लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन «

लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन

कोरोना भाइरस चीनबाट सुुरु भई विश्वव्यापी रूपमा फैलिएको परिवेशमा नेपाल पनि अछुतो रहन सकेन । यो महामारी सुरु भएको आठ महिना बितिसक्दा पनि यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । यस महामारीले विश्वका अधिकांश देश प्रभावित भएका छन् । हालसम्म करिब १ करोड ९० लाख मानिस संक्रमित भएका छन् भने करिब ७ लाख मानिसले ज्यान गुुमाएका छन् । त्यस्तै करिब १ करोड २० लाख मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै पछिल्लो समय यो भाइरस उत्तर तथा दक्षिण अमेरिका साथै दक्षिण एसियामा तीव्र रूपमा फैलिरहेको छ ।
नेपालमा पनि करिब चार महिनासम्म लामो लकडाउन अन्त्यसँगै यो भाइरस फेरि दिन–प्रतिदिन बढ्दै गइरहेको छ । छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेको भाइरसले खुला सिमानाका कारण प्रत्यक्ष रूपमा यसको असर नेपालमा पनि पर्दै गएको हो । सरकारले चार महिना लामो लकडाउन गरे पनि यस महामारीलाई नियन्त्रण गर्न नसक्नुु तथा नागरिकले सरकारले लागू गरेको मापदण्डहरूको बेवास्ताका कारणले फेरि यो भाइरस बढ्दै गई समुुदायस्तरसम्म भित्र–भित्रै फैलिएको छ ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा नराम्रो असर पुु-याएको अवस्थामा यसले अहिलेसम्मकै ठूलो आर्थिक मन्दी आउने विश्लेषकहरूको भनाइ छ । विकसितभन्दा पनि अल्पविकसित देशहरूमा यस महामारीले ठूलो आर्थिक संकट सिर्जना गरेको पाइन्छ । नेपालमा पनि यसको असर आंशिक रूपमा देखा पर्न थालिसकेको छ । करिब चार महिना लामो लकडाउनले शिथिल भएको हाम्रो अर्थव्यवस्था आंशिक रूपमा खुल्ला गरिए तापनि यो पहिलेको अवस्थामा आउन धेरै समय लाग्ने देखिन्छ ।
यो महामारीले आर्थिक क्रियाकलाप ठप्प हुँदा तथा लकडाउनपछि आंशिक रूपमा खुला भएको बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, किसान, जागिर गुुमाएका निजी कर्मचारी तथा निम्नवर्गीय मानिसहरू धेरै पीडित छन् । लकडाउन सकिएको बहानामा दैनिक उपभोग्य बस्तु विक्री–वितरणमा कृत्रिम अभाव उत्पन्न गराई उपभोक्ता ठग्न म्याद सकिएका गुणस्तरहीन वस्तुुहरू बजारमा प्रशस्त मात्रामा भटिन्छन् । यसबारे सरकार तथा सम्बन्धित निकायहरूले छिटोभन्दा छिटो अनुगमन गरी बजारमा भएको अनधिकृत मूल्य वृद्धि नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ । त्यस्तै उपभोक्ता पनि सजग हुने बेला आएको छ ।
पछिल्लो समय फेरि कोरोना भाइरस वृद्धि भएको अवस्थामा आमजनमानसमा त्रास सिर्जना भएको देखिन्छ । अब सरकारले छिटोभन्दा छिटो विज्ञहरूबाट राय, सल्लाह, सुझाव लिएर अगाडि बढ्ने बेला आएको छ । कोरोना परीक्षणको दायरामा वृद्धि गराई अब आउन सक्ने भयावह स्थितिको नियन्त्रणमा अघि बढ्नुुपर्ने देखिन्छ । छिमेकी देशसँगको खुला सिमानाका कारण कोरोना नियन्त्रण नभएकाले अबका दिनहरूमा सरकारको पहिलो प्राथमिकता भनेको सीमा नाकाहरू बन्द गर्नुपर्छ । त्यस्तै आमनागरिकले सरकारलाई मात्र दोष नदिई सरकारले गरेका निर्णयहरूलाई साथ दिँदै स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्नुपर्छ । सरकारलाई फेरि आफ्नो गल्ती सच्याउने दिन आएको छ । लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन भन्ने प्रस्ट भएको छ । सीमा नाकाहरू बन्द गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्दै, देशभित्र आंशिक रूपमा आर्थिक क्रियाकलापहरू बढाउदै जान सके अर्थतन्त्रले छिटै फड्को मार्ने थियो ।

सूर्योदय न.पा., इलाम, हाल : काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्