१९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले अहिलेकोे सेयर बजार चल्दैन «

१९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले अहिलेकोे सेयर बजार चल्दैन

१९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले अहिलेकोे सेयर बजार चल्दैन १९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले अहिलेकोे सेयर बजार चल्दैन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले पछिल्ला दिनहरूमा नेप्सेले हरेक दिन न्यून बिन्दु कायम गर्दै आएको छ । राजनीतिक स्थायित्व र स्थिर सरकार आएको खण्डमा सेयर बजार बढ्ने अपेक्षा गरेका लगानीकर्ता स्थिर सरकार गठन भएको एक महिना पूरा नहुँदै त्यसको नराम्रो असर सेयर बजारमा देखिएको छ । लगानीकर्ता भने सरकारले सेयर बजारप्रति सम्बोधन गरेको खण्डमा बजार फर्कने बताउँछन् । गत साताको अन्तिम दिन बिहीबारसम्ममा नेप्से परिसूचक निरन्तर घटेर पछिल्लो २६ महिनायताकै न्यून १२२० बिन्दुमा झरेको छ । सेयर बजारमा हकप्रद, बोसन तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति पनि बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । २०७३ साउन १२ गते हालसम्मकै उच्च अंक १८८१ मा पुगेको नेप्से हाल १२२० अंकमा झरिसकेको छ । वर्तमान सरकारको सेयर बजारप्रतिको नीति स्पष्ट नभएकाले पनि सेयर लगानीकर्ता केही त्रासमा देखिएका छन् । सेयर बजारको उतारचढावलाई लगानीकर्ताको मनोबलले निर्धारण गर्ने भएकाले पनि पछिल्लो समयको राजनीतिक परिवर्तन सेयर बजार ओरालो लागेको हो । त्यसका साथै सेयर बजार भनेको लोभ र त्रासको खेल पनि भनिन्छ । बजार घट्न थालेपछि डराएर बिक्री गर्ने र बढ्न थालेपछि आझै बढ्छ कि भनेर होल्ड गर्ने स्वभाव लगानीकर्तामा हुन्छ । पछिल्लो समयमा सेयर बजामा धितोपत्रको आपूर्ति बढी र खरिद गर्ने लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार निरन्तर घटिरहेको हो । सेयर बजार परिसूचक मात्र घटेको छैन । हरेक दिन धितोपत्रको दोस्रो बजारको आकार पनि साँघुरिदै गएको छ । पछिल्लो समयमा देखिएको सेयर बजारको उतारचढाव तथा बजारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग कारोबारले गरेको काुराकानी : 
धु्रव तिमिल्सिना 
अध्यक्ष मर्चेन्ट बैंकर एसोसिएसन
पछिल्लो समयमा सेयर बजार घट्नुलाई वित्तीय क्षेत्रमा देखिएको कर्जायोग्य रकमको अभाव तथा ब्याजदरमा देखिएको अस्वाभाविक उतारचढावलाई लिइएको छ । तर, वित्तीय प्रणालीमा तीन महिनाको प्रक्षेपण गरेर काम गर्न नसक्ने अवस्था भए पनि सेयर बजार स्वभावैले प्रभावित हुन्छ ।
 त्यसका साथै सेयर बजारमा राजनीतिले पनि प्रभाव पार्दै आएको छ । पछिल्लो समयमा लगानीका अन्य क्षेत्र नहुँदा सेयर बजारमा आएको पैसा राजनीतिक स्थिरताले अन्य क्षेत्रतर्फ पैसा जान थालेको हो कि भन्ने देखिन्छ । सेयर बजार घट्दा बढाउन वा बढ्दा घटाउन भन्दा पनि बजारको विस्तार र आवश्यक पूर्वाधार तयार गरेको खण्डमा बजार आफ्नै तरिकामा चल्न थाल्छ । सरकारले के गरेर बजार बढ्छ भन्दा पनि बजारका लागि आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने देखिन्छ । प्राथमिक बजार अनलाइनमा गएको छ । दोस्रो बजार अनलाइनमा जान सकेको छैन । लगानीकर्ताका लागि कर्जाको पहुँच बढाउनैपर्ने देखिन्छ, जसले गर्दा बजारमा लगानी बढ्न सक्छ । त्यसका साथै प्रभावकारी कारोबार संयन्त्रको विकास गर्नु आवश्यक छ । त्योसँगै नेप्से तथा धितोपत्र दलाल कम्पनीको क्षमता वृद्धि गर्नु आवश्यक हो भने त्योअनुसारको नीति बनाएर सरकार अघि बढ्नुपर्छ । अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा त्यो समयमा लगानी बढ्यो, त्यसका साथै सूचीकृत कम्पनीको पुँजी वृद्धि भयो । त्यसले बजारमा धितोपत्रको आपूर्ति बढायो । बजारको दीर्घकालीन सोचबाट हेर्ने हो भने बजारमा अझै पनि आपूर्ति बढ्ने अवस्थामा छ । आगामी दिन रियल सेक्टर पनि धितोपत्र बजारमा आउने अवस्था छ । त्यो आपूर्ति व्यवस्थापन गर्ने भनेर आधार तयार गर्नुपर्छ । विदेशी लगानी सेयर बजारमा भित्र्य उने कुरा प्रभावकारी रूपमा गर्न सकेको खण्डमा केही समाधान हुन्छ । त्यसमा पछिल्लो समयमा एनआरएनको लगानी सक्दो छिटो भित्र्यउने भन्नेमा योजना बनाउनु आश्यक छ ।
 बजारका लागि आवश्यक संस्थागत लगानीकर्ताका लागि पनि बजारमा आकर्षित हुने वातावरण बनाउनुपर्छ । अहिलेको अवस्थामा तत्काल सामूहिक लगानी कोष पनि आउने अवस्था छैन । पछिल्ला तीनवटा सामूहिक लगानी कोषका योजना सब्सक्राइव पनि हुन सकेनन् । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास गरिएका कुनै पनि योजना तथा नीति हामीकहाँ प्रयोगमा आउन सकेका छैनन । त्यसले गर्दा पनि बजार विस्तार हुन नसकेको हो । बजार विस्तार भएको खण्डमा हालको बजारको अधिक आपूर्ति सहज व्यवस्थापन हुन्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत ठूला संस्थाहरू सेयर बजारमा लगानी गर्न इच्छुक छन् । ती संस्थालाई ल्याउँदा बजारसहित ती कम्पनीले कसरी फाइदा हुन्छ, त्यो खालको नीति लिनुपर्छ । लगानीकर्तालाई आकर्षित गर्ने नीति लिएको खण्डमा दीर्घकालीन रूपमा बजार विकास हुन्छ । त्यसका साथै धेरै समय होल्ड गर्ने सम्बन्धमा समेत नीतिगत व्यवस्था हुनुपर्छ । इन्भेस्टर्स प्रोटेक्सन फन्ड तथा सेटलमेन्ट ग्यारेन्टी फन्डको व्यवस्था हुनुपर्छ । पाँच वर्ष लाभांश नआएको खण्डमा सरकारले जफत गर्ने पोलिसी सुधार गर्नुपर्यो । सेयर बजार चलायमान भएको खण्डमा समग्र अर्थतन्त्रमा नै ठूलो योगदान गर्न सक्छ । सेयर बजार भनेको लगानीकर्ताले लगानीको क्षेत्र परिवर्तन गर्ने माध्यम पनि हो । पोलिसी हार्मोनाइजेसन नभएकाले पनि समस्या छ । करमा खुकुलो नीति लगाएको खण्डमा केही सहज वातावरण बन्छ । 
अम्बिकाप्रसाद पौडेल
अध्यक्ष नेपाल इन्भेस्टर्स फोरम
१९ औं शताब्दीको पूर्वाधार, प्रविधि र सोचले २१ औं शताब्दीको सेयर बजार चल्न सक्दैन । हाम्रो सेयर बजार १९ औं शताब्दीका पूर्वाधार, जनशक्ति तथा ऐन–नियमले चलेको हुनाले पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको हो । सरकारले यसको सुधार गर्न सकेको खण्डमा सेयर बजारको दीर्घकालीन विकास हुने तथा लगानीकर्तामा बजारप्रतिको विश्वास बढ्छ ।
 सेयर बजार र पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा सरकार गठनभन्दा अघि नै बजार निरन्तर घटिरहेको थियो । सरकार गठन भएपछि पनि सेयर बजार घटि नै रह्यो । सरकार गठन भए पनि केही सम्बोधन हुन्छ भन्ने अपेक्षामा सेयर लगानीकर्ता थिए । सरकार गठन भएपछि पनि निरन्तर बजार घटिरहँदा सरकारका कुनै पनि निकायले पुँजीबजारप्रति गम्भीर भएको देखिएन । दिनदिनै अर्बौं रुपैयाँको बजार पुँजीकरण घटेको अवस्थामा पनि सरकारका कुनै निकायले केही नबोल्दा लगानीकर्ताको मनोबल कमजोर भएको हो । त्यसका साथै बजारमा भएको अधिक आपूर्तिलाई खपत गर्ने अन्य वित्तीय औजार नभएकाले पनि बजार नकारात्मक भएको हो । त्यसका साथै सेयर बजारमा प्रत्यक्ष रूपमा जोडिएको वित्तीय बजार पनि अस्थिर भएपछि बजार निरन्तर ओरालो लागेको हो । यो अवस्थामा पनि सरकारी तवरबाट पनि लगानीकर्तालाई कुनै आश्वासन नदिएको हुनाले आगामी दिनमा झनै समस्या आउने अवस्था देखिएको छ । सेयर बजार परिसूचक १८८१ बाट १२२० अंकमा झरेको छ । यो अवस्थामा पनि सरकार मौन बस्नु सेयर लगानीकर्ताका लागि सकारात्मक होइन ।
लगानीकर्ताले पुँजीबजार घटाइदेओस वा बढाइदेओस् भन्ने अपेक्षा गरेका होइनन् । मार्केट प्रविधिमैत्री र पूर्वाधारमैत्री बनाइदेऊ भनेका हुन् । त्यसका साथै ऐन–नियमहरू पनि स्पष्ट आउनुपर्यो । चक्रपथभित्र मात्र सीमित बजार विस्तार गरिदेऊ भनेको हो । धितोपत्र बोर्ड तथा नेप्सेको पूर्वाधार तथा जनशक्तिमा सुधार गरेर आधुनिक पूर्वाधार सम्पन्न बजारको विकास गर्ने नीति ल्याएर कार्यान्वयन गर्न भनेको हो । अहिले पनि एनआरएनको लगानी ल्याउने, संस्थागत लगानीकर्ता ल्याउने भनिए पनि हल्ला मात्र गरियो । यी सबै पक्षले पनि लगानीकर्ताहरू बजारप्रति सकारात्मक हुने अवस्था नभएकाले बजार घटेको हो । पुँजीबजारको मूल्य भनेकै मानोविज्ञान मूल्य हो । त्यसकारण सेयर बजारको दीर्घकालीन विकासको सोचसहित आधुनिक र पूर्वाधारमैत्री सेयर बजारको स्थापना भएको खण्डमा पुँजीबजारको दीर्घकालीन विकास हुन्छ । 
उत्तम अर्याल 
अध्यक्ष नेपाल सेयर लगानीकर्ता संघ
नियमन गर्ने निकायहरू पुँजी बजार माथि छ वा तल छ भन्ने दृष्टिकोण राख्छन् । नियामक निकायले सेयर बजार सूचक सही ठाउँमा छैन, सच्चाउनुपर्छ भनेर नीतिगत परिवर्तन गर्ने क्रम छ । यो हल्ला सधैं हुने गर्छ । लगानीकर्ताले बजारलाई आफ्नो गतिमा जानुपर्छ भनेको हो । नियमन गर्ने निकायले नियन्त्रण गरेर नभई बजार स्वतन्त्र हुनुपर्छ । केन्द्रीय बैंकले मार्जिन लोन कडा गरेर बजार घटाउने उद्देश्य लियो । बजार घटाउन वा बढाउन नियामक निकायले नीति परिवर्तन गर्ने अभ्यास हामीकहाँ मात्र छ । 
बजारमा उतारचढाव आउँदा सरकारले कुनै चासो दिँदैन । बजारमा लगानी आएको खण्डमा कसरी रोक्ने भन्नेमा नीति बनाउँछ । यसमा पनि सरकारले राम्रो गरेको होला भनेर लगानीकर्ताले चित्त कुझाएकै थियौं । बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको अनुपातमा प्रतिफल अपेक्षा गर्ने लगानीकर्ता असफल हुँदा समग्र वित्तीय प्रणालीमा समस्या आयो । त्यसमा पनि अर्थतन्त्रको ग्रोथभन्दा पनि वित्तीय क्षेत्रको ग्रोथ धेरै माथि भयो । बैंकहरूले गरेको अनुमानअनुरूप सरकारी खर्च हुन सकेन । यो क्रम विगत केही वर्षदेखिको हो । यसले गर्दा बैंक–वित्तीय संस्थामा समस्या आयो । त्यसका साथै रेमिट्यान्सबाट आउने पैसामा पनि कमी आयो । यसले गर्दा समग्र अर्थतन्त्र पनि कजोर भयो । बैंकहरूले कर्जा प्रवाहमा नै नियन्त्रण गर्न थाले । बैंकले पुँजीबजारका लागि कर्जा लिने प्रक्रियामा कसिलो गरेको छ । बैंकहरूले पैसा बढी भयो भने सेयर बजारमा लगानी गर्ने, नभए लगानी नगर्ने अवस्था भएपछि सेयर बजारमा आउने पैसा रोकियो । सेयरको आपूर्ति बढ्यो । तर, बैंकहरूले दिने कर्जाको सीमा खुम्चियो । त्यसले गर्दा पनि बजारमा लगानी बढ्न गएन । कर्जा नपाएपछि पुँजी बजार पनि खुम्चियो । यसले गर्दा बैंकहरूको कर्जा लगानीयोग्य रकमको अभाव बढ्यो । बैंकहरूको निक्षपको ब्याजदर बढ्यो । बजारको प्रतिफल भन्दा पनि बैंकको निक्षेपबाट हुने प्रतिफल धेरै हुन गयो । बिनाजोखिम धेरै प्रतिफल पाउने भएपछि सेयर बजारको पैसा बैंकको निक्षेपमा जानु स्वाभाविक हो । हालका अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक नभएको भन्ने लगानीकर्ताको मानसिकता छ । अर्थमन्त्रीले सेयर बजारको अवस्था के छ भनेर एकपटक चासो त देखाउनुपर्ने हो । अहिलेको बजारलाई सरकारको स्पष्ट दृष्टिकोणको खाँचो छ । अहिलेको सरकारले सेयर बजारलाई कसरी लिन्छ भन्ने सन्देश आएको अवस्थामा पनि बजार प्यानिक नहोला । तत्काल बैंक–वित्तीय संस्थाबाट लिएको कर्जामा केही सहजताको व्यवस्था गरेको खण्डमा बजार घट्न रोकिन्छ । 
कर संकलन र खर्चको मिसम्याच मिलाउनुपर्छ 
हेमन्त बस्याल
सीएफए
अहिलेको मुख्य चुनौती भनेको क्रेडिट क्रन्च हो । त्यसका कारणले सेयर बजार वियरिस टे«न्डमा गएको हो । वित्तीय क्षेत्रमा देखिएको समस्याका कारण सेयर बजार प्रभावित भएको हो । लगानीकर्ताको मनोविज्ञान बजार टपमा पुग्दा घट्छ भन्ने थिएन । तर, घट्दा अझै तल जान्छ भन्ने त्रास हुन्छ । सेयर बजारको मास विह्याभियरभन्दा फरक निर्णय गर्ने लगानीकर्ताले राम्रो प्रतिफल लिने गरेका छन् । अहिले फरक निर्णय गर्ने लगानीकर्ता बजारमा प्रवेश गर्ने समय आएको हुन सक्छ । पछिल्लो समयमा ब्यालेन्स अफ पेमेन्ट नकारात्मक भएको हुनाले मनी सप्लाई कम भएको छ । सरकारले पनि खर्च गर्न नसकेको हुनाले होल्ड भएर बसेको छ । सरकारसँग पैसा नभएको होइन । बजेटरी शीर्षकभन्दा बाहिरको खर्च गर्नका लागि पैसा नभएको हो । यसले गर्दा पनि अर्थमन्त्रीले केही बोल्नुपर्ने थियो । लगानीकर्ताले अपेक्षा गरेको पनि अर्थमन्त्रीको माध्यमबाट समग्र अर्थतन्त्रको बारेमा सुन्न चाहेका र बजारको दृष्टिकोण स्पष्ट भएको खण्डमा बजारमा केही असर कम हुन सक्छ । सरकारले समयमा खर्च गर्नुपर्छ । कर संकलन र खर्चको मिसम्यास मिलाउनुपर्छ । पुस मसान्तसम्ममा पैसा उठाएको छ, चैतदेखि खर्च सुरु गरेको वातावरण मिलाउनु पर्छ । खर्च गर्ने समयमा कर संकलन गर्ने गर्नुपर्छ । रेमिट्यान्स आप्रवाहलाई सरकारले औपचारिक च्यानलमार्फत ल्याउनु पहल गर्नुपर्छ । हुन्डीलाई कम गर्ने पहल गर्नुपर्छ । केन्द्रीय बैंकले मनी सप्लाईलाई सन्तुलित बनाउनु आवश्यक छ । हरेक वर्ष सेयर बजार असारमा माथि जाने र फागुन चैत तल झर्नुको कारण पनि यही हो । धितोपत्र बोर्डले पनि बजारका लागि आवश्यक समयसापेक्ष नीति ल्याउनुपर्छ, बजारको विस्तार र विकास गर्नका लागि । बजारमा नवीनतम औजार ल्याउनका लागि बोर्डले सहज वातावरण तयार गरिदिनुपर्छ । सेयर बजारमा प्रवेश र निष्कासन सहज हुने व्यवस्था गर्नुपर्छ । तत्कालका लागि लगानीकर्ताको मनोविज्ञान नियन्त्रण गर्नका लागि अहिलेको सरकारले पुँजी बजारप्रतिको धारण स्पष्ट बनाएर बाहिर ल्याउनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्