सहोदर भाइ र भतिजीद्वारा हत्या «

सहोदर भाइ र भतिजीद्वारा हत्या

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमास्थित गोठमा आगोले जलेर मृत फेला परेका ६२ वर्षीय फुर्वाग्याबे शेर्पाको हत्या आरोपित २ जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।
मृतकका सहोदार कान्छा भाइ ६० वर्षीय पेम्बा लाक्पा शेर्पा र भतिजी ५४ वर्षीया पासाङ ल्हामु शेर्पालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनाको अनुसन्धानका क्रममा साउन १९ गते पक्राउ परेका सहोदर भाइ र भतिजीले हत्या गरेको प्रहरीसमक्ष स्विकार गरेको प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
जिल्ला अदालतबाट साउन २३ गते म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सहोदर भाइ र भतिजीबिच अनैतिक सम्बन्धप्रति सजग गराउने क्रममा विवाद हुँदा दाउराको चिरपटले टाउकोमा प्रहार गरी हत्या गरेको डीएसपी श्रेष्ठले बताए । गोठमा ओछ्याउन प्रयोग गरिएको म्याट्रेस, राडी र ओढ्ने कम्बलले शव छोपेर आगो लगाएको आरोपितद्धयले प्रहरीसमक्ष बताएका छन् । मृतकका काइला छोरा ३२ वर्षीय दावा शेर्पाले किटानी जाहेरी दिएका थिए ।
थुकिमास्थित हिलेखोलामा रहेको आफ्नै गोठमा शेर्पाको शव साउन १२ गते फेला परेको थियो । मृतकका काइली बुहारी र छिमेकी नातामा वुहारी नै पर्ने खाद्यन्न लगायत सामाग्री लिएर गोठमा पुग्दा शव देखेपछि गाउँघरमा फोनमार्फत जानकारी गराएका थिए । वडाअध्यक्ष जयबहादुर खड्काले प्रहरीलाई जानकारी गराएलगत्तै इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली साउन १३ गते घटनास्थल पुगेको थियो ।
शवको प्रकृती शंकास्पद पाइएकाले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको थप प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । शव साउन १४ गते जिल्ला अस्पतालमा पोस्टमार्टम गरि सदगदका लागि परिवारलाई बुझाएको थियो । हत्या ओपितद्धय र मृतकको गोठ १ घन्टाको पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्