Logo

प्यूठानमा सशस्त्रको नयाँ ब्यारेक

प्यूठान-सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानको नव निर्मित ब्यारेक उद्घाटन गरिएको छ । आइतबार सशस्त्र प्रहरी बल ५ नम्बर प्रदेश विन्ध्यबासिनी बाहिनीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले भवन उद्घाटन गरेका हुन् ।
प्यूठान नगरपालिका–३, विजयनगर बतासेडाँडामा गुल्मको नया संरचना निर्माण गरिएको हो । जिल्ला स्थित स्थानीय तह तथा निजी क्षेत्रको सहयोगमा भौतिक संरचना निर्माण गरिएको गुल्मपति चेतनाथ जोसीले जानकारि दिए । स्थानीय तह तथा निजी क्षेत्रको झण्डै २० लाख लगानीमा संरचना निर्माण भएको हो । कम्पाउण्डसहित गुल्मपति निवास, आवश्यक ब्लक, गेट तथा प्रतीक्षालय निर्माण गरिएको उनले बताए । ३ हजार ५ सय ६० वर्गमिटर जग्गामा गुल्मको नयाँ संरचना निर्माण भएको उनले जानकारि दिए । यसअघि प्यूठान नगरपालिका–४ गाँजुरिमा अस्थायी ब्यारेकबाट प्रहरीले सुरक्षा दिँदै आएको थियो ।
“साँघुरो र सुरक्षा रणनीतिका कारणले समेत पुरानो स्थान असुरक्षित रहेको थियो”, गुल्म पति जोसीले भने, “स्थानीयको सहयोग र साहायताले उचित ठाउँमा व्यारेक निर्माण भएको छ ।” आवश्यक शान्ति सुरक्षा कायय गर्न सुरक्षा बललाई निर्देशन दिँदै प्रहरि महानायव निरीक्षक किशोर प्रधानले भौतिक संरचनाले दैनिक कार्यसम्पादनमा सहयोग पुग्ने बताए । “भौतिक संरचनाले कार्यसम्पादनमा ठूलो भूमिका खेल्छ,” महानिरीक्षक प्रधानले भने, “जिल्लाको शान्ति सुरक्षामा नयाँ संरचनाले सहयोग पु-याउनेछ ।”
कोरोना महामारीविरुद्ध सरकारको मापदण्ड अनुसार प्रदेश क्षेत्रमा सक्रियताका साथ सशस्त्र प्रहरी बल लागेको उनले बताए । देशकै कान्छो सुरक्षा संयन्त्र भए पनि समाज र देशको सुरक्षाका लागि सशस्त्र प्रहरी बल उत्कृष्ट बन्दै आएको उनको दाबी थियो । कार्यक्रममा ११ जना जग्गा दाता तथा सहयोगी निकायलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्