पुंजीबजार : अस्वाभाविक मूल्य, अनुत्पादक र जुवा

अर्थमन्त्रीले जिम्मेवारी सम्हालेलगत्तै घरजग्गा र पुँजीबजारजस्ता अनुत्पादक क्षेत्रबाहेक अन्य उत्पादक क्षेत्रमा वैदेशिक पुँजी भित्र्या उने अभिव्यक्ति दिएपछि त्यसले बजारमा तीव्र प्रतिक्रिया पैदा भयो । यहाँ पुँजीबजारमा लहैलहमा लाग्ने, अरूले ललाइफकाइ गरेको आधारमा लगानी गर्ने, बजार प्रभावित पारेर नाफा कमाउन सक्छु भन्ने विश्वास र भ्रममा परेका व्यक्तिहरू धेरै छन् । धेरैलाई उत्पादक र अनुत्पादक लगानी भनेको जानकारी नै छैन ।
अर्थमन्त्रीले जेसुकै भने पनि सेयरधनीले मूल्य घटाएर सेयर नबेचे मूल्य तल झर्दै झर्दैन । अर्थमन्त्रीले बैंक, वित्तीय संस्था, इन्स्योरेन्स, जलविद्युत् कम्पनी, होटललगायत पुँजीबजारमा सूचीकृत कम्पनीको जायज मुनाफामा प्रतिकूल असर पार्ने अभिव्यक्ति दिए, नीति लिए वा निर्णय कार्यान्वयन गरे भने मात्र अर्थमन्त्रीको आलोचना गर्नु उचित हुन्छ ।
दोस्रो बजारमा गरिएको लगानीले कुल गार्हस्थ्य उत्पादनमा कुनै योगदान गर्दैन । विश्वभरि मानिएको यो सिद्धान्तविपरीत पुँजीबजार पनि उत्पादक लगानी हो भनेर कसैले दाबी गर्दैमा त्यो उत्पादक हुँदैन । कुनै लगानीले भ्यालु एड (मूल्य अभिवृद्धि) गर्दैन, रोजगारी सिर्जना गर्दैन भने त्यसलाई अनुत्पादक लगानी भनिन्छ । कम्पनीहरूको प्राथमिक सेयरमा गरिएको लगानी मात्र उत्पादनमूलक लगानी हो । १ सय रुपैयाँ उत्पादक लगानी हो तर त्यो सेयरको मूल्य बढेर ३ हजार पुगे पनि २ हजार ९ सय उत्पादक लगानी होइन ।
राज्यको दायित्व उत्पादनमूलक कम्पनीको प्राथमिक सेयर बिक्री गर्न प्रोत्साहन गर्नुसम्म मात्र हो । उदाहरणका लागि म्युचअल फन्ड बिक्री गर्न प्रोत्साहन गर्नु पनि राज्यको दायित्व होइन, किनकि म्युचअल फन्डले कुनै उत्पादन गर्दैन । दोस्रो बजारमा लगानी गर्नेको लगानीको मूल्य घट्नु राज्यका लागि चिन्ताको विषय हुँदैन ।
यहाँ नेप्से परिसूचक कहिले पनि घट्नुु हुँदैन भन्ने मान्यता राख्ने मानिसहरू धेरै छन् । उनीहरू परिसूचक या त यथावत् रहनुपर्छ या बढ्नुपर्छ भन्ने मान्यता राख्छन् । परिसूचक माथि गएका बेला यो अस्वाभाविक भयो, बबल भयो, यो फुट्न सक्छ भनेर कसैले भन्यो भने उनीहरू आक्रोशित हुने, रिसाउने, धम्क्याउने र तीव्र प्रतिक्रिया जनाउने गर्छन् ।
परिसूचक बढेपछि घट्नुको विकल्प हुँदैन । कतिसम्म घट्छ भन्ने बजारले निर्धारण गर्ने हो । कम्पनीको मूल्य वास्तविकभन्दा बढीमा कारोबार भइरहेको छ भने घट्ने र वास्तविकभन्दा कममा कारोबार भइरहेको छ भने बढ्ने सम्भावना अधिक हुन्छ । वास्तविक मूल्य कति हो भनेर थाहा पाउनचाहिँ कठिन हुन्छ ।
वास्तविक मूल्य थाहा पाउने सबैभन्दा भरपर्दो सूचक पीई रेसियो (पर्चेज अर्निङ रेसियो अर्थात् कम्पनीले दिने प्रतिफलले सेयर किन्दा तिरेको पैसा कति वर्षमा फिर्ता हुन्छ भन्ने जानकारी) हो । पुरानो कम्पनी र लगातार एउटै दरमा लाभांश दिँदै आएको कम्पनीको हकमा पीई रेसियोबाट मापन गर्न सकिन्छ भने नयाँ कम्पनी वा बिजनेस विस्तारको योजनामा रहेको कम्पनीको हकमा भावी योजना र प्रक्षेपणको विश्लेषण गर्नुपर्छ ।
राजनीतिक स्थिरता, पुँजीबजारप्रति सरकारको सकारात्मक धारणा, लगानीकर्ताको मनोबल आदि कारणले सेयरको मूल्य बढ्छ भन्ने गरिएको छ । यी तथ्यगत कारण होइनन् । मूल्य माग र आपूर्तिले तय गर्ने हो । माग बढ्ने मुख्य आधार कम्पनीले दिने प्रतिफल नै हो । धेरै प्रतिफल दिने विश्वास भए मूल्य बढ्छ र कम प्रतिफल दिने विश्वास भए मूल्य घट्छ ।
सामान्यतया सेयर किन्न लगानी गरेको पैसा सेयरको लाभांशबाट १० वर्षमा फिर्ता हुन्छ भने त्यसलाई लगानीमा गरेको सही निर्णय मानिन्छ । यसकै आधारमा कम्पनीको मूल्य वास्तविक छ कि अधिक भन्ने पत्ता लगाउन सकिन्छ । कुनै कम्पनीले दिने प्रतिफलबाट ३० वर्षमा बल्ल लगानी उठ्छ भने त्यो मूल्य अधिक हो ।
सामान्यतया नयाँ कम्पनीको मूल्य प्रतिसेयर नेटवर्थ र त्यसको तीन गुणाको बीचमा हुनु उपयुक्त मानिन्छ । नयाँ कम्पनीले तत्काल मुनाफा नदिने भए पनि केही वर्षपछि दिने प्रतिफलका लागि अहिले नै बढी मूल्य तिर्नुपर्छ । मानौं चार वर्षपछि ५० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने सम्भावना देखिएको कम्पनी छ भने अहिले प्रतिकित्ता ५ सय रुपैयाँमा सेयर किन्नुलाई महँगो मानिँदैन ।
सेयरको मूल्यलाई प्रभाव पार्ने अर्को तत्व मार्जिन हो । केन्द्रीय बैंकले सेयर धितोमा बजार मूल्यको यति प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिने भनेर नियम बनाउँछ । मार्जिन खुकुलो गरेर अधिकतम कर्जा प्रवाहको सुविधा दिन सक्छ वा कसिलो गरेर कर्जालाई सीमित गर्न सक्छ । मार्जिन खुकुलो भएको सम्पत्तिमा लगानी गर्दा तत्काल नगद आवश्यक भए ऋणमार्फत प्राप्त गर्न सकिन्छ ।
सेयर बजार जुवा होइन भन्ने दाबी गर्दैमा यो उपभोग्य सामान उत्पादन गर्ने कारखाना हुँदैन । जहाँ कुनै भ्यालु एड हुँदैन अर्थात् नयाँ पुँजी सिर्जना हुँदैन र लगानी गरेको पैसा तुरुन्तै शून्यमा झर्न वा सयौं गुणाले बढ्न पनि सक्छ, त्यो जुवा हो । जुवामा कमाउने वा गुमाउने सबैभन्दा ठूलो भूमिका संयोगको हुन्छ ।
दोस्रो पुँजीबजारमा जुवाका धेरै चरित्र मिल्छन् । त्यसैले यो अधिकांशतः जुवा हो अर्थात एक प्रकारको जुवा हो । तासका धेरै खेलमा तार्किक ज्ञान, गणितीय ज्ञान र बुद्धिले हारजितमा महत्व पूर्ण भूमिका निर्वाह गर्छ । तैपनि यसलाई जुवा नै भनिन्छ । पुँजीबजारमा एकै दिनमा लगानी शून्य हुने सम्भावना हुँदैन । त्यसैले यो सम्पूर्ण रूपले जुवा होइन मात्र भन्न सकिन्छ ।
कतिपय सरकारले जुवा (क्यासिनो) खेल्न नै अनुमति दिएका हुन्छन् । जुवामा कसैले गुमायो भने मात्र अर्कोले कमाउने हो । पुँजीबजारजस्ता स्पेकुलेटिभ बजारमा पनि कसैले नगुमाई कसैले कमाउन सम्भव हुँदैन । पुँजीबजारमा उच्च जोखिम वहन गर्न सक्षम व्यक्ति मात्र प्रवेश गर्नुपर्छ ।
आफूले जहाँ लगानी गरे पनि नाफा नै हुनुपर्छ र सरकारले त्यसको संरक्षण गर्नुपर्छ भन्ने सोचाइ राख्नु हुँदैन । उपयुक्त ठाउँमा उत्तम समयमा उचित लगानी गरेको भए मात्र प्रतिफल पाउन सकिन्छ भन्ने मान्नुपर्छ ।