१ सय ९८ जना छोरीको बैंक खाता «

१ सय ९८ जना छोरीको बैंक खाता

रुकुम-कर्णाली प्रदेश सरकारअन्तर्गत ‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको’ कार्यक्रमबाट सानीभेरी गाउँपालिकामा जम्मा १ सय ९८ जना छोरीहरु सहभागी भएका छन् । आर्थिक वर्ष २०७६-०७७ मा साउन १ गतेदेखि असार मसान्तसम्म जन्मिएर सानीभेरी गाउँपालिका भरी ११ वटै वडामा जन्मदर्ता गराएका छोरीको खाता खोल्न निवेदन दिएका १ सय ९८ जना छोरीहरुको सनराइज बैंक सानीभेरी शाखामा खाता सञ्चालन गरी रकम समेत जम्मा गरिएको छ ।
खाता सञ्चालन भएका १ सय ९८ जना छोरीमध्ये १ सय ३६ जना छोरीको खातामा पैसा जम्मा गरिएको छ भने ६२ जनाको रकम अपुग भएका कारण यस आर्थिक वर्षमा जम्मा हुने भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सानीभेरी गाउँपालिकामा आर्थिक वर्ष २०७६-०७७ मा ६ लाख रुपैयाँ पठाएको र उक्त रकम अपुग भएकाले ६२ जना छोरीको खातामा पैसा जम्मा चालु आर्थिक वर्षमा हुने सानीभेरी गाउँपालिकाका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए ।
पहिलो महिना खाता सञ्चालन गर्दा १ हजार जम्मा गरिएको र हरेक महिना ५ सयका दरले असारसम्मको रकम छोरीहरुको खातामा जम्मा गरिएको अधिकृत ओलीले बताए ।
अपुग रकम प्रदेश सरकारलाई माग गरिएको र उक्त अपुग रकम यस आर्थिक वर्षको सुरुमै आउने उनको भनाई छ । बैंक खाता सञ्चालन गर्ने छोरीमध्ये सबैभन्दा बढी वडा नं ३ बाट ३० जना र सबैभन्दा कम वडा नं २ र ७ बाट ७-७ जनाले खाता खोलेका छन् । चालु आर्थिक वर्षदेखि सानीभेरी गाउँपालिकाले पनि छोरी बिमा कार्यक्रममा सहकार्य गर्ने भएको छ । कार्यविधि तयार गरी गाउँपालिका सरकारले पनि छोरीहरुलाई सहयोग गर्ने बालअधिकार अधिकृत ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्