खाद्य कम्पनीले चार अर्बको सामग्री खरिद गर्ने «

खाद्य कम्पनीले चार अर्बको सामग्री खरिद गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू वर्षमा चार अर्ब रुपैयाँ बराबरको एक लाख टन खाद्यान्न खरिद गर्ने भएको छ । खाद्यान्नको मौज्दात राख्न, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्नका लागि चार अर्ब रुपैयाँ बराबरको १ लाख ६ सय ७० टन खाद्यान्न खरिद गर्न लागेको कम्पनीले जनाएको छ । बजारमा खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागेको पनि कम्पनीले जानकारी दियो ।
उपभोक्तालाई सहुलियदरमा खाद्यान्न वितरण गर्नका लागि कम्पनीले ठूलो परिणाममा खाद्यान्न गर्न लागेको हो भन्दै कम्पनीका नायव महाप्रवन्धक श्रीममणिराज खनालले बजारमा सहुलियदरमा खाद्यान्न वितरण गर्नका लागि एक लाख टन खाद्यान्न खरिद गर्न लागिएको बताए । धान, चामल, गहुँ, चिनी, सिमी, भटमास, मास, मसुरोको दाल, रहरको दाल, तोरीको तेल र सनफलावर खरिद गर्ने तयारी गरेको उनले जानकारी दिए । दुर्गम तथा सुगम ठाउँमा कम्पनीले खाद्यान्न वितरण गर्दै आइरहेको उल्लेख गर्दै खनालले भने, “बजारमा मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलव्ध गराउनका लागि यो वर्ष पनि खाद्यान्न खरिद गर्न लागेको छौं ।”
कम्पनीले विभिन्न जिल्लाबाट खाद्यान्न खरिद गर्ने तयारी गरेको छ । कम्पनीले यो वर्ष १ अर्ब ७९ करोड ३१ लाख ५५ हजार रुपैयाँ बराबरको ६० हजार टन धान खरिद गर्न लागेको छ । मोटा र मसिना धान सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले धान खरिद गर्ने छ । अन्य धान भने कम्पनीले बजार मूल्य अनुसार नै धान खरिद गर्ने छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार किसानबाट धान खरिद गर्ने छ । कम्पनीले धान कुटाएर चामल बिक्री गर्छ ।
यस्तै, एक अर्ब २६ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको २५ हजार टन धान खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । १५ करोड ५८ लाख रुपैयाँ बराबरको पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । ७३ करोड रुपैयाँ बराबरको १० हजार टन चिनी खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । चिनी खरिद गर्नका लागि कम्पनीलाई सरकारले अनुमति दिइसकेको छ । दुई करोड ४७ लाख रुपैयाँ बराबरको दुई सय टन सिमी खरिद गर्न लागिएको छ । यस्तै ९८ लाख ८० हजार रुपैयाँ बराबरको एक सय टन मुसुरोको दाल, एक करोड ४४ लाख ६० हजार रुपैयाँको रहरको दाल खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । यस्तै २३ लाख रुपैयाँ बराबरको एक सय लिटर तोरीको तेल, १६ लाख ५० हजार रुपैयाँ बराबरको सनफलावर तेल खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । ७१ लाख २५ हजार रुपैयाँ बराबरको ५० टन मासको दाल र १८ लाख रुपैयाँ बराबरको २० टन भटमास खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
गत वर्ष पनि कम्पनीले ठूलो परिमाणमा खाद्यान्न खरिद गरेर बिक्री गरेको थियो । कम्पनीले सार्क खाद्य सुरक्षा भन्डारणमा समेत खाद्यान्न मौज्दात गर्दै आएको छ । मुलुकमा आउने बाढीपहिरो, प्राकृतिक विपत्तिको लागि भनेर कम्पनीले ठूलो परिमाणमा खाद्यान्न मौज्दात गर्ने गरेको छ । कम्पनीले खाद्यान्न खरिद गरेर बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्