रुपन्देहीमा बजार खुल्ने समय ११ देखि ७ बजे सम्म «

रुपन्देहीमा बजार खुल्ने समय ११ देखि ७ बजे सम्म

भैरहवा-कोरोना भाइरस संक्रमणको जोखीम बढदै गए पछि रुपन्देही जिल्ला भित्रका बजारहरु सोमबार देखि बिहान ११ बजे बाट बेलुका ७ बजे सम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
समितीका संयोजक रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेब पन्थको अध्यक्षतामा बसेको बैठकले बिहानै देखी सञ्चालनमा आएका बजारलाई सोमबार(आज) देखी लागु हुने गरी बिहान ११ बजे देखि ७ बजे सम्म मात्रै सञ्चालन गर्न पाईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत एबं सूचना अधिकारी जनक थापाले बताए ।
जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढदै गए संगै बजारमा भिडभाड समेत बढदै गएकोले तत्कालका लागी यो निर्णय भएको बताईएको छ । त्यसै गरी जिल्लाका बिभिन्न स्थानमा लाग्दै आएका दैनिक तथा साप्ताहिक हाटबजार समेत तत्काल बन्द गर्ने निर्णय भएको छ ।
बैठकले जिल्लामा तत्काल लकडाउन गर्ने, सटडाउन गर्ने बारे २,३ दिनको अबस्था हेरी योजना बनाउने भएको छ । बैठकले पिसिआर टेष्टको दायरा बढाउने बढी भन्दा बढी स्याम्पल संकलन गर्ने, बढी भिडभाड हुने कार्यालय तथा बैंक बित्त सस्थाहरुका कर्मचारीको पिसिआर परिक्षण गर्ने निर्णय समेत भएको छ । त्यसै गरी नेपाल भारतको मुख्य नाका बेलहियालाई कडाई तथा व्यबस्थित गर्ने, छोटीनाकाहरु पुर्णत बन्द गर्ने निर्णय भएको छ ।
त्यसै गरी प्रत्येक पालिकाहरुले एक एक वटा क्वारेन्टाईन निर्माण गरी तयारी अबस्थामा राख्ने निर्णय समेत भएको अधिकारी थापाले बताए ।
त्यस्तै यातायात सञ्चालनको हकमा नीजि सवारी(कार, मोटरसाईकल)सञ्चालनका लागी केन्द्रले बनाएको नीतिनै अवलम्बन गर्ने भएको छ ।
बैठकमा जिल्ला स्थित सुरक्षा निकाय प्रमुख लगायत पालिकाका प्रमुखहरुको समेत उपस्थिती थियो ।
एक साता देखी कोरोना भाइरस संक्रमणको जोखिम रुपन्देहीमा बढदै गएको छ । शहरी क्षेत्र भैरहवा, बुटवलमा संक्रमण पुष्टी भएका छन् भने बुटवलमा संक्रमण पुष्टी भएका २ जना अझै सम्पर्कमा छैनन् ।उता सिमावर्ति बजार नौतनवामा संक्रमण धेरैलाई भए पछि रुपन्देहीमा संक्रमणको जोखिम बढेको हो ।
मर्चवार क्षेत्रको सिमानाकाबाट नौतनवा बजार ३ किमी मात्र टाढा छ । भैरहवा बुटवल क्षेत्रमा अहिले दर्जनौ भारतिय ब्यबसायी तथा मजदुरहरु चोरबाटो हुदै भैरहवा बुटवल आउने गरेको पाईएको छ, केहीले भने नक्कलीपरिचयपत्र बनाउदै नेपाल आईरहेका छन् ।
पछिल्लो समय बजार क्षेत्रमा भैरहवामा ९ जनालाई संक्रमण पुष्टी भएको छ । रुपन्देहीमा समुदायमा फैलिएको आशंका गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्