सहकारी अनुगमनका लागि निर्देशिका «

सहकारी अनुगमनका लागि निर्देशिका

सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमनका लागि निर्देशिका जारी गरेको छ । सहकारीको अनुगमनलाई प्रभावकारी बनाउनका लागि निर्देशिका जारी गरेको हो ।
सहकारीमा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले सहकारी विभागले तयार गरेको निर्देशिका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको हो ।
निर्देशिका वित्तीय अनुशासनका सर्वमान्य मापदण्ड अनुरुप सहकारी संस्थाहरुको प्रणालीगत सुपरिवेक्षण एवं जोखिमको विश्लेषण गर्न सहयोगी हुने विभागका रजिष्टार डा. टोकराज पाण्डेले बताए । यसबाट आगामी दिनमा विभागलगायतका नियामक निकायले गर्ने स्थलगत निरीक्षण, अनुगमन र हिसाब जाँच निर्देशिका बमोजिम हुने उनले जानकारी दिए ।
निर्देशिकालाई सहकारी संघसंस्थामा सुशासन कायम गर्ने अभियानको महत्वपूर्ण पाटोको रुपमा लिइएको छ । यसबाट सहकारीको अनुगमनलाई प्रभावकारी बनाउने दावी समेत विभागले गरेको छ ।
यसअघि मन्त्रालयले सहकारी संस्थाको साधारणसभा (कार्य व्यवस्था) निर्देशिका, २०७६, सहकारी प्रर्वद्धन कोष सञ्चालन कार्यविधि, २०७६, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को पहिलो संशोधन जारी गरीसकेको छ । यसैगरी सहकारी ऐन र नियमावली बमोजिम थप निर्देशिका कार्यविधि जारी गर्ने तयारी मन्त्रालय र विभागले गरेका छन् ।
विभागले छिट्टै अनुदान छुट सुविधा प्रदान गर्ने निर्देशिका, सहकारी संस्थाको कार्यक्षेत्र निर्धारण, विस्तार तथा पुन निर्धारण निर्देशिका, सहकारी संस्थाको सेवा केन्द्र सञ्चालन कार्यविधि, अन्तर सहकारी कारोबार सञ्चालन कार्यविधि, सहकारी संस्था एकीकरण तथा विभाजन सम्बन्धी कार्यविधि जारी गर्ने तयारी गरेको छ । यी निर्देशिका कार्यविधिलाई चालू आर्थिक वर्षकोे माघसम्ममा जारी गर्ने लक्ष्य विभागले जनाएको छ ।
सहकारी संस्थाहरुको संख्या र कारोबार बढ्दै गएपनि अनुगमन प्रभावकारी नहुँदा जोखिम बढिरहेको छ । संघीयतासँगै सहकारीको अधिकार स्थानीय तहसम्म हस्तान्तरण भएपछि सहकारीको अनुगमन ओझेलमा परेको छ ।
सहकारीको अनुगमनलाई प्रभावकारी र अनलाइन प्रविधिमा आधारित बनाउने भन्दै सरकारले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोमोमिस) निर्माण गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन ।
पछिल्लो तथ्यांकअनुसार देशभर दर्ता भएका ३५ हजार सहकारीमध्ये १४ हजार बचत तथा ऋण रहेका छन् । अन्य विषयगत सहकारीहरु पनि बचत तथा ऋण कारोबारमै केन्द्रीत छन् ।

 

प्रतिक्रिया दिनुहोस्