अस्पतालहरु बन्द, होटल र धर्मशालामा उपचार «

अस्पतालहरु बन्द, होटल र धर्मशालामा उपचार

कोरोनाको हटस्पट वीरगन्जमा

वीरगन्ज– अस्पतालहरु बिरामीको स्वास्थ्य उपचारका लागि खोलिन्छन् । तर, नेपालमा भने नियम कानून, विधि, पद्धति भन्दा त्यसको ठीक विपरीत भईरहेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले नेपालकै प्रमुख प्रवेशद्वार वीरगन्जमा भयावह रुप लियो । अहिले यहाँका संक्रमितको उपचारका लागि अस्पताल होईन होटल र धर्मशालाहरुको साहारा लिनुपरेको छ । संघीय सरकार मातहतमा रहेको एक मात्र नारायणी अस्पतालमा अहिले आकस्मिक बाहेक सबै उपचार सेवा बन्द रहेको छ । यद्यपि डायलासिस सेवा भने शुरु गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जनाएको छ ।
बिरामीको उपचार गर्ने अस्पतालहरु भने सबै बन्द रहेका छन् । सरकारी स्वामित्वको नारायणी अस्पताल पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना रोकथाम र व्यावस्थापनमा देखिएको कमजोरीको विषयमा प्रदेश सरकार, जिल्ला संकट व्यावस्थापन केन्द्र, वीरगन्ज महानगरपालिका लगायतका निकायहरु विरुद्ध परेको रिटमा उच्च अदालत अस्थायी इजलास वीरगन्जले पटक पटक परमादेश जारी गरेको छ । अधिवक्तहरु, सुधीर कुमार कर्ण, प्रमोद साह र विरेन्द्र यादवले दायर गरेको अलग अलग रिटमा अलग अलग परामदेश जारी गरि नागरिकको जीवन रक्षाका लागि गम्भीर बन्न भनिएको छ । एकपछि अर्को परामादेश जारी भएपछि संकट व्यावस्थापन केन्द्र पर्साले अहिले धमाधम आईलोशसन केन्द्रहरु खोजी गर्दै कोरोना संक्रमितहरुलाई वीरगन्जको होटल र धर्मशालामा राखेर उपचार गराउनु परेको छ । पर्सा जिल्लामा पीसीआर चेकजाँचलाइ तिव्रता दिइएसँगै कोभिड १९ संक्रमित पुष्टि हुनेहरूको संख्या बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम हुने गरी स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी लक्षण नभएका संक्रमितहरूलाइ होम आइसोलेसनमा बस्ने सुविधा दिइएको छ । अस्पतालहरुले सामान्य विरामी समेतलाई भर्ना नलिने र बन्द गर्ने गरेको छ ।
धेरैजसो ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएको र संक्रमित व्यक्तिहरू स्वयं पनि अनुशासित भएर घरमै बस्नुको सट्टा घरबाहिर निस्किएर संक्रमण फैलाउने जोखिम बढेपछि होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टरको मोडेललाई जोड दिएर सामुदायिक अईशोलेसनको अवधारणामा होटल र धर्मशालाहरुलाई प्रयोग गरिएको छ । जिल्ला संकट व्यावस्थापन केन्द्र पर्साका सदस्यसचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार होटल र धर्मशालामा गरी थप २८० बेड क्षमताका सामुदायिक आइसोलेसन सेन्टर संचालनमा ल्याईएको छ । यसअघि नै करिव २०० बेड क्षमताका कोभिड अस्पताल र झण्डै त्यति नै क्षमताको सामुदायिक आइसोलेसन सेन्टर संचालनमा छन् । त्यसपछि अहिले गोपाल मण्डली धर्मशाला आइसोलेसन सेन्टरमा १११ बेड, सिद्धार्थ मा.वि. आइसोलेसन सेन्टरमा ६० बेड थप, होटल रानीपोखरी आइसोलेसन सेन्टरमा ५० बेड, राणी सती धर्मशाला आइसोलेसन सेन्टर ६० बेड तयार गरेर संचालनमा ल्याएको छ । बीरगंज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था बीरगंज महानगरपालिकाले गर्ने गरी स्वास्थ्यकर्मीहरु खटिएको र उनीहरुलाई नेपाल सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने व्यवस्था गरि मिलाईएको सहायक प्रजिअ बस्नेतले बताए । वीरगन्जमा खुलेका निजी अस्पतालहरु भने अहिले प्रायः बन्द रहेका छन् ।
कोरोना पुष्टि भएपछि अस्पतालको आईशोलेसनको अभाव र व्यवस्थित नहुँदा वीरगन्जको होटल पुजन र विजयज्योती होटल पनि होम आईलोशसनको अवधारणामा संक्रमितहरु बसेका छन् । वीरगन्जमा कोरोना कहरको कारुणिक अवस्था देखेपछि होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साले होटलहरुलाई न्यूनतम शुल्कमा क्वारेण्टिन र आईशोलेसनका लागि प्रयोग गर्न दिने घोषणा गरेको थियो । अहिले टाउनहल, कन्ट्री इन तथा हिमाल भान्छा घर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको लागि क्वारेन्टिन बनाईएको र होटल पुजन तथा विजय ज्योतीमा भने औद्योगिक घरानाका परिवारको आईशोलेसन बनाईएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए । मानव समुदायलाई नै संकटमा पार्ने गरी फैलिएको यो महामारीमा व्यवसायको फाईदा भन्दा पनि मानवीयता र सामाजिक भावनको दृष्टिकोणले सहयोग गरेको उनले बताए ।

उपचार नगर्ने अस्पताल र प्रशासनको व्यापक विरोध
वीरगन्जमा उपचार अभावमा सर्वसाधारणको मृत्यु भएपछि अस्पताल र प्रशासनको व्यापक विरोध शुरु भएको छ । अस्पतालहरुमा उपचार गर्न जाँदा बिरामीलाई भर्ना नलिई उपचार विना नै फिर्ता पठाउने गरेको र मृत्यु समेत हुन थालेपछि स्थानीय प्रशासनले अस्पतालहरुलाई कारवाही नगरेको भन्दै प्रशासनको पनि चर्को विरोध भईरहेको छ । जिल्ला संकट व्यावस्थापन केन्द्र पर्साले भने साउन २३ गते शुक्रबार सूचना जारी गर्दै अस्पतालहरुलाई बिरामीको उपचार गर्न निर्देशन दिएको छ । तर, त्यही दिन नेशनल मेडिकल कलेजले बिरामीलाई भर्ना नलिएर मृत्यु भएको थियो । बिरामीको मृत्यु पछि जिल्ला प्रशासन कार्यालयले घटना के भएको हो ? त्यसको स्पष्टीकरण दिन पत्राचार गरेको र आवश्यक कारवाहीको लागि स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा समेत सिफारिस गरेको छ । त्यसपछि पनि लगातार बिरामीको अस्पतालमा भर्ना गर्न नपाएर मृत्यु भएपछि आईतबार वीरगन्जको नारायणी अस्पतालमा मृतकका आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा ना १२ च ५९६६ नम्बरको सवारी साधन समेत तोडफोड गरेका छन् । नारायणी अस्पताल अगाडि स्थानीयको प्रदर्शनले अस्पताल क्षेत्रमा केहीबेर तनाव ग्रस्त बनेको थियो ।

समन्वय र सहकार्य नगरेको आरोप
वीरगन्जका निजी अस्पतालहरुमा कोरोना संक्रमितहरु देखिन थालेपछि अस्पतालहरु सील गर्ने र उपचार नै प्रभावित हुन थालेपछि निजी अस्पतालहरुले बिरामीहरु भर्ना लिन छोडेका छन् । अस्पतालहरुले भर्ना नलिएकै कारण पछिल्लो पटक तीनजनाको मृत्यु भएको छ । निजी मेडिकल कलेज संचालकहरुको संस्था (प्राईभेट मेडिकल कलेज एशोसिएसन) का अध्यक्ष बसरुद्दीन अन्सारीले भने सरोकारवाला निकायले छलफल नै नगरेको आरोप लगाएका छन् । उनले भने, भने, “संकट व्यवस्थापन केन्द्रले सरोकारवालाहरुलाई राखेर छलफल गरेन । होटल तथा धर्मशालामा लगेर राखेका छन् । संक्रमितलाई ल्याएर सुताउने मात्रै हो भने सुति हाल्छन् । त्यहाँ ल्याएपछि उपचारका लागि सामान्य औषधिहरु चिकित्सकको व्यावस्थापन कसरी व्यावस्थापन गर्ने ? त्यो विषयमा हामीसँग कुनै छलफल नै गर्नुभएन ।” अध्यक्ष अन्सारीका अनुसार कोभिड १९ रोकथाम र व्यावस्थापनमा देखिएको दुईवटा समस्या छ । एउटा जनरल अस्पतालको सेवा दिने र अर्को कोरोना संक्रमितको उपचार गर्ने सबै अस्पतालमा कोरोना अस्पताल नै बनाउने । अस्पतालहरुमा नै कोरोना संक्रमितलाई उपचार गर्ने हो भने इटलीको जस्तो अवस्था आउने उनको कथन छ । उनी भन्छन्, “इटलीमा हरेक जनरल अस्पतालमा १० प्रतिशत वेड छुटयाईयो । त्यहाँको अवस्था कस्तो भयो ? अनि नेपालमा पनि इटलीको जस्तै अवस्था निम्त्याउने हो ?” नेशनल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने निर्णय ग¥यो भन्ने सञ्चार माध्यमहरुमा, सामाजिक सञ्जालमा आएको र आन्दोलन गर्ने भनेर चेतावनी पनि दिएको जानकारी आपूmले पाएको भन्दै उनले भने, “मेरो मेडिकल कलेजमा एक हजार ५० वेडको अस्पतालमा अहिले चारसय ५० जति बिरामी उपचाररत छन् । आकस्मिक कक्ष आईसीयु लगायतमा गरी ६ सय भन्दा बढी बिरामीहरु होला उनीहरुलाई कसरी व्यावस्थापन गर्ने ? त्यो सरकारले विकल्प देओस । म कोरोना अस्पताल बनाउन दिन तयार छु । स्थानीय सरकार, प्रदेश सरकार के गरेर बसेको छ ? हामीसँग अहिलेसम्म किन छलफल गरेनन् ?” निजी अस्पतालहरुको अस्पताल बन्द गर्ने चाहाना नभएको तर, राज्यकोतर्फबाट कुनै पहल नभएको अध्यक्ष अन्सारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्