शैक्षिक सामग्री प्रदान «

शैक्षिक सामग्री प्रदान

संखुवासभा-खाँदबारी नगरपालिकाले नगर क्षेत्रभित्रका ८ विद्यालयलाई कम्प्युटर, १७ विद्यालयलाई सेनेटरी प्याड र खेलकुद सामग्री उपलब्ध गराएको छ ।
शिक्षण प्रविधिलाई प्रभावकारी बनाउन जनचाहना आधारभूत विद्यालय खाँदबारी नगरपालिका–७, शान्ति आधारभूत विद्यालय खानपा–६, बालचेतना आधारभूत विद्यालय खाँदबारी–१०, अरुण आधारभूत विद्यालय खानपा–१०, चन्द्रोदय आधाभुत विद्यालय खाँदबारी ९, बालबालिका आधारभूत बिद्यालय खाँदबारी–४, शिशुकल्याण आधारभूत विद्यालय खानपा–४, पद्यमकन्या आधारभूत विद्यालय खाँदबारी–४ लाई कम्प्युटर उपलब्ध गराइएको हो । विद्यालयका प्रधानाध्यापकहरूलाई कम्प्युटर, प्रिन्टर, खेलकुद लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख मुरारिप्रसाद खतिवडाले कम्प्युटर शिक्षालाई थप सहज र प्रभावकारी बनाउन कम्प्युटरको प्रयोग होस् भन्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिन कम्प्युटर प्रदान गरिएको बताए । उनले कम्प्युटरले शिक्षा आदानप्रदानमा सहजता आउने विश्वास ब्यक्त गरे ।
यसैबीच नगरपालिकाले नगरक्षेत्रका १७ वटा विद्यालयका छात्राका लागि सेनेटरी प्याडसमेत उपलब्ध गराएको छ । नगर शिक्षा समितिले आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई महिनाको २ पोकाका दरले प्याड उपलब्ध गराइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकमणि घिमिरेले बताए ।
सोही कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष लेखनाथ बुढाथोकीले ती विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यार्थीले उपयोग गर्ने गरी भलिबल, फुटबल, नेटलगायतका सामग्रीसमेत वितरण गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्