नेपाल–बंगलादेश सहकार्य «

नेपाल–बंगलादेश सहकार्य

नेपाल तथा बंगलादेशबीच व्यापार, उर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको जनाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशकी राजदूत मास्फे विन साम्स्बीच अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा देशबीच व्यापार, उर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइएको हो ।
७ वर्षे कार्यकाल पूरा गरी बंगलादेश फर्कन लागेकी राजदूत साम्स्ले वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा संवादजस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरिन् ।
भेटमा अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशबीच ५ दशक भन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य भइरहेको धारणा व्यक्त गरे । उनले दुवै देश प्राकृतिक, मानव संशाधनलगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने पनि बताए ।
नेपालले बंगलादेशसँग अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै खतिवडाले अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुन सक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए । उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाइँसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गर्दै सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने पनि बताए ।
अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाइरहेको जानकारी दिए । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच र मोवाइल बैंकिगङको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले कोभिड–१९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्