बन्दाबन्दीमा पनि सिन्धुलीमा दुई खानेपानी आयोजना सम्पन्न «

बन्दाबन्दीमा पनि सिन्धुलीमा दुई खानेपानी आयोजना सम्पन्न

सिन्धुली- बन्दाबन्दीको समयमा पनि सुनकोसी गाउँपालिका–६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।
ती खानेपानी आयोजनामार्फत अमारे र न्यौपानेटारका घरहरूमा ५९ धारा निर्माण भई ४ सय २३ जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १ सय ४५ पुरुष १ सय ३६ महिला गरी जम्मा २ सय ८१ जना र न्यौपाने टारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरी जम्मा १ सय ४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।
नेपाल रेडक्रसको आह्वानमा स्थानीय सुनकोसी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । उनले भने, रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरूको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोसी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८ सय ९३ रुपैयाँ ७२ पैसा सुनकोसी गाउँपालिकाको ७ लाख ९५ हजार ५ सय ८ रुपैयाँ १३ पैसा र समुदायको १ लाख २० हजार ४ सय ६८ रुपैयाँ १६ पैसा गरी कुल रकम ३० लाख ७६ हजार ८ सय ७० रुपैयाँ १ पैसा खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले जानकारी दिए ।
त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम १५ लाख ३५ हजार ५ सय ४० रुपैयाँ ९४ पैसा सुनकोशी गाउँपालिकाको ४ लाख ७७ हजार ८ सय ८ रुपैयाँ ३१ पैसा र समुदायको ८१ हजार १ सय ७७ रुपैयाँ ७७ पैसा गरी कुल रकम २० लाख ९४ हजार ५ सय २७ रुपैयाँ ६२ पैसाको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
सुनकोसी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरु भएकोे र ती सबै योजनाका लागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिँदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एक साताभित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिए । उनले भने, “लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भइसकेका हुने थिए । सुक्खा क्षेत्रमा खानेपानी पु-याउन सहयोग गर्न पाएकोमा हामी खुसी छौं ।

 

 

प्रतिक्रिया दिनुहोस्