नेकपाभित्रको विवाद पद, पावर र पैसाका लागि’ «

नेकपाभित्रको विवाद पद, पावर र पैसाका लागि’

सत्तारुढ दल नेकपाको बहस र विवाद पद, पावर र पैसाका लागि भइरहेको विश्वास जनतामा बलियोसँग स्थापित भइरहेको पार्टीका नेताहरूले बताउन थालेका छन् । बुधबार पार्टीका नेताहरूले पत्रकारहरुसँग गरेको कुराकानीमा अभिव्यक्त विचारहरूको संश्लेषणले यस्तै छनक दिइरहेको ती नेताहरूको बुझाइ छ ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री तथा पार्टीका नेता झलनाथ खनाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूले विद्यमान विवाद पद, पावर र पैसाका लागि नभएको बताएका थिए ।
तर, पार्टीको आन्तरिक झगडा पद, पावर र पैसाका लागि भएको विश्वास जनतामा बलियोसँग स्थापित भइरहेको बताएका छन्, नेकपा केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने । पार्टीभित्रको विवाद र बहसलाई इमान्दारिपूर्वक विचार, दिशा, विधि र संस्कृतिमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको संवादबाट आन्तरिक द्वन्द्व समाधान गर्ने सम्भावना बढेर गएका बेला ओलीले लगानी बोर्डमा सुशील भट्टको नियुक्ति एक्लौटी गरेको प्रचण्ड पक्षको आरोप छ । द्वन्द्व समाधानलाई ओझेलमा पारिदिएको पार्टीका एक नेताले जनाए ।
झण्डै दुई तिहाई बहुमतको सरकारले समाजवाद उन्मुख दिशामा अर्थतन्त्रलाई डो¥याउनुपर्ने बेला सरकारले बिचौलिया र भ्रष्टाचारीहरूलाई प्रोत्साहन गरिरहेको विश्वास जनतामा पर्न गइरहेको छ । जनतामा यस्तो बुझाइ बढ्दै जानु पार्टी र सकारका लागि सही नभएको पार्टीका नेताहरू बताउँछन् ।
पार्टीका केही नेताहरूले विधि र प्रक्रिया अनुसारको बहस माग गर्ने पक्षले यसलाई अझ बलियो गरी पार्टीमा स्थापित गर्नु आवश्यकता रहेको बताउने गरेका छन् । बुधबारको पत्रकार अन्तरक्रियामा अध्यक्ष प्रचण्डले जस्तोसुकै कठिन र खराब परिस्थितिका लागि तयार रहन सबैलाई अपिल गरेको विषयबाट प्रधानमन्त्री ओली थप असन्तुष्ट बनेका छन् ।
यसको असन्तुष्टि प्रचण्डसमक्ष पु-याइएको पार्टी नेताहरूको भनाइ छ । प्रचण्डलाई पूर्व एमाले नेताहरूले सहयोग गरिरहेका बेला उनका केही सहयोगीहरूले अप्ठयारोमा पारेको देखिएको छ । तर पनि मूल राजनीति जतातिर संगालिएर जान्छ, त्यतैतिर अन्य पक्ष समावेश भएर जाने देखिएको पार्टीका केही नेताहरूले बताएका छन् ।
अर्कोतिर दुवै पार्टी एक भए पनि व्यवहारिक शैली फरक भएकाले पनि समस्या आएको कतिपयको बुझाइ छ । सत्ताधारी नेकपाले अहिलेको बहस र विवाद पद, पावर र पैसाका लागि नभएको विश्वास जनतामा समयमै स्थापित गराउन नसक्ने हो भने माओवादी पार्टी राजनीतिक इतिहासबाट हराएझैँ नेकपा हराउन बेर नलाग्ने चिन्ता केही नेताहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्