करोड बढीको लगानीमा फन पार्क रेस्टुराँ सञ्चालनमा आयो

बाँके जिल्लामै पहिलो पटक फन पार्क सहितको रेस्टुराँ निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । बाँकेको खजुरा गाउँपालिकाको एक नम्बरमा करिब १ करोड रुपैयाँ बढीको लगानीमा मिनी पार्क एन्ड रेस्टुराँ सञ्चालनमा आएको छ ।
नेपालगन्ज–गुलरिया सडकखण्डको पेडारी नाला पुल नजिकै सञ्चालनमा ल्याइएको सोे रेस्टुराँभित्र मनोरञ्जनका बिभिन्न साधनहरू छन् । लभपार्क, पिक्निक स्पट, भुलभुलैया, गार्डेन, खैल मैदानलगायतका आकर्षण रेस्टुराँभित्र रहेको रेस्टुराँका सञ्चालक ऋषिकेश जिसीले बताएका छन् ।
एक बिघा ३ कठ्ठा जग्गामध्ये करिब एक बिघामा पार्क र ३ कठ्ठा जग्गामा रेस्टुराँ रहेको सञ्चालक जिसीले बताए । बाँके जिल्लाको नेपालगन्ज र कोहलपुरमा समेत त्यस्तो रेस्टुराँको माग भइरहेको बेला खजुरामा स्थानीय ऋषिकेश जिसी र टेकबहादुर श्रेष्ठले पार्क सहितको रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् ।
यसबाट बाँके जिल्लाका अन्य स्थानबाट मानिसहरू पार्क अवलोकनका लागि खजुरा पुग्ने अवस्था आउनु समग्र खजूराको विकासका लागि सहयोगी हुने खजुराका स्थानीय अगुवा सतिश निरौलाले बताए ।
खजुरा क्षेत्रमा फन पार्क रेस्टुराँ पहिलो हो । मिनि पार्क एन्ड रेस्टुराँ सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने नयाँ वर्ष पारेर वैशाखमा गरिने भएको छ । खजुरा पार्कमा प्रवेशका लागि र पिक्निकका लागि सामान्य शुल्कको व्यवस्था गरिएको छ ।
खजुरा बाहिरका मात्रै नभएर बाँके जिल्ला बाहिरका मानिसहरूलाई समेत आकर्षित गरी पर्यटक भित्राउने लक्ष्य राखिएको सञ्चालक जिसीले बताए ।
सो प्रकारको रेस्टुराँ नेपालगन्ज र कोहलपुरमा पनि सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । पछिल्लो समयमा आएर नेपालगन्ज र कोहलपुरमा मात्र नभई खजुरा, राँझा र अन्य स–साना बजारहरूमा पनि ठूला लगानीका होटल र रेस्टुराँहरू खुल्ने क्रम बढेको छ ।