धुनिबेसीको प्रशासनिक भवन निर्माण सुरु «

धुनिबेसीको प्रशासनिक भवन निर्माण सुरु

खानीखोला (धादिङ- धुनिबेसीको प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको छ ।
जनताको अपेक्षाअनुसारको विकास गर्नुपर्ने त छँदैछ, नगर प्रमुख बालकृष्ण आचार्य भन्छन्, “कर्मचारीलाई सहज रूपमा काम गर्न खुल्ला कार्यकक्ष आवश्यक हुन्छ । त्यसका लागि प्रशासनिक भवन निर्मार्णाधीन छ ।”
पृथ्वी राजमार्गबाट ५०० मिटरभित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठाको निर्माण हुन लागेको इन्जिनियर नवराज श्रेष्ठले बताए । ३ वर्षको अवधिमा निर्माण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । पृथ्वी राजमार्गको टायलघरबाट ५०० मिटरमा प्रशासनिक भवनको प्राविधि प्रस्ताव मूल्याँकनको प्रक्रियामा छ । भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षसहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीको कार्यकक्ष हुनेछ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियालीसहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताए ।
२०७५ असारमा बसेको नगरसभाले पालिका केन्द्र तोकिएको आसपासमा निःशुल्क जग्गा प्राप्त गर्ने र सो नभएका जग्गा प्राप्ति ऐनअनुसार जग्गा प्राप्ति गरी भवन निर्माण प्रक्रिया अघि बढाउन २०७५ साउन ३१ गते १५ दिने सूचना प्रकाशित गरियो । निःशुल्क जग्गा उपलव्ध नभएपछि जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ (क) बमोजिम जग्गा प्राप्ति-खरिद प्रक्रियाको लागि संघीय मन्त्रिपरिषद्को २०७६ असार २४ गतेको निर्णयबाट अनुमति प्राप्त गरेर प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अघिकृत गोविन्द सिग्देलले बताए । २०७६ मंसिर १७ मा बसेको जग्गा अघिग्रहण तथा मुआव्जा निधारण समितिको बैठकले प्रतिरोपनी २० लाख ६० हजार मुआब्जा निर्धारण गरेकाले २०७६ भदौ १५ गते साविक नौबिसे ४-ग कित्ता नं. ९५० र ८६ बाट आठ रोपनी जग्गा गाप नेपाल प्रालि र सिजी प्रिन्टिङ प्रालिले पेश गरेको प्रस्तावबाट जग्गा प्राप्ति भएको छ । हाल धुनिबेसी नगरपालिकाको नाममा साविक नौविसे ४-ग १२४९ कित्ता नं. मा ५ रोपनी र १२५२ कित्ता नं. मा ३ रोपनी जग्गा रहेको प्रमुख प्रशासकीय अधिकृत सिंग्देलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्