बेलायतमा आगामी महिना पुनः लकडाउनको सम्भावना «

बेलायतमा आगामी महिना पुनः लकडाउनको सम्भावना

लन्डन-बेलायतमा यो महिनाको अन्त्यसम्ममा पुनः एक पटक लकडाउन लगाउने स्थिति बन्न सक्छ । बेलायत सरकारका पूर्व प्रमुख वैज्ञानिक सल्लाहकार सर डेभिड किंगले आइतबार यस बारेमा सरकारलाई सुझाव दिँदै प्रधानमन्त्रीले यो स्थितिबाट बच्नका लागि अहिलेदेखिनै उपाय खोज्नु पर्ने बताए ।
डेभिड किंगले भने,“हामीलाई सेप्टेम्बरसम्म उचित परीक्षण र ट्रेसिङको व्यवस्था आवश्यक छ । अन्यथा स्कुललाई पूर्ण रुपमा खोल्ने पैmसलाले हामीलाई पुरानै स्थितिमा लैजान सक्छ ।” स्कुल पुनः सुरक्षित रुपमा खोल्ने स्थिति निकट भविष्यमा नभएको उनले थपे ।
अगस्टको अन्त्यसम्ममा यसलाई ठीक गर्नका लागि उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आग्रह गरे । यदि यसो नभएमा बेलायतले कोरोनाभाइरसको संक्रमणको दोस्रो लहर सहनु पर्नेछ । उनले बेलायती सरकारको परीक्षण र ट्रेस प्रणालीलाई विनाशकारी भएको बताएका छन् ।
८० वर्षीय डेभिड प्रधानमन्त्रीको वैज्ञानिक टोलीका आपतकालिन स्थितिमा सहयोग दिने स्वतन्त्र वैज्ञानिक सल्लाहकार समूहका प्रमुख हुन् ।
बेलायतमा कोरोनाभाइरसको संक्रमण हालसम्म ३ लाख भन्दा बढी केस देखा परेका छन् । यो महामारीका कारण बेलायतमा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यहाँ १ करोड ८३ लाख ४९ हजार ६६८ जाँच भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्