भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग «

भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ । आइतबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपालस्थित भारतीय राजदूतावासले भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिए ।
कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।
प्रधानसेनापति थापाले भारतको सहयोगप्रति धन्यवाद प्रकट गरेका छन् । विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् ।
मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्