्यवसायीलाई ७ लाख राहत प्रदान गरेको हो । जसअनुसार आगलागीमा परेर क्षति भएको आमा कपडा पसललाई ३ लाखको चेक प्रदान गरिएको छ । त्यस्तै हिमालय फेन्सी स्टोरलाई २ लाख, न्यू साइकुमारी स्टेशनरी पसल १ लाख ५० हजार र सगरमाथा फेन्सी पसललाई ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याललगायतले व्यवसायीलाई राहत रकमको चेक प्रदान गरे ।
त्यस्तै रुकुम मुसिकोटमा व्यवसाय गर्र्दै आएका रविन मोबाइल पसलका सञ्चालक रविन्द्र बुढाकी श्रीमतिलाई पनि २० हजार सहयोग गरिएको छ । व्यावसायिक कामको सिलसिलाम रुकुम पूर्व गएको बेला लडेर मृत्यु हुँदा उनको परिवारलाई समवेदना प्रकट स्वरुप राहत प्रदान गरिएको रुकुम उद्योग वाणिज्य संघका संयोजक पहल खड्काले जानकारी दिए । उनका अनुसार आगलागीबाट व्यवसायीहरुको सामग्री जलेर ठूलो क्षति भएपनि उद्योग वाणिज्य संघले बजारका अन्य व्यवसायीबाट सहयोग रकम संकलन गरेर राहत प्रदान गरेको हो । कोरोना भाइरसको महामारीको कारण सोचेजस्तो राहत संकलन गरेर वितरण गर्न नसकिएपनि यो रकमले व्यवसायीलाई थोरै भएपनि राहत भएको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्