सिभिल मलका सामानको ग्यापु डटकमबाट होमडेलिभरी «

सिभिल मलका सामानको ग्यापु डटकमबाट होमडेलिभरी

लकडाउनको विषम परिस्थितिमा सेवा सुरु गरी आक्रामक ब्यापारमा उत्रेको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम)ले अब काठमाडौको सिभिल मलका सबै पसलका सामान ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको छ। यो सम्झौतासँगै ग्यापु दुई वर्षसम्म सिभिल मलको एक मात्र अनलाइन साझेदार रहने छ ।
सम्झौताअनुसार सिभिल मल ग्यापु डटकमको वेसाइटमा भेण्डरको रुपमा समेटिएको छ । सिभिल मलका १ सय ५० वटा पसलमा चार लाख भन्दा बढी सामान उपलब्ध छन् । ग्राहकले ग्यापुको वेवसाइट वा मोबाइल एप प्रयोग गरी आवश्यक सामान अर्डर गर्न सक्नेछन् । ग्यापुको सेल्स सपोर्ट टिमको छुट्टै अफिस नै सिभिल मलमा राखिने छ, जसले समयमै सामान डेलिभरी, फिर्ता र साटफेरका लागि ग्राहकलाई सहज बनाउने छ । यसका लागि सिभिल मलले ग्यापुलाई कार्यालयका लागि ठाउँ उपलब्ध गराएको छ ।
अनलाइनमा अर्डर आउनासाथ भौगोलिक दूरी हेरेर चौबीस घण्टाभित्र डेलिभरी गरिने ग्यापु डटकमका निर्देशक एवम् सिइओ ज्ञानेन्द्र खड्काले बताए । काठमाडौं उपत्यकासँगै काभ्रेको बनेपासम्म डेलिभरी गरिने खड्काले जानकारी दिए ।
ग्राहकले डेलिभरी पूर्व ई–सेवाबाट पैसा तिरी क्यासब्याक समेत लिन सक्नेछन् । ग्राहकले कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बैंक कार्डहरू, आईएमई पे, फोने पे, कनेक्ट आइपिएस, प्रभु पेमार्फत बिल तिर्न सक्छन् भने डेलिभरिको समयमा नगद समेत दिन सक्नेछन् ।
ग्यापु डटकमका तर्फबाट सिइओ खड्का र सिभिल मलकातर्फबाट सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्