नेकपा विवाद : सांसदको हस्ताक्षर अभियान नेतृत्वका लागि उपाय खोज्ने समय «

नेकपा विवाद : सांसदको हस्ताक्षर अभियान नेतृत्वका लागि उपाय खोज्ने समय

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी र सरकार चलाउने विषयमा देखा परेको मतभेदलाई हल गर्न लामै समय खोजेको पार्टी शीर्ष नेताहरूसँग निकट सम्बन्ध बनाएका एक नेताले बताएका छन् । यी दुई नेताले तत्कालै पार्टी र सरकारबीचको सम्बन्ध र त्यसको सञ्चालनमा देखिएको एक्लौटीपनासम्बन्धी समस्याको समाधान खोज्न जाँदा दुई नेताबीचको सम्बन्ध झन् चर्किएर गएको हो ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखा परेको विवाद सहजै समाधान हुने नदेखिएपछि पार्टी उपाध्यक्ष बामदेव गौतमले आफू कुनै समूहमा नलाग्ने बताएलत्तै सांसदहरूको एक समूहले उनको लाइनलाई पछ्याउने देखिएको छ ।
सांसदहरूको सो समूहले नेपाल कम्युनिस्ट पार्टीको एकतालाई अक्षुण राख्न र तार्किक निष्कर्षमा पु-याउन संघीय संसदका सदस्यहरूको तर्फबाट जारी अपिल गर्दै आफूहरूले कुनै पनि पक्षमा नलाग्ने जनाएका छन् ।
सो अपिलमा शीर्ष नेतृत्वबीच देखिएको चर्को मतभेदका बारेमा भनिएको छ, ‘सिंगो नेपाली समाजको प्रगतिशील रूपान्तरण, मजबुत राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माण वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरू अगाडि बढाउने यति ठूलो जनताको समर्थन, हजारौं सहिदहरूको सहादत र लाखौं कार्यकर्ताको त्याग र समर्पणलाई हेक्का नराखी पार्टीको आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य, उद्देश्य, संगठनात्मक संरचना सम्बन्धी बहस भन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्व तहमा देखा परेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकाले हामी कार्यकर्ता तहबाट साथ र सहयोग हुन सक्दैन ।’
उनीहरूका अनुसार यतिबेला गर्नुपर्ने काम नगरी अन्यत्रै पार्टीको ध्यान तान्न खोजिएको छ । यसबारे अपिलमा भनिएको छ, ‘यतिबेला पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिइ देशव्यापी संगठन विस्तार गर्दै महाधिवेशनको तयारीमा लाग्नुपर्ने बेला हो भने अर्कोतिर कोभिड–१९ले स्वास्थ्य र अर्थतन्त्रमा पारेको गम्भिर नकारात्मक असरलाई न्यूनीकरण गर्ने कार्यक्रमलाई प्रमुखता दिँदै कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी प्रवन्ध मिलाउने र सबल राष्ट्रिय चरित्रको अर्थतन्त्र निर्माणको दिशामा अगाडि बढी संविधानले मार्ग निर्देश गरे अनुसार समाजवादी अर्थतन्त्र निर्माणको गतिलाई अगाडि बढाउन आम निर्वाचनको बेलामा नागरिक समक्ष गरिएका नीति र कार्यक्रमका घोषणालाई एकताबद्ध भएर कार्यान्वयन गर्नुपर्ने ऐतिहासिक दायित्व पार्टी र सरकारसँग छ ।’
उनीहरूले पार्टी नेतृत्वलाई आफूहरू कतै नबस्ने भएको स्पष्ट पार्दै भनेका छन्, ‘पार्टीभित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबाब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन जनताले निर्वाचन गरी पठाएका देशको सर्वोच्च प्रतिनिधि संस्थाको सदस्य भएको नाताले हामी कतै पनि विभक्त नभई एकताको पक्षमा उभिएका छौं र हस्ताक्षर गरी प्रतिबद्धता व्यक्त गर्दछौं ।’
उनीहरूले पार्टीको एकताका लागि सुझाव समेत प्रस्तुत गरेका छन् । तीन बुँदे सुदृढ पार्टी एकताको निम्ति प्रतिबद्धतासहितको सुझाव उनीहरूले दिएका छन् । पहिलो प्रतिबद्धता अन्तर्गत उनीहरूले भनेका छन्। ‘यसभन्दा अगाडि विगतमा हाम्रो पार्टीभित्र रहेको विभिन्न विचार समूहमा उपल्लो नेतृत्व तहसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिँगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा हामी प्रतिबद्ध छौं ।’
दोस्रो प्रतिबद्धतामा ‘पार्टीमा हुने र देखिने सबै प्रकारका र रूपका अन्तरविरोधलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि प्रक्रियाद्वारा वस्तुवादी समाधानहरू खोज्न हामी प्रतिबद्ध छौं’ भनिएको छ ।
तेस्रो बुँदामा भनिएको छ, ‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरूलाई मूर्त वा अमूर्त ढंगले, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक र चोकहरू आदि माध्यमबाट सार्वजनिक ढंगले पक्षविक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं र त्यस प्रकारका पार्टी एकता विरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं ।’
अहिलेसम्म ६१ जनाले हस्ताक्षर गरेको यो समूहले उठाएका विषयलाई एक नेताले समय ‘बार्गेन’ गरिएको पहलको रूपमा व्याख्या गरेका छन् ।
बामदेव गौतमले सारेका ६ बुँदे प्रस्तावमा पनि यी विषय नै परेका छन् । तर मुख्य कुरा प्रधानमन्त्री ओली पार्टी र सरकार दुबैको अधिकार आफ्नो हातमा राख्ने अडानमा रहेसम्म वार्ताको निकास निस्कन नसक्ने ती नेताले बताए । ओलीले महाधिवेशनसम्म पार्टी र सरकार सञ्चालन गर्ने दुबै अधिकार एकलौटी रूपमा उपयोग गर्न खोजेकाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाल सशंकित हुन पुगेका छन् । त्यसैले यो एकता प्रक्रियाको अपिल दुई नेताका लागि ‘टाइम बार्गेन’ गर्ने ‘टुल’ बन्ने ती नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्