प्रदेश ३ को भौतिक संरचना व्यवस्थापन अन्तिम चरणमा

हेटौंडा-३ नम्बर प्रदेशको अस्थायी मुकाम हेटौंडामा प्रदेश सरकार र प्रदेशसभाका लागि आवश्यक भौतिक संरचना व्यवस्थापन, मर्मत तथा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकेको करिब दुई महिनापछि आवश्यक भौतिक संरचना व्यवस्थापनको कार्यले अन्तिम रुप लिन लागेको हो ।
जिल्लास्थित सरकारी क्षेत्रीयस्तरका कार्यालय, जिल्ला कार्यालय र संस्थानका संरचनाहरू प्रदेश सरकार, प्रदेशसभा र पदाधिकारीहरूका लागि आवश्यक फर्निचर व्यवस्थापन, मर्मत तथा रंगरोगनको काम भइरहेको छ । प्रदेश ३ का प्रदेश सरकार र प्रदेशसभाको सचिवालय तथा प्रमुख पदाधिकारीहरूको लागि आवश्यक संरचनाहरूको मर्मत कार्य केहीदिनभित्र सम्पन्न हुने भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका ईन्जिनियर लक्ष्मण यादव जानकारी दिए । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको लामसुरेमा रहेको आवास क्षेत्रमा मुख्यमन्त्री बाहेकका मन्त्रीहरूको लागि आवासको व्यवस्था गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित दुईजनाको लागि आवासगृह मर्मत पूरा भएको र बाँकी चारजना मन्त्रीको लागि आवासको मर्मत कार्य चलिरहेको छ । भौतिक पूर्वाधार मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयले संघीय श्रम मन्त्रालयअन्तर्गतका हेटौँडामा निर्माण गरिएको नयाँ भवन पाएका छन् । मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रमुखको आवास, आर्थिक मामिला मन्त्रालय र प्रदेशसभाका सभामुख तथा उपसभामुखको लागि आवासको मर्मत कार्य पूरा भएको छ ।
मुख्यमन्त्रीको आवास, सहकारी कार्यालयमा व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिवको आवास, अख्तियार बसेको पुरानो भवनमा रहेको उद्योग मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयको मर्मत सम्भारको काम भईरहेको ईन्जिनियर यादवले जानकारी दिए ।
सचिवभन्दा तल्लो तहकालाई छैन आवास सुविधा
प्रदेश मन्त्रालय, प्रदेश प्रमुख र प्रदेश सभा सचिवालयका सचिवहरूलाई आवासको व्यवस्था भएपनि सचिवभन्दा तल्लो तहका उपसचिवलगायतका कर्मचारीहरूलाई आवासको व्यवस्था गरिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवसहित प्रदेश मन्त्रालयमा रहने नौजना सचिवमध्ये पाँचजनालाई सडक कम्प्लेक्समा र प्रमुख सचिवलाई सहकारी कार्यालयको भवन आवासको व्यवस्था गरिएको छ । यस्तै बाँकी सचिवहरूलाई हेटौँडा औद्योगिक क्षेत्रस्थित पानी प्रशोधन केन्द्रको आवास र अफिसर्स क्लबको भवनमा आवासको व्यवस्था मिलाइएको छ ।
प्रदेश मन्त्रालय लगायतका संरचनामा अन्यत्रबाट सरुवा भएर आउने सचिवस्तरभन्दा तलका कर्मचारीहरू सरकारी आवासको अभावमा आफन्त वा भाडामा बस्नुपर्ने भएको हो । भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका ईन्जिनियर यादवले प्रदेश मन्त्रालय, प्रदेशसभा र प्रदेश प्रमुखको कार्यालय तथा पदाधिकारी एवम् सचिवहरूलाई मात्र कार्यालय भवन र आवासको व्यवस्था मिलाउन निर्देशन आएकाले सोहीअनुसार गरिएको जानकारी दिए ।
उनका अनुसार संघीय सरकारले प्रदेश कार्यालयहरू र मन्त्री एवम् सचिवको लागि मात्र भौतिक संरचनाको व्यवस्था गर्न भनेको छ । आवासको व्यवस्था नभएपछि प्रदेशमा सरुवा भएका कर्मचारीहरू आउन र आएकाहरू नियमित रुपमा बस्न आनाकानी गर्दै आएका छन् । मुख्यममन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव ऋद्धिप्रकाश सिटौलाकाअनुसार तल्लो तहका कर्मचारीहरूलाई आवासको राम्रो व्यवस्थापन नहुँदा समस्या भइरहेको छ ।
केही खाली भएका सरकारी आवासमा तल्लो तहका कर्मचारीहरू पर्याप्त सुविधाबिनै अप्ठ्यारो गरी बस्नुपरिरहेको उनले गुनासो गरे । “सचिवभन्दा तल्लो तहका कर्मचारीको लागि बासको राम्रो व्यवस्थापन गरिएको छैन, कोही कर्मचारी आफन्तकोमा बसिरहेका छन् त कोही जिल्लास्तरीय कार्यालयका आवासगृहमा सकसले बसिरहेका छन्, म आफैं पनि नापीको क्वाटरमा बसिरहेको छु,” उनले भने ।
केशव समर्पण